बैतडीको दोगडाकेदार गाउँपालिकामा लिफ्टिङ प्रविधिबाट नौवटा खानेपानीका योजना निर्माण भएका छन् । त्यस्तै, थप चारवटा खानेपानी र तीनवटा सिँचाइ योजना निर्माणका क्रममा छन् । एक सय २५ मिटरदेखि आठ सय मिटरको उचाइमा लिफ्ट गरिएका खानेपानी योजनाबाट करिब आठ सय घरधुरी लाभान्वित भएका छन् । निर्माण क्रममा रहेका लिफ्टिङ प्रविधिकै तीनवटा सिँचाइ योजनाबाट तीन हजार दुई सय रोपनी जमिनमा सिँचाइ सुविधा पुग्ने भएको छ ।
सोलार प्लान्ट प्रयोग गर्दै बस्तीमुनिका मुहानहरूको पानी तानेर निर्माण भएका खानेपानी र सिँचाइका योजनामा गाउँपालिकाका ६ वडा समेटिएका छन् । वडा नं १ र ७ बाहेक बाँकी सबै वडामा लिफ्टिङ प्रविधिका योजनाहरू निर्माण भएको पालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।
दोगडाकेदार गाउँपालिका वडा नं. ३ का तीन सय घरपरिवारलाई सिँचाइ सुविधा पुग्ने गरी उसखोला सैनीखेत लिफ्ट सिँचाइ योजना निर्माणको अन्तिम चरणमा छ । दुई करोड ८० लाख लागतमा योजना निर्माण हुन लागेको वडा अध्यक्ष चन्द्रदेव जोशीले बताए ।
एक सय ३० एमएमको पाइपबाट आठ सय मिटर उचाइमा पानी तान्न यहाँ ४५ हजार मूल्य पर्ने ९२ पाता सोलार जडान गरिएका छन् । घाम लाग्दा पानी लिफ्ट भइरहने योजनामा तीन लाख लिटरको ट्यांकीसमेत निर्माण गरिएको स्थानीय उपभोक्ता धर्मेन्द्र कपाडीले बताए ।
दोगडाकेदार गाउँपालिकाको ५ नम्बर वडामा रहेको भल्वाँ न्वाली लिफ्टिङ खानेपानी योजनाबाट एक सय ७० परिवारलाई खानेपानीको सुविधा पुगेको छ । प्रदेश सरकार र पालिकाको संयुक्त लागतमा निर्माण भएको यो योजनामा एक सय २५ मिटर उचाइमा पानी तानिएको छ ।
एक वर्षअघिसम्म स्थानीयलाई गाउँको एउटा मात्र मुहानमा घन्टौँ लाइन लागेर एक गाग्री पानी भर्न पाइन्थ्यो । गत वर्ष खोपानी बनेपछि घरघरमा धारा जोडिएको र खानेपानीको दुःखबाट छुट्कारा मिलेको स्थानीय मानबहादुर कार्कीले बताए । गाउँको तलबाट उचाइमा पानी तानेर घरघरमा धारा बन्ला भन्ने कल्पनासमेत नगरेका कार्कीले लिफ्टिङ प्रविधि देखेर दंग परेको बताए ।
‘उकालोमा पनि पानी चढ्ला भन्ने हामीले कल्पना गरेका थिएनौँ,’ उनले भने, ‘योजना सुरु भएपछि समेत विश्वास थिएन । अहिले पानी उकालो चढेर घरघरमा आइरहेको छ ।’ ‘भल्वाँ न्वाली लिफ्टिङ खानेपानीयोजना’ भर्खरै सम्पन्न भएकाले बिहान बेलुका एक–एक घन्टा खानेपानीको आपूर्ति भइरहेको योजनाका अध्यक्ष मोहनसिंह कार्कीले बताए । उनले केही प्राविधिक कामहरू बाँकी रहेकाले लगत्तै २४ घन्टा पानीको आपूर्ति गर्ने बताए ।
न्वालीकै छिमेकी गाउँ गोबडामा दुई ठूला सोलार प्लान्ट जडान गरेर सात सय ३० मिटर तलबाट पानी तानिएको छ । निर्माणको अन्तिम चरणमा रहेको ‘गोबडीगाड गल्छी लिफ्टिङ खानेपानी योजना’बाट एक सय १० घरमा ‘एक घर एक धारा’ बनाउने योजना छ । पालिका र प्रदेश सरकारले दुई करोड खर्च गरेर यो योजना निर्माण गरिएको हो । यति उचाइमा समेत पानी चढेर घरघरमा झर्दा आफूहरूले खुसीयाली मनाएको स्थानीय गोविन्दराम महरले बताए ।
गाउँमा विद्युत्को पहुँच नपुगेकाले सोलारबाट लिफ्टिङ प्रविधिमा आधारित योजना गाउँपालिकाको प्राथमिकतामा परेको पालिका अध्यक्ष चक्र कार्कीले बताए । विद्युतीकरण भएपछि सोलार विस्थापित गर्न सकिने विकल्प राखेर खानेपानी र सिँचाइका नौवटा योजना निर्माण भएका र सातवटा निर्माणका क्रममा रहेको उनले बताए । अग्लो क्षेत्रमा रहेका बस्तीहरूमा निकै तल रहेका खोलाबाट पानी तानेर सिँचाइ र खानेपानी आपूर्ति गर्नुपर्दा केही महँगो परे पनि यसले सर्वसाधारणलाई ठूलो राहत मिलेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र धामीले बताए । बस्तीमाथि मुहान नभएर लिफ्ट गर्दा बढी महँगो परे पनि खानेपानी अनिवार्य आवश्यकता भएकाले यो प्रविधिको प्रयोग गरिएको गाउँपालिका अध्यक्ष कार्कीको भनाइ छ ।