दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । सुरुवातमा एमाले अघि थियो । त्यसलाई उछिन्दै अहिले गठबन्धन अघि छ । नाै हजार ६ सय २५ मत गन्दा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार कांग्रेसका गेहेन्द्र गिरी एक सय ६६ मतले अगाडि छन् । गिरीले चार हजार दुई सय १२ मत ल्याएका छन् भने एमालेका उम्मेदवार टीकाराम खड्काले चार हजार ७६ मत ल्याएका छन् ।
अहिले तुलसीपुरका तीनवटा वडाको मतगणना कार्य भइरहेको छ । दुईवटा वडाको नतिजा आइसकेको छ । अहिले ३, ४ र ५ को गणना भइरहेको छ । त्यसमध्ये ३ बाट एमालेले, ४ र ५ बाट कांग्रेसले अग्रता लिइसकेको छ ।
उपमेयरमा भने सुरुवातदेखि नै एमाले अग्रस्थानमा छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले तीन हजार नाै सय ४९ मत प्राप्त गरेर अग्रस्थानमा छिन् । गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर राणाले तीन हजार चार सय ३२ मत ल्याएका छन् ।
अहिलेसम्म वडा नं. १ मा गठबन्धनको तर्फका उम्मेदवार माओवादी केन्द्रका हुमकान्त सापकोटा र २ नम्बरबाट एमालेका उम्मेदवार भीमबहादुर योगीले विजयी हासिल गरिसकेका छन्।
तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार चार सय ६० मतदाता रहेकोमा ७४ हजार तीन सय ३६ जनाले मतदान गरेका थिए ।