काठमाडौं महानगरमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको प्रत्याशी सिर्जना सिंहले काठमाडौं महानगरवासीलाई ठूला सपना देखाउनेभन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भूमिका खेल्ने बताएकी छिन्।
शंकरदेव क्याम्पसका पूर्वविद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालयसमेत जान नपाउने अवस्था रहेको बताउँदै मेयर निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गरिने बताइन्।
‘काठमाडौं बनाउने जिम्मा हाम्रो काँधमा आएको छ, सोही कारण मलाई काठमाडौंको मेयरको रूपमा पार्टी र गठबन्धनले अगाडि सारेको छ। मेयर निर्वाचित भएको अवस्थामा घोषणापत्रअनुसार नै काम गर्नेछु,’ उनले भनिन्, ‘भ्रष्टाचारमुक्त काठमाडौं बनाउने हो, डिजिटल प्रविधिको प्रयोग गरेर घरबाटै सेवा दिने हो।’
सिंहले घरघरबाटै फोहोरको व्यवस्थापन गर्न सकिनेसमेत बताइन। सानासाना समस्याले काठमाडौं गिज्याउने गरेकोसमेत सिंहले बताइन्। उनले ज्येष्ठ नागरिकको समस्या अत्यधिक रहेको बताउँदै खाली जग्गामा ज्येष्ठ नागरिक भवन र पार्क बनाउने, काठमाडौंको सांस्कृतिक सभ्यता र पुरातत्त्विक सम्पदाको संरक्षण गर्नेसमेत बताइन्।
त्यस्तै, उनले पैसा नहुनेलाई काठमाडौंमा पानी खाने व्यवस्थासमेत नरहेको बताउँदै सार्वजनिक स्थलमा नि:शुल्क खानेपानी र शौचालयको व्यवस्था गर्नेसमेत बताइन्।