१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २८ सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ चैत २८ सोमबार o८:११:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० वरीयतामा नेपाल १२औँ स्थानमा

एक स्थान सुधार गर्दै नेपाल एसोसिएटतर्फ नम्बर एक राष्ट्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत २८ सोमबार o८:११:oo

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले टी–२० राष्ट्रको वरीयता सार्वजनिक गरेको छ । आइसिसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १२औँ स्थानमा उक्लेको छ । एक स्थान सुधार गरेको नेपाल एसोसिएटतर्फ नम्बर एक राष्ट्र बनेको छ । नेपाल वरीयतामा मात्र ११ टेस्ट राष्ट्रभन्दा पछि छ । नेपालले टेस्ट राष्ट्र आयरल्यान्डलाई समेत पछि पार्न सफल भएको छ । आयरल्यान्ड १५औँ स्थानमा छ । 

नेपाल एसोसिएटको शीर्ष वरीयतामा दोस्रोपटक अटाएको हो । नेपालले ३२ खेलबाट एक सय ८९ रेटिङ अंक बटुलेको छ । नेपालभन्दा अघि जिम्बावे ११औँ तथा युएई १३औँ स्थानमा छन् । नेपाल पछिल्लो १० मध्ये एउटा अन्तर्राष्ट्रिय खेलमा मात्र पराजित भएको छ । गत साता मात्र नेपालले मलेसिया तथा पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधि जितेको थियो । नेपालले लगातार पाँच खेल जितेको थियो । 

नेपालले फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै उपाधि हात पारेको थियो । दुई महिनाअघि ओमानमा सम्पन्न टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । ओमानमा सम्पन्न आइसिसी टी–२० विश्वकप छनोट एमा नेपालले खेलेका पाँचमध्ये चार खेलमा जित निकालेको थियो । समूह बीमा तीन खेलमा नै जितका साथ सेमिफाइनलमा पुगेको थियो । 

तर, सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना पूरा भएन । विश्वकप छनोटको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानलाई हराएको थियो । टी–२० वरीयतामा भारत शीर्ष स्थानमा छ । भारतले ३९ खेलबाट सर्वाधिक दुई सय ६९ रेटिङ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानले दुई सय ६४ रेटिङ अंक हात पारेको छ । वर्तमान आइसिसी टी–२० विश्वकप च्याम्पियन अस्ट्रेलिया छैटौँ स्थानमा छ । 

अस्ट्रेलियाले दुई सय ५० वरीयता रेटिङ अंक जोडेको छ । यसैगरी, टी–२० विश्वकपको उपविजेता न्युजिल्यान्ड तेस्रो स्थानमा छ । अफगानिस्तान दुई सय ३२ अंकका साथ आठौँ स्थानमा छ । यसैगरी, एकदिवसीय वरीयतामा नेपाल १८औँ स्थानमै छ । नेपालले १८ रेटिङ अंक बटुलेको छ । दुई साताअघि नेपाल पपुवा न्युगिनीसँग  एकदिवसीय खेलमा २–० ले पराजित भएको थियो । एकदिवसीय वरीयताको पुछारमा पपुवा न्युगिनी छ । पपुवा न्युगिनी २०औँ तथा अमेरिका १९औँ स्थानमा छ । एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ । 

 भुर्तेलको दुई स्थान सुधार 
आइसिसीको अन्तर्राष्ट्रिय टी–२० ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेलले दुई स्थान सुधार गरेको छ । कुशल २९औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । कुशलले पाँच सय २७ रेटिङ अंक जोडेको छ । पछिल्लो वरीयतामा कुशलले विश्व क्रिकेटमा नाम चलेका खेलाडीलाई समेत पछि पारेका छन् । उनले वेस्टइन्डिजका इभिन लेविस, अफगानिस्तानका मोहम्मद नावी, अफगानिस्तानकै नाजिबुल्लाह जार्दान र बंगलादेशका महमुदुल्लालाई पछि पारेका हुन् । वरीयताको २८औँ स्थानमा भारतका सूर्यकुमार यादव रहेका छन् ।

टी–२० ब्याटिङ वरीयताको शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम रहेका छन् । बाबरले सर्वाधिक सात सय ९८ रन जोडेका छन् । दोस्रो स्थानमा दक्षिण अफ्रिकाका अडेन माक्राम छन् । यसैगरी, बलिङतर्फमा नेपालका कप्तान सन्दीप लामिछानेले एक स्थान गुमाएका छन् । उनी ३७औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । अविनाश बोहोराले एक स्थान सुधार गरेका छन् । उनी ८१औँ स्थानमा छन् ।