तीन तहका जनप्रतिनिधिको लागि कांग्रेसले २९ बुँदे कार्यसम्पादन निर्देशिका ल्याएको छ। मंगलबार र बुधबार पोखरामा भएको जिल्ला सभापति र प्रशिक्षण विभाग प्रमुखहरूको दुईदिने अभिमुखीकरण समापनअघि पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले निर्देशिकाका बारेमा जानकारी दिएका हुन्।
बन्दसत्रमा महामन्त्री शर्माले पेस गरेको ‘महासमितिपछिको राजनीतिक परिस्थिति र समसामयिक सन्दर्भ’ विषयक कार्यपत्रमा निर्देशिकाबारे जानकारी गराइएको थियो। पार्टी केन्द्रीय कार्यसमिति बैठकले पारित गरेपछि निर्देशिका कार्यान्वयन आउनेछ।
निर्देशिकामा संघ र प्रदेशका जनप्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक पालिकामा स्थानीय जनसम्पर्क हुने गरी सामान्यतयाः दुई महिनामा कम्तीमा एकपटक अनिवार्य पुग्नुपर्ने, कार्यसम्पादन गरिरहँदा आफूसँग असहमत या फरक विचार राख्ने मतदाता, अन्य पार्टीमा रहेका व्यक्ति या आफ्नै पार्टीका कोहीप्रति पनि फरक व्यवहार नगरेर जनप्रतिनिधिका रूपमा साझा नेतृत्वको अनुभूति गराउने, विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती अन्त्य गर्न, गराउन अत्यावश्यक पहल, सुझाव र सहजीकरणको भूमिका निभाउने, फजुल खर्च, भ्रष्टाचार, अनियमितता, अपारदर्शिता, जवाफदेही विहीनताजस्ता बेथितिमा आफू सरिक नहुने, आफ्नो पदीय जिम्मेवारीको क्षेत्रमा त्यो हुन नदिन तीनै तहका जनप्रतिनिधिले गम्भीरता राख्ने, सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था पालना गर्दै अनिवार्य, नियमित र निर्धारित समयमै विवरण सार्वजनिक गर्नेलगायतका विषय समेटिएका छन्।