मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २७ आइतबार १४:५६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राजदूत ढकालद्वारा पत्रकार पाण्डेविरुद्धको मुद्दा फिर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २७ आइतबार १४:५६:००

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको उजुरीका आधारमा युएईको अदालतले पत्रकार उमाकान्त पाण्डेलाई जेल सजाय, जरिवाना र देश निकालाको फैसला गरेकोमा ढकालले पाण्डेविरुद्धको मुद्दा फिर्ता लिएका छन्। परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार राजदूत ढकालले युएईको परराष्ट्र मत्रालयमा १० दिनअघि पाण्डेविरुद्ध मुद्दा फिर्ताको लिखित निवेदन दिएका थिए। राजदूत ढकालको निवेदन त्यहाँको परराष्ट्र मन्त्रालयमार्फत महान्यायाधिवक्ताको कार्यालयमा पुगिसकेको छ।

परराष्ट्र स्रोतका अनुसार सुरुमा राजदूत ढकालले पाण्डेविरुद्ध उजुरी दिएको स्वीकार गरेका थिएनन्। तर, नेपाल पत्रकार महासंघले विस्तृत विवरण सार्वजनिक गरेपछि पाण्डेले आफूलाई दुःख दिएका कारण उजुरी दिएको जानकारी परराष्ट्र मन्त्रालयमा दिएका थिए।

फेसबुकमा स्टाटस लेखेका आधारमा राजदूत ढकालले पाण्डेमाथि प्रतिशोधका आधारमा युएई प्रहरीलाई निवेदन दिएको र त्यही आधारमा अदालतले पाण्डेविरुद्ध फैसला सुनाएको परिवारको आरोप छ। पाण्डे अबुधाबीमा रहेको अलसापा नामक कम्पनीको कर्मचारीका रूपमा बस्दै आएका छन्। उनको प्रमुख पेसा पत्रकारिता नभए पनि पार्टटाइम रूपमा काम गर्दै आएका छन्।

राजदूत ढकालको उजुरीका आधारमा अबुधाबी प्रहरीले पक्राउ गरेर पाण्डेमाथि छानबिन गरेको थियो। ढकालको उजुरी र प्रहरी छानबिनका आधारमा अबुधाबीको कोर्ट अफ फर्स्ट इन्स्टान्सले तीन महिना जेल सजाय, २० हजार दिराम (करिब ६ लाख नेपाली रुपैयाँ) जरिवाना र युएईबाट देश निकालाको फैसला गरेको थियो। पाण्डे अहिले जेलमा छन्। पाण्डेको अपराधमा दुईपटक पुनरावेदन गर्न पाउने त्यहाँको कानुनी व्यवस्थाअनुसार उनले पहिलो पुनरावेदन दिएका छन्। पाण्डेले आफू निर्दोष रहेको भन्दै माफीका लागि दिएको पहिलो निवेदनमा पुनरावेदन अदालतले जेल सजाय माफी दिएको छ भने जरिवाना र देश निकालाको फैसलालाई सदर गरेको छ। पाण्डेले पूरै सजाय माफीका लागि अदालतमा दोस्रो पुनरावेदन दिएका छन्।

पत्रकार महासंघको चर्को विरोधपछि परराष्ट्र मन्त्रालयले राजदूत ढकाललाई सोधपुछ गरेको थियो। त्यसक्रममा पाण्डेविरुद्ध राजदूत ढकाल स्वयंले त्यहाँको प्रहरीलाई निवेदन दिएको र त्यस आधारमा पाण्डेविरुद्ध फैसला भएको परराष्ट्र मन्त्रालयले पत्ता लगाएको थियो। परराष्ट्रले निर्देशन दिएलगत्तै राजदूत ढकालले मुद्दा फिर्ताका लागि अबुधाबीको परराष्ट्र मन्त्रालयमार्फत निवेदन दिएका छन्। मुद्दा फिर्ताको निवेदन त्यहाँको महान्यायाधिवक्ताको कार्यालयमा पुगिसकेको छ।

परराष्ट्रका एक अधिकारीले पाण्डेविरुद्ध बाँकी रहेका दुई सजायका विषयमा निर्णय लिने प्रक्रिया सुरु हुने जानकारी प्राप्त भएको बताए । अहिले मुस्लिमहरूको रमदान पर्व परेकाले उनको कानुनी प्रक्रिया टुंगिन समय लाग्ने जानकारी आएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

पाण्डेविरुद्ध दूतावासले नै उजुरी दिएको र त्यस आधारमा अबुधाबी अदालतले जेल सजाय सुनाएको समाचार नेपालमा प्रकाशित भएपछि सुरुमा राजदूत ढकालले आफ्नो र दूतावासको संलग्नता नरहेको जिकिर गर्दै आएका थिए। राजदूत ढकालले त्यस्तो कार्य गरेको पुष्टि भए राजदूत पदबाट राजीनामा दिनेसमेत बताएका थिए।