पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘विदेशी षड्यन्त्र’ भएको टिप्पणी गरेका छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले यस संकटलाई भारतीय उपमहाद्वीपको इतिहासका दुई पात्र मिर जाफर र मिर सादिकको भूमिकासँग तुलना गरेको बताए।
‘यी मानिसहरूले आफ्ना देशवासीहरूलाई अंग्रेजहरूको दास बनाएका थिए,’ उनले भने। मिर सादिक मैसुरका टिपु सुल्तानका मन्त्री थिए। सन् १७९८–९९ मा भएको चौथो एङ्लोे–मैसुर युद्धमा उनले श्रीराङगापट्टनमको घेराबन्दीमा टिपु सुल्तानलाई धोका दिई बेलायतको विजयका लागि बाटो खोलेका थिए। त्यस्तै, मिर जाफरले बंगालको नवाब सिराज उद–दौलाको अधीनमा बंगाल सेनाको कमान्डरको रूपमा सेवा गरे र प्लासीको युद्धको दौडान उनलाई धोका दिए। यसले भारतमा ब्रिटिस शासनका लागि बाटो खोलिदियो।
प्रधानमन्त्री खानले विपक्षी दलहरूले ‘विदेशी षड्यन्त्र’मार्फत ‘देशलाई तहसनहस पार्ने’ प्रयास गरेको आरोप लगाउँदै भने, ‘विदेशी षड्यन्त्रद्वारा तपाईंहरूले देशलाई कसरी तहसनहस पार्नुभयो भन्ने कुरा सबैले सम्झनेछन्।’ षड्यन्त्रलाई सहज सफल हुन दिइनेछ भन्ने कसैले नसोच भन्दै उनले भने, ‘म तपाईंहरूलाई भन्न चाहन्छु कि म अन्तसम्मै लड्दै छु। मेरो राजनीतिमा आफन्तहरू छैनन्, मसँग उनीहरूका जस्ता विदेशी फ्याक्ट्रीहरू छैनन्। यो देशले यस षड्यन्त्रलाई न त भुल्नेछ न क्षमा दिनेछ।’
उनले विपक्षीहरूलाई लक्षित गर्दै भने, ‘मैले राष्ट्रलाई बर्बाद गरेको यो नाटक उहाँहरूले किन गरिरहेका छन् ? के साढे तीन वर्षमा देश बर्बाद भयो त ? म तपाईंहरूलाई चुनौती दिन्छु कि साढे तीन वर्षमा यो सरकारले अरू कुनै सरकारले नगरेको काम गरेको छैन। यो आइतबार मतपरिणाम कस्तो आउनेछ ? देशले कुन दिशा लिनेछ ?’
‘म आज यहाँ छु किनभने मार्च ७ वा ८ मा हामीले अर्कै देशबाट सन्देश पायौँ। स्वतन्त्र देशका लागि यस्तो सन्देश आफ्नो प्रधानमन्त्रीविरुद्ध मात्र होइन, तर देश आफैँविरुद्ध पनि हाे,’ उनले भने। इमरान खान सरकारविरुद्धको अविश्वास प्रस्ताव राष्ट्रिय सभामा टेबुल हुँदा उनीसँग अहिले कुल एक सय ६१ सदस्य छन्, तर विपक्षमा बहुमत छ भनी विपक्षी दलहरूले दाबी गर्दै आएका छन्।
प्रधानमन्त्री खानविरुद्ध खुला रूपमा पिटिआईका केही सहयोगीहरू खुलेकाले यसको प्रस्ताव पास हुनेमा प्रतिपक्ष विश्वस्त भएका हुन्। मुत्तहिदा काउमी मुभमेन्ट–पाकिस्तान (एमक्युएम–पी)ले खानविरुद्धको अविश्वास प्रस्तावमा विपक्षीहरूसँग मिलेपछि उनको बहुमत गुमेको बताइएको छ। पाकिस्तानको संसद्को तल्लो सदनमा पाकिस्तानी सरकारले आफ्नो बहुमत गुमाएको पाकिस्तानी जियो टिभीले विपक्षी नेताहरूलाई उद्धृत गरी समाचार सम्प्रेषण गरेको छ।
पाकिस्तानी राष्ट्रिय सभाको कुल क्षमता तीन सय ४२ सदस्यीय छ। बहुमतको लागि एक सय ७२ मत आवश्यक पर्छ। पिटिआई नेतृत्वको गठबन्धन एक सय ७९ सदस्यको समर्थनमा गठन भएको थियो। तर, अहिले एमक्युएम–पीले पिटिआईसँगको गठबन्धन छोडेपछि उससँग अब एक सय ६४ सदस्यको समर्थन हुने स्पष्ट देखिएको छ भने विपक्षी दलसँग अहिले राष्ट्रिय सभामा एक सय ७७ जना समर्थक रहेका छन्। रासस/एएनआई