बंगलादेशलाई डिएलएस पद्धतिमा आठ रनले हराउँदै अफगानिस्तान आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वेस्ट इन्डिजको किंग्स टावनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय १६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा बंगलादेश १७.५ ओभरमा अलआउट हुँदा मात्र एक सय पाँच रन बनाउन सक्यो ।
सन् २०१० बाट विश्वकप खेल्दै आएको अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा पुग्न सफल भयो । यसअघि सुपर एटबाट माथि बढ्न सकेको थिएन । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि भारत र इंग्ल्यान्ड तथा अफगानिस्तान र दक्षिण अफ्रिका भिड्नेछन् ।
बंगलादेशको इनिङ्समा ओपनर लिटन दासले ४९ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ५४ रन बनाए । अफगानिस्तानका कप्तान तथा स्पिनर रसिद खानले चार ओभरमा सर्वाधिक चार किवेट लिएका थिए । नवीन उलहकले तीन विकेट हात पारे ।
अफगानिस्तानको इनिङ्समा ओपनर रहमानुल्लाह गुर्वाजले ५५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । अर्का ओपनर इब्राहिम जाद्रनले १८ रन जोडे । पहिलो विकेटका लागि दुई खेलाडीबीच ५९ रनको साझेदारी भएको थियो ।