कांग्रेसले स्थानीय तह निर्वाचनमा आकांक्षीहरूबाट शुल्क नलिन परिपत्र गरेको छ । उम्मेदवारका आकांक्षीबाट गुनासो आएपछि कांग्रेसले कुनै पनि शीर्षकमा रकम नलिन जिल्ला कार्यसमितिमार्फत निर्देशन दिएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा उम्मेदवारी सिफारिस गर्दा विधान तथा नियमावलीविपरीत कुनै पनि प्रकारको रकम नलिन निर्देशन गरिएको छ ।
परिपत्रमा पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क र लेबीबाहेक रकम उठाउन नपाइने उल्लेख छ । ‘विधान तथा नियमावलीबमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेबी) लिन, उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउनुहुन जानकारी गराइन्छ,’ परिपत्रमा भनिएको छ, ‘सोबाहेक उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले अन्य कुनै पनि प्रकारको रकम माग नगर्नू ।’