Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ २ सोमबार ०९:१५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मोदी आउने भएपछि लुम्बिनीका पर्यटन व्यवसायी उत्साहित

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार ०९:१५:००

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । सोमबार लुम्बिनीमा हुने प्रधानमन्त्री मोदीको भ्रमणले लुम्बिनीको पर्यटन क्षेत्रमा सुधार आउने अनुमानका कारण पर्यटन व्यवसायी उत्साहित भएका हुन् । 

लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लामो समय कोरोनाले थलिएको लुम्बिनीको पर्यटन व्यवसायलाई यस भ्रमणले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको भगवान् गौतम बुद्धको जन्मस्थलमा भारतीय प्रधानमन्त्रीको आगमनले भारतीय हिन्दू धर्मावलम्बीहरूका लागि पनि एकपटक लुम्बिनी पुग्नैपर्ने स्थानका रूपमा परिचित हुने पर्यटन व्यवसायीहरूको भनाइ छ ।

यसअगाडि भारतीय प्रधानमन्त्रीको भ्रमण भएको स्थान मुक्तिनाथ र जनकपुरको अवस्थालाई हेर्दा भारतीयहरूले एकपटक पुग्नैपर्ने स्थानका रूपमा लिने भएका कारण लुम्बिनीका भारतीय प्रधानमन्त्रीको भ्रमणपछि पर्यटकहरू बढ्ने आशा राखेको लुम्बिनी होटेल संघका महासचिव पुरुषोत्तम सुवेदीले बताए । उनले भने, ‘लुम्बिनीका होटेल व्यवसायीहरू उत्साहित छौँ । मुक्तिनाथमा अहिले भारतीय पर्यटकहरूको घुइँचो छ । यहाँ पनि भारतीय पर्यटकको आगमन हुन्छ भन्ने लागेको छ ।’

लुम्बिनीमा वार्षिक १८ लाखभन्दा बढी पर्यटक आगमन हुने तथ्यांक छ । लुम्बिनीमा एक सय एक मुलुकका पर्यटक आउने गरेको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ । वार्षिक १८ लाख पर्यटकमध्ये तीन लाख ५० हजार पर्यटक तेस्रो मुलुकका रहेका छन् भने बाँकी आन्तरिक र भारतीय हुन् । 

लुम्बिनीमा सबैभन्दा बढी भारतीय पर्यटक आउने गर्छन् । तर, यकिन तथ्यांक भने छैन । त्यसैगरी, श्रीलंकाली बढीमा वार्षिक ७० हजारसम्म लुम्बिनी भ्रमणमा आएको तथ्यांक छ । लुम्बिनीमा थाइल्यान्ड, चीन, कम्बोडिया, भियतनाम, जापानलगायत मुलुकका पर्यटक बढी आउने गर्छन् ।