सिटिजन्स वैंक लिमिटेडले स्थापनाको १५औँ वार्षिकोत्सवमा संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । काठमाडौंमा आयोजना गरिएको वार्षिकोत्सव कार्यक्रममा बैंकका अध्यक्ष राजनसिंह भण्डारीले संस्थागत सुशासनको उच्चतम मापदण्ड कायम राख्दै आएको बताएका हुन् ।
त्यसलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए । उनले भने, ‘बैंकको व्यवस्थापन प्रक्रिया, संरचना र नीतिले हाम्रा मूल्य–मान्यतालाई पछ्याउन अनुमति दिन्छ । हामी हाम्रा ग्राहकको सेवा गर्न काम गर्छौँ, यसैले हामी हाम्रा मूल्य–मान्यतालाई गम्भीर रूपमा लिन्छौँ र सही कुरा गर्न प्रतिबद्ध छौँ ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मिसन टप टेन रणनीतिमार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको बताए । आगामी दिनहरूमा वित्तीय क्षेत्रलाई द्रुत नवप्रवर्तन र थप आकार दिइने उनको भनाइ थियो । उद्देश्यलाई द्रुत रूपमा वास्तविकतामा परिणत गर्न बैंकलाई परिवर्तनात्मक रूपमा व्यक्तिगत पहुँचमा ल्याइने प्रमुख कार्यकारी अधिकृत पोखरेलले वताए ।
ग्राहकलाई धेरै च्यानलमार्फत कहीँ पनि र कुनै पनि समयमा व्यावसायिक वित्तीय सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको उनको भनाइ थियो । यसका लागी बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने आधार तयार गरिसकेको र बैंकको डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमा सहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखिएको पोखरेलले जानकारी दिए ।
१५औँ वार्षिकोत्सवको अवसरमा बैंकले सातवटै प्रदेशमा प्रभातफेरी र नेपाल रेडक्रश सोसाइटीसँगको सहकार्यमा देशभर कुल चार सयजना रक्तदाताको सहभागितामा २३ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाइएको छ । त्यस्तै, बैंकमा १५ वर्ष निरन्तर सेवा गरेका १५ जना कर्मचारी तथा १० वर्ष सेवा गरेका ३६ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान पदक वितरण गरिएको थियो ।