१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २९ मंगलबार
  • Saturday, 28 September, 2024
२o७८ चैत २९ मंगलबार o८:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालगन्ज उपमहानगर : एमालेले तय गर्‍यो प्रमुख र उपप्रमुख 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २९ मंगलबार o८:१५:oo

नेकपा एमालेले नेपालगन्ज उपमहानगरको मेयरमा केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रलाई उम्मेदवार बनाउने भएको छ । एमाले बाँकेले मिश्रको नाम सर्वसम्मत रूपमा सिफारिस गरेपछि उनी नेपालगन्जको मेयरको उम्मेदवार बन्ने पक्का भएका हो । जिल्ला विकास समिति बाँकेका पूर्वसभापतिसमेत रहेका उनी अघिल्लो संंसदीय निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट एमालेको चुनाव चिह्न सूर्यबाट चुनाव लडेका थिए । नेपालगन्ज पनि क्षेत्र नं. २ भित्र पर्दछ । 

सूर्य चिह्न लिएर स्वतन्त्र समूहबाट निर्वाचनमा होमिएका मिश्रले १५ हजार नाै सय ५१ मत पाएर दोस्रो भए । संगठन बलियो नभए पनि संसदीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार मोहम्मद इस्तियाक राईले २१ हजार पाँच सय ७५ मत ल्याएर विजयी भए । कांग्रेसको समर्थनमा चुनाव लडेका राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मत पाए । 

लामो समयदेखि राजनीतिमा सक्रिय मिश्र सफल व्यवसायी पनि हुन् । उनी सञ्चार उद्यमीसमेत हुन् । उनको नेपालगन्जमा प्लाइउड उद्योग र मेरो प्लानेट नामक होटेल सञ्चालनमा छ । उनी अरूसँग कहिल्यै नरिसाउने लोकप्रिय नेताको रूपमा चिनिन्छन् । 

एमालेले नेपालगन्जको उपमेयरमा केन्द्रीय सदस्य शान्तिदेवी ढकाललाई उम्मेदवार बनाउने भएको छ । एमालेका नेताहरू विजया धिताल, रचना श्रेष्ठ, कृष्णा पाठकलगायतले दाबी गरे पनि अन्तिममा ढकालको नाम सर्वसम्मत सिफारिस भएको एमाले उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए । 

ढकाल ०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेको तर्फबाट उपमेयर उम्मेदवार थिइन् । उक्त निर्वाचनमा १० हजार सात सय ३१ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार उमा थापा मगर विजयी भइन् । तेस्रो भएकी ढकालले सात हजार सात सय ७३ मत पाउँदा दोस्रो स्थानमा रहेकी राप्रपाका उम्मेदवार रमारानी वैश्यले आठ हजार नाै सय २४ मत पाएकी थिइन् । रमारानी अहिले राप्रपा छाडेर जनता समाजवादी पार्टीमा प्रवेश गरेकी छिन् । एमाले नेपालगन्जमा राप्रपा र राप्रपा नेपालसँग तालमेल गर्ने तयारीमा छ ।