१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १ बिहीबार
  • Tuesday, 25 June, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७९ बैशाख १ बिहीबार १५:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गठबन्धनलाई उम्मेदवार छान्न सिन्धुपाल्चोकमा सकस

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ बैशाख १ बिहीबार १५:५४:oo

सत्तासाझेदार गठबन्धन दलहरूलाई स्थानीय तहमा उम्मेदवार छान्न सकस परेको छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू दैनिकजसो छलफलमा छन्। तीनपटक बैठक बसे पनि ठोस निर्णय र सहमति भएको छैन ।

गठबन्धनको केन्द्रीय संयन्त्रले ३ वैशाखभित्र दलले नेतृत्व गर्ने स्थानीय तह र उम्मेदवारबारे सिफारिस गर्न पत्राचार गरेको छ। वैशाख २ र ३ गते लगातार बैठक गरेर टुंग्याउने योजनामा गठबन्धन रहेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले जानकारी दिए।

कांग्रेस–माओवादी बराबरीको दाबी
सिन्धुपाल्चोकका १२ स्थानीय तहमा गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादीले बराबरी हिस्सा दाबी गरिरहेकाले उम्मेदवार छान्न सकस परेको हो। ०७४ को स्थानीय चुनावमा कांग्रेसले तीन र माओवादी केन्द्रले दुई तह जितेका थिए। त्यसकै आधारमा एक सिट बढी पाउनुपर्ने कांग्रेसको दाबी छ। तर, मतभार र पछिल्लो समयमा बढेको संगठनको आधारलाई मान्नुपर्ने दाबी गर्दै माओवादी केन्द्रले बराबरी सिट बाँडफाँड हुनुपर्ने अडान राखेको छ। सात सिटमा विजयी एमालेको सिटमा आफूहरू पनि बलियो रहेको छलफलमा एकीकृत समाजवादीका नेताहरूले दाबी प्रस्तुत गरेका छन्।

एमाले विभाजनपछि पूर्वसांसद सुभाष कर्माचार्यसहित संगठनमा प्रभाव पार्ने नेता एकीकृत समाजवादीमा गए पनि मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपाल र दुई वडाध्यक्षबाहेक अरू जनप्रतिनिधिले एमाले छोडेनन्। एमाले छोडेका बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरे। जनप्रतिनिधि नभएको कमजोर पृष्ठभूमिमा एकीकृत समाजवादीलाई सिट दाबी गर्न कठिन परेको छ। गठबन्धनको बैठकमा तीनवटै पार्टीले आ–आफ्नो दाबी प्रस्तुत गर्नेबाहेक कुनै ठोस प्रगति भएको छैन।

पहिलो स्थानीय चुनावमा कांग्रेसले सुनकोसी, इन्द्रावती र हेलम्बु गाउँपालिका जितेको थियो। एमालेले जितेको बाह्रबिसे नगर, मेलम्ची नगर, त्रिपुरासुन्दरी र जुगल गाउँपालिकामा कांग्रेस निकटतम् प्रतिद्वन्द्वी हो। एमालेले जितेको लिसंखुपाखर र बलेफीमा माओवादी केन्द्र निकटतम् प्रतिद्वन्द्वी हो। जुगल गाउँपालिकामा कांग्रेस दोस्रो भए पनि वडाको मतभार बढी र माओवादी केन्द्रको अहिलेको संगठन मजबुत रहेको आ–आफ्नो दाबी छ।  कांग्रेस र माओवादीले बराबरी सिटमा दाबी गरिरहँदा एकीकृत समाजवादीले कम्तीमा एक स्थानीय तह पाउनुपर्ने कुरा छलफलमा उठाएको छ। कांग्रेस र माओवादीको भागमा बराबरी सिट भागबन्डा गरेपछि माओवादीले एकीकृत समाजवादीलाई आफ्नो भागबाट एक सिट दिनुपर्ने प्रस्ताव आएको बताइएको छ। 

गठबन्धनको छलफल सकारात्मक दिशातिर अगाडि बढेको कांग्रेस जिल्ला सभापति जंगबहादुर तामाङले बताए। गठबन्धनमा कांग्रेसको तर्फबाट बाह्रबिसेमा बालकृष्ण बस्नेत, त्रिपुरासुन्दरीमा भक्तध्वज बोहरा, सुनकोसीमा श्रवणकुमार जिसी र मेलम्चीमा आइतमान तामाङ उम्मेदवार बन्ने सम्भावना छ। त्यसैगरी माओवादीका लिसंखुपाखरमा राजु लामा, बलेफीमा गंगा तामाङ, चौतारा साँगाचोकगढीमा पार्टी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा उम्मेदवार बन्ने सम्भावना छ।

एमालेलाई पनि सकस
विभाजनको सिकार बनेको एमालेले पनि उम्मेदवार छनोट प्रक्रिया टुंग्याउन सकेको छैन। आकांक्षी धेरै भएकाले उसलाई उम्मेदवार छान्न कठिन परेको हो। तल्लो कमिटीबाट छनोट भएर आएका आकांक्षीको नाम सिफारिस गरेर पार्टीको माथिल्लो निकायमा पठाइएको जिल्ला अध्यक्ष कमल नेपालले बताए।

एमालेले भोटेकोसी गाउँपालिकाको उम्मेदवार टुंग्याएको छ। प्रमुखमा अमृतकुमार खड्का र उपप्रमुखमा सुन्तली लामा श्रेष्ठको नाम सर्वसम्मतले पारित गरेको हो। बाह्रबिसेमा हालका मेयर निम्फुन्जो शेर्पा र उपमेयर सुशीला पाख्रिनको नाम सिफारिस भए पनि अन्तिम टुंगो लागेको छैन। स्थानीय सरकारको आधा सत्ता जितेको एमाले विभाजनपछि कमजोर बनेको छ। आकांक्षीलाई सम्बोधन नगरी उम्मेदवार छनोट गर्दा पार्टी नै छोडेर एस वा अन्य पार्टीमा जान सक्ने भएकाले एमालेले उम्मेदवारको टुंगो नलगाएको हो।

ad
ad
ad
ad