नयाँदिल्ली/ जाडोयामको सुरुवातसँगै भारतको राजधानीमा वायु गुणस्तरमा सामान्य गिरावट आउँदा दिल्ली फेरि एकपटक बढदो वायु प्रदूषणसँग जुधिरहेको छ । सहरको वायु गुणस्तर सूचकांक (एक्युआई) ३०० नाघेको छ । प्रदूषण बढेसँगै लाखौँ बासिन्दामा स्वास्थ्य जोखिम बढेको छ । लामो समयसम्म यस्तो प्रदूषित हावामा सास फेर्नाले श्वासप्रश्वास समस्या निम्त्याउनुका साथै यसले बालबालिका र वृद्धवृद्धा जोखिममा पर्न सक्छन् ।
अधिकारीहरूले ‘ग्रेडड रेस्पोन्स एक्सन प्लान (जिआरएपी)को दोस्रो चरण लागू गरेका छन, जसअन्तर्गत धुलो, सवारीसाधनबाट हुने उत्सर्जन र प्रदूषणका अन्य स्रोतलाई नियन्त्रण गर्न विभिन्न उपाय अपनाइएका छन् । जिआरएपी आपतकालीन उपायको एक शृंखला हो, जुन प्रदूषणको स्तर बढ्दै जाँदा अझ कडा हुँदै जान्छ । हाल लागू गरिएका प्रतिबन्धमा सडकको अझ सघन सरसफाइ, निजी सवारीसाधनको प्रयोगलाई निरुत्साहित गर्न पार्किङ शुल्कमा वृद्धि र सार्वजनिक यातायात सेवाको विस्तार समावेश छन् । दिल्ली मेट्रोले २० वटा थप रेल सेवा सञ्चालनमा ल्याएको छ भने ट्राफिक जाम कम गर्न सरकारी कार्यालयको समय तालिकामा हेरफेर गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
आगामी दिनमा वायुको गुणस्तर निकै खराब रहने अनुमान गरिएपछि यी उपाय लागू गरिएको अधिकारीले बताएका छन् । दिल्ली र उत्तर भारतका छिमेकी क्षेत्रले हरेक जाडोयाममा, विशेषगरी भारतको सबैभन्दा ठुलो चाडमध्ये एक दीपावलीको समयमा खतरनाक वायु प्रदूषणको सामना गर्छन् । दीपावली आउन केही दिन मात्र बाँकी छ । यो पर्वमा भारतमा मैनबत्ती, दियो र आतशबाजी गरेर मनाइन्छ, जसका कारण वायुमण्डलमा सूक्ष्म कण र हानिकारक ग्यास जम्मा हुँदा सहरको पहिले नै खराब रहेको वायुको गुणस्तरलाई अझ बिगार्ने गर्छ ।
वार्षिक प्रदूषण संकट सवारीसाधनको निकास, औद्योगिक उत्सर्जन, घटदो तापक्रम, कम हावाको गति र छिमेकी राज्यमा बालीनालीको पराल जलाउनेजस्ता गतिविधिका संयोजनबाट उत्पन्न भएको हो । अक्टोबर महिना असामान्य रूपमा दिल्लीको वायु स्वच्छ देखिएको थियो । उक्त महिनामा आठ वर्षमा पहिलोपटक सबैभन्दा कम औसत एक्युआई रेकर्ड गरिएको थियो ।