![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/chunab-final2022-04-26-11-17-24.jpeg)
०७४ मा भएको पहिलो पालिका निर्वाचनमा दाङका दुई उपमहानगर घोराही र तुलसीपुरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । एमाले यसपटक पनि नतिजा दोहो¥याउने र विरासत कायम राख्ने प्रयासमा छ । एमालेलाई रोक्न सत्तासाझेदार दलहरू गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । बाँडफाँटमा तुलसीपुर कांग्रेस र घोराही माओवादीको भागमा परेको छ । दुवै उपमहानगरमा एकातिर एमाले र अर्कोतिर सत्तागठबन्धन नै मुख्य प्रतिस्पर्धी देखिन्छन् ।
तुलसीपुर उपमहानगर : कांग्रेसबाट मेयर बन्ने पूर्वसांसदको सपना, एमाले विरासत कायम राख्ने कसरतमा
तुलसीपुर उपमहानगरको प्रमुखमा एमालेले टीकाराम खड्कालाई उठाएको छ । सत्तागठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरी उम्मेदवार छन् । लोसपाबाट भूपेन्द्र भण्डारी, राप्रपाबाट जगधनी चौधरी, मालेबाट महेन्द्र शाह, नेपाली राष्ट्रिय जनमुक्ति पार्टीबाट रवीन्द्र उच्च, मंगोल नेसनल अर्गनाइजेसनबाट जया घर्तीमगर, नेपाल लोकतान्त्रिक पार्टीबाट घनश्याम चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट प्रभा चौधरी, उन्नत लोकतन्त्र पार्टीबाट जसवीर वलीलगायत पनि प्रमुखमा उम्मेदवार छन् ।
०७४ मा यहाँको प्रमुख र उपप्रमुख एमालेले जितेको हो । त्यसैले एमाले बलियो शक्ति हो । तुलसीपुर कांग्रेसको पनि बलियो संगठन भएको पालिका हो । तर, संगठनमा मात्र होइन, कांग्रेसमा अन्तरसंघर्ष र अन्तरघात पनि उत्तिकै बलियो देखिँदै आएको छ । कांग्रेस नेताहरू नै भन्छन्, ‘०७४ मा तुलसीपुर गुमाउनुको मुख्य कारण पार्टीभित्रको अन्तर्घात हो ।’ त्यतिवेला गेहेन्द्र र पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका अर्का नेता दीपक गिरीबीच सार्वजनिक रूपमा देखिने गरी नै तिक्तता थियो । त्यसैले पनि गेहेन्द्र घनश्यामसँगको प्रतिस्पर्धामा निकै पछाडि परे । पाँच वर्षअघि भएको निर्वाचनमा नगरप्रमुखका एमाले उम्मेदवार घनश्याम पाण्डेले कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ९५३ मतले हराएका थिए ।
एमालेले घनश्यामको ठाउँमा टीकारामलाई अघि सार्दा कांग्रेसले गेहेन्द्रलाई दोहो¥याएर उम्मेदवार बनाएको छ । कांग्रेस नेताहरूका अनुसार दोहो¥याएर उम्मेदवार बन्न गेहेन्द्र नै अघि बढ्नुमा दुई मुख्य कारण छन् । पहिलो, पाँचदलीय सत्तागठबन्धनको बालियो साथ र दोस्रो दीपक गिरीसँग सुध्रिएको सम्बन्ध । दीपक आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका बलियो उम्मेदवार हुन् । तुलसीपुर उनी उठ्न चाहेकै निर्वाचन क्षेत्रमा पर्ने भएकाले पालिका निर्वाचनको परिणामले प्रतिनिधिसभा निर्वाचनमा समेत असर गर्ने उनको बुझाइ छ । त्यसैले दीपकले यसपटक गेहेन्द्रलाई खुलेरै समर्थन मात्र गरेका छैनन्, उनको पक्षमा माहोल बनाउन आफूनिकट सबैलाई परिचालन गरेका छन् । यसर्थ, प्रमुखमा अन्य उम्मेदवारहरू हुँदाहुँदै पनि एमालेका टीकाराम र गठबन्धनका गेहेन्द्रबीच नै नजिकको प्रतिस्पर्धाको सम्भावना देखिन्छ ।
