१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नवीन के‍सी अर्घाखाँची
२०७८ चैत २६ शनिबार १७:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ बस्ती बनेपछि बादी समुदायमा खुसी

Read Time : > 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
२०७८ चैत २६ शनिबार १७:४२:००

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं २ मा नयाँ बस्ती स्थापना भएपछि बादी समुदाय खुसी भएका छन्। लामो समयदेखि स्थायी बसोबासको आश्वासन मात्र पाएका बादी समुदायले स्थानीय सरकारको समन्वय र प्रदेश सरकारको बजेटबाट अहिले भने पक्की घर पाएका हुन्।

लामो समयपछि धारा, विद्युत् र सोलारसहितको पक्की घर पाएपछि बादी समुदायको आफ्नै पक्की घरमा बस्ने सपना साकार भएको छ। केही महिनाअघि सामुदायिक वनको भिरमा छाप्रो बनाएर दैनिक गुजारा चलाइरहेकी चन्द्रादेवी बादी अहिले पक्की घरमा बस्न पाउँदा सपनाजस्तो लागिरहेको बताउँछिन्। ‘चुनावको समयमा सबै पार्टीले स्थायी रूपमा बसोबास गर्न जग्गा व्यवस्था गर्छौं भन्थे। चुनावको वेला नयाँ घरमा बस्ने आशा जाग्थ्यो । चुनावपछि बिस्तारै आशा हराउँथ्यो। तर अहिले साँच्चै घर बनेर बस्न सुरु गरेका छौँ,’ उनले भनिन्।

पहिले आफू बस्ने स्थान देखाउँदै चन्द्रादेवीले भनिन्, ‘त्यही पारी पाखोमा छाप्रो बनाएर बसेका थियौँ। हातबाट भाँडा खस्यो भने सीधै खोलामा जान्थ्यो। नानीबाबुहरू खेल्ने ठाउँ थिएन। लडे भने सीधै खोलामा जाने हो। रातमा कता पहिरो जाने भन्ने पिरलोले सुत्न सकिने थिएन।’

बादी समुदायका अधिकांश व्यक्तिहरू खोलामा बालुवा चालेर जीविका गर्छन्। अहिले भने प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट २८ दिनका लागि रोजगारी मिलेको र आफ्नो समुदायका व्यक्तिहरूलाई सीपमूलक तालिमको आवश्यकता परेको स्थानीय मधु बादीले बताए। ‘रोजगारीका केही कार्यक्रम पाइएको छ। व्यावसायिक बन्न थप तालिमसँगै रोजगारी गर्ने बाटो खोजेका छौँ,’ उनले भने। पहिले बुवाआमासँगै खोलामा काम गर्न जाने बालबालिकाहरू पनि अहिले विद्यालय जाने गरेका छन्। उनीहरूलाई विद्यालयले छात्रवृत्तिसँगै सक्दो अन्य सहयोग पनि गर्दै आएको छ।

चुनावमा मात्र सीमान्तकृत समुदायको मुद्दा उठ्ने भए पनि लामो समयदेखि समस्यामा रहेका बादी समुदायलाई बस्ती बनाई हस्तान्तरण गर्नका लागि लुम्बिनी प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे बताउँछन्। ‘विकास निर्माणका हजारौँ योजना र काम सम्पन्न गर्न पहल गरियो। जीवनमै पहिलोपटक सन्धिखर्कका बादी समुदायसहित जनता आवासमार्फत बस्ती बसाई अन्य स्थानमा पनि घर हस्तान्तरण गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ।’

प्रदेशको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत ११ लाख रुपैयाँमा जग्गा खरिद र जनता आवास कार्यक्रमअनुसार ४३ लाख  ६८ हजार रुपैयाँ खर्चेर १३ वटा घर निर्माण भएको हो। निर्माण सम्पन्न भएको बस्तीलाई प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन्।

स्थानीयको सक्रियताले गर्दा खानेपानीको योजना दुई महिनामा नै सम्पन्न हुने चरणमा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख रामभरोस यादवले बताए। ‘उपभोक्ताहरूको इच्छाशक्ति हुने हो भने दुई महिनामा पनि धेरै काम गर्न सकिँदो रहेछ भन्ने उदाहरण नयाँ बस्ती खानेपानी आयोजना बनेको छ।’ सबै पक्षको सहयोगले नमुना बस्ती स्थापना गर्न सकिएको सन्धिखर्क नगरपालिका वडा नं २ का वडाध्यक्ष मोतीजंग रायमाझीले बताए।