१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ११ शुक्रबार
  • Friday, 27 September, 2024
२o८१ असोज ११ शुक्रबार २o:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा-काठमाडौं जोड्ने अधिकांश सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ११ शुक्रबार २o:३८:oo

लगातारको वर्षाले पहिरो खस्दा बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने त्रिभुवन राजपथबाहेक सबै मार्गहरू अवरुद्ध भएका छन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार हेटौँडबाट काठमाडौं जोड्ने कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले हेटौँडा-काठमाडौं जोड्ने सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट ढुंगा र लेदोसहितको पहिरो खसेको र लगातारको वर्षाले पन्छाउन समस्या भएको जानकारी दिए।

प्रहरी निरीक्षक सापकोटाका अनुसार कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– १२ घट्टेपाखामा बुधबार राति खसेको पहिरो पन्छाएर एकतर्फी बाटो सञ्चालनमा ल्याएको केहीबेरमै बकैयाको वडा नम्बर ११ आँपचौर र लाम्राङमा खसेको पहिरोले कान्तिलोकपथ पुनः अवरुद्ध भएको छ। उनका अनुसार उक्त पहिरो हटाएर तत्काल सवारी आवागमन खोल्न सकिने अवस्था न्यून छ।

भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका– ४ रातोमाटेमा पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी, कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका– ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेर उक्त सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

अवरुद्ध सडकहरू खुलाउन सडक विभाग, पालिकाहरू र प्रहरीको समन्वयमा प्रयास भइरहे पनि लगातारको वर्षाले माथिबाट लेदो र ढुंगा खस्ने क्रम नरोकिएकाले समस्या भएको प्रहरी निरीक्षक सापकोटाले बताए।