हुन त गेहेन्द्र पूर्वजनप्रतिनिधि हुन् । उनी ०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । यो एमाले महासचिव शंकर पोखरेलको पनि घर भएको क्षेत्र हो । यहाँ पोखरेलको पनि बलियो प्रभाव छ । त्यस्तै, एमाले उम्मेदवार टीकाराम भूमिहीन हुन् । उनी तुलसीपुर–१८ मा रहेको ऐलानी जग्गामा घर बनाएर बसिरहेका छन् । आफू र आफ्नो परिवारका कसैको नाममा कतै एक टुक्रा पनि जग्गा नभएको बताउने टीकारामलाई आर्थिक अवस्था कमजोर भएका, सुकुमबासी, भूमिहीनको साथ पनि देखिन्छ । तर, एमाले विभाजनको असर र अर्कोतिरको बलियो गठबन्धन भने तुलसीपुरमा दोस्रोपटक झन्डा गाड्ने एमालेको चाहनामा तगारो बन्न सक्छ ।
०७४ को मतपरिणामअनुसार एमालेका पाण्डेले २२ हजार ८५६ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी गिरीले १८ हजार ९०३ र माओवादी केन्द्रका सेशुराम भण्डारीले आठ हजार ६९३ मत ल्याएका थिए । तुलसीपुरमा हाल एक लाख सात हजार ६ सय ७७ मतदाता छन् ।
उपमेयरमा एमालेले स्यानी चौधरीलाई र गठबन्धनले एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जोगबहादुर राणालाई उठाएको छ । स्यानी ‘दिदी घर’ नामको संस्थाकी सञ्चालक हुन् । उनले एनजिओमार्फत असहाय बालबालिकाकाको पालनपोषण र शिक्षामा सहयोग गर्दै आएकी छन् ।
घोराही उपमहानगर : उम्मेदवार मात्र होइनन्, महरा र पोखरेल पनि मैदानमा
घोराही उपमहानगरको प्रमुखमा एमालेले नरुलाल चौधरीलाई उठाएको छ । गठबन्धनबाट माओवादीका हेमराज शर्मा डायमन्ड, राप्रपाकी सरिता देवकोटालगायत उम्मेदवार छन् । ०७४ को पालिका निर्वाचनमा एमालेका नरुलाल विजयी भएका थिए । यसपटक पनि एमालेले उनैलाई अघि सारेको छ ।
पाँचवर्षे कार्यकालमा धेरैपटक विवादमा परेको भए पनि एमाले महासचिव शंखर पोखरेलको बलियो साथ रहेकाले नरुलालले टिकटमा पुनः बाजी मारेको एमालेकै नेताहरू बताउँछन् । बिग्रिएर थन्क्याएको गाडीमा तेल हालेको बिल बनाई पैसा निकासा गराएको, सिँचाइका लागि ड्याम बनाउँदा आर्थिक अनियमितता गरेको भन्दै विपक्षीले अहिले चौधरीविरुद्ध प्रचार गरिरहेका छन् । माओवादीका उम्मेदवार हेमराज शर्माका विषयमा पनि यस्तै चर्चा हुने गरेको छ । माओवादी प्रवक्ता कृष्णबहादुर महराको साथकै कारण हेमराजले टिकट पाएको कतिपय माओवादी नेता बताउँछन् । घोराहीमा एकातिर एमाले र अर्कोतिर सत्तागठबन्धन छ । यिनै दुई शक्तिबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।
घोराहीको जित महरासँगै एमाले महासचिव पोखरेलका लागि पनि महŒवपूर्ण छ । ०७४ को संघीय तथा प्रदेश निर्वाचनमा एमाले र माओवादी गठबन्धन गरेर चुनाव लडेका थिए । त्यसवेला महरा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट र पोखरेल प्रतिनिधिसभा क्षेत्र नम्बर २ को ‘क’बाट विजयी भए । तुलसीपुर गृहनगर भए पनि पोखरेलले सहज हुने देखेर घोराहीको अधिकांश क्षेत्र समेटिएको प्रदेश सभा क्षेत्र ‘क’ रोजेका थिए । यसैले दुवै नेता जिल्लामै बसेर निर्वाचन प्रचारप्रसामा जुटेका छन् । यसबाट अनुमान लगाउन सकिन्छ, यहाँ माओवादी र एमाले दुवैको सांगठनिक अवस्था सुदृढ छ । तर, पार्टी केन्द्रले डायमन्डलाई टिकट दिने निर्णय गरेपछि माओवादीका जिल्ला इन्चार्ज जीवन गौतमले माओवादी त्यागे । उनी ०७४ को पालिका निर्वाचनमा माओवादीका उम्मेदवार थिए । र, यसपटक दोहो¥याएर उम्मेदवार बन्न चाहेका थिए ।
०७४ मा एमालेका नरुलाल २२ हजार ३० मत ल्याएर विजयी भएका थिए । कांग्रेसका भूपबहादुरले १७ हजार ४८४ र माओवादीका जीवनले १२ हजार ८२ मत ल्याएका थिए । उपमेयरमा गठबन्धनले कांग्रेसका नेता भूपबहादुर डाँगीलाई मैदानमा उतारेको छ । डाँगी यसअघि कांग्रेसबाट घोराहीको मेयरका उम्मेदवार थिए । एमालेले भने उपमेयरमा हुमा डिसीलाई ल्याएको छ ।