नुवाकोटको स्थानीय तहहरूको मतगणना भइरहेको छ । १२ स्थानीय तह रहेको नुवाकोटमा नेकपा एमालेले ११ स्थानीय तहको प्रमुख पदमा अग्रता लिन सकेको छैन । नेकपा माओवादीसँग गठबन्धन गरेको किस्पाङ गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।
२०७४ सालमा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा प्रमुख पद जितेको एमालेले अहिले यी तीनवटै स्थानीय तहमा अग्रता लिन सकेको छैन । एमालेले जितेको तीन स्थानीय तहमा गठबन्धन भएको छ ।
विदुर नगरपालिकाको ३,६७६ मत गणना हुँदा नेपाली कांग्रेसका राजन श्रेष्ठले १,७८४ मत ल्याएका छन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी प्रभा बोगटीले १,२३३ मत ल्याएकी छिन् । एमालेका सन्जु पण्डितले १,३९६ मत र उपप्रमुखमा एमालेकी अम्बिका पौडेल नेपालले १,२०१ मत ल्याएकी छिन् ।
तारकेश्वरको अध्यक्षमा नेपाली कांग्रेस (गठबन्धन)का शिव अधिकारीले २,०१९, उपाध्यक्षमा नेकपा माओवादी केन्द्र (गठबन्धन)का हरि अधिकारीले १,२९९ मत ल्याएका छन् । अध्यक्षमा एमालेका रमेशबहादुर वस्तीले १,५२४ मत ल्याएका छन्, उपाध्यक्षमा एमालेका कोपिला भट्टले १,५९१ मत ल्याएकी छिन् । किस्पाङ गाउँपालिकाको अध्यक्षमा एमालेका वीरबल तामाङले १,२६४ मत ल्याएका छन् । नेपाली कांग्रेसका छत्रबहादुर लामाले १,११७ मत ल्याएका छन् ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका अर्जुन न्यौपानेले १,४०४ मत ल्याएका छन्, नेपाली कांग्रेसका दीलकुमारी मोक्तानले १,०६१ मत ल्याएकी छिन् ।बेलकोटगढी नगरपालिकामा मेयरमा गठबन्धनका जगतबहादुर गुरुङले १,०८६ मत ल्याएका छन् । नेकपा एमालेका राजेन्द्ररमण खनालले ६७५ मत ल्याएका छन् । उपमेयरमा एमालेकी रूपा सापकोटाले ८९५ मत र गठबन्धनका शिव दाहालले ७४० मत ल्याएका छन् ।
यस्तै, म्यागङ गाउँपालिका– १ को वडाध्यक्षमा नेपाली कांग्रेसका जिमाबहादुर तामाङ निर्वाचत भएका छन् । म्यागङकै वडा नं. २ को वडाध्यक्षमा नेकपा एमालेको सन्दवीर तामाङ निर्वाचित भएका छन् । तारकेश्वर गाउँपालिका– ६ को वडाध्यक्षमा नेकपा एमालेका नारायणप्रसाद रिमाल विजयी भएका छन् । तारकेश्वर– ५ को वडाअध्यक्षमा नेपाली कांग्रेसका अशोक तामाङ विजयी भएका छन् । तादी गाउँपालिका– १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नकुरदोङ तामाङ, तादी गाउँपालिका– २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रमा बच्चुराम तामाङ विजयी भएका छन् ।
किस्पाङ– १ को वडाध्यक्षमा नेपाली कांग्रेसका पशुपति घले विजयी भएका छन् । लिखु गाउँपालिका– १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नरहरि पाण्डे निर्वाचित भएका छन् । लिखु– २ को वडाध्यक्षमा नेकपा एमालेका प्रेमबहादुर थापामगर विजयी भएका छन् । दुप्चेश्वर, १ मा नेकपा माओवादी केन्द्रका सीताराम तामाङ विजयी भएका छन् । दुप्चेश्वर– २ मा नेकपा माओवादी केन्द्रका वीरबल तामाङ विजयी भएका छन् ।
पञ्चकन्या– १ मा नेपाली कांग्रेसका महानन्द ढकाल विजयी भएका छन् । शिवपुरी– १ मा नेकपा माओवादी केन्द्रका सुकुराम तामाङ विजयी भएका छन् । नुवाकोटमा २,३७,४३२ मतदाता रहेको ७०.७० प्रतिशत अर्थात् १,६७,८०० जनाले मतदान गरेका छन् । ०७४ को स्थानीय तह निर्वाचनमा नुवाकोटमा ६४ प्रतिशत मत खसेको थियो ।