मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Thursday, 19 December, 2024
पर्शुराम काफ्ले नयाँदिल्ली
२o७८ चैत १८ शुक्रबार o६:२o:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री देउवा आज दिल्ली आउँदै

Read Time : > 3 मिनेट
पर्शुराम काफ्ले, नयाँदिल्ली
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार o६:२o:oo

विदेशमन्त्री जयशंकरसँग भेट आज, समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता भोलि, दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र समस्या हल गर्न पहल हुने

प्रधानमन्त्रीका रूपमा देउवाको दिल्ली दौड

  • पहिलो : ०५२ माघ २८ देखि फागुन ५ 
  • दोस्रो  : ०५८ चैत ७ देखि १२
  • तेस्रो   : ०६१ भदौ २३ देखि २७ 
  • चौथो   : ०७४ भदौ ७ देखि ११ 
  • पाँचौँ  : ०७८ चैत १८ देखि २०

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणका क्रममा शुक्रबार दिल्ली आउँदै छन् । उनी भारतीय समयअनुसार अपराह्न २:५० बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । 

प्रधानमन्त्रीका रूपमा देउवाको यो पाँचौँ भारत भ्रमण हो । चार वर्षअघि राजकीय भ्रमणमा आएका देउवाको यसपटक औपचारिक भ्रमण हुँदै छ । प्रधानमन्त्री देउवा ७–११ भदौ ०७४ मा राजकीय भ्रमणमा रहँदा भारत सरकारले राष्ट्रपति भवनमा राखेको थियो । यसपटक प्रधानमन्त्री देउवा र उच्चस्तरीय प्रतिनिधिमण्डललाई भारत सरकारले चाणक्यपुरीस्थित आइसिटी मौर्य होटेलमा राख्ने बन्दोबस्त मिलाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि २०१० मा भारतले सोही होटेलमा राखेको थियो ।

विदेशमन्त्रीले आज भेट्ने, द्विपक्षीय वार्ता भोलि
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार शुक्रबार अपराह्न ४:३० मा विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि साँझ नेपाली राजदूतावासमा नेपालप्रति शुभेच्छा राख्ने भारतीय नेता, बुद्धिजीवीसँग रात्रिभोजसहित प्रधानमन्त्री देउवाको सामूहिक भेटवार्ताको कार्यक्रम तय भएको छ । यहाँ प्रधानमन्त्री देउवाको सम्बोधन पनि हुनेछ । 

शनिबार बिहान भारतीय सेनाको गार्ड अफ अनर लिएपछि देउवा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जाने कार्यक्रम छ । त्यसपछि भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय वार्ता शनिबार ११:१० बजे हैदराबाद हाउसमा हुनेछ । सुरुमा दुवै प्रधानमन्त्रीसहित तीन–तीनजना रहेको रेस्ट्रिक्टेड बैठक हुनेछ । त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्रीसहित दुवै देशका उच्च अधिकारी हुनेछन् । 

द्विपक्षीय औपचारिक वार्तापछि सवा १२ बजे प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुवात गर्ने कार्यक्रम छ । नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका एक सय ३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ । नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदको विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल भइरहेको छ । 

त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । शनिबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति बैंकाय नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार विदेश भ्रमणमा निस्कने भएका कारण कार्यबाहक राष्ट्रपतिका रूपमा उपराष्ट्रपति नायडुसँग प्रधानमन्त्री देउवाको शिष्टाचार भेट तय भएको छ ।

प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे विशेष जहाजबाट बनारस (वाराणसी) पुग्ने कार्यक्रम छ । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । प्रधानमन्त्री देउवाले कासी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन् भने नेपाली धर्मशालाको भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा बनारसबाट अपराह्न ४ बजे दिल्ली आएर स्वदेश फर्किने कार्यक्रम छ । 

भाजपा कार्यालय जाने, कंग्रेस नेता नभेट्ने
प्रधानमन्त्री देउवा शुक्रबार अपराह्न भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गर्ने कार्यक्रम रहेको दिल्लीस्थित दूतावास स्रोतले जनाएको छ । विदेशमन्त्री जयशंकरले शिष्टाचार भेट गरिसकेपछि प्रधानमन्त्री देउवालाई भाजपा मुख्यालय आइटिओमा भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गर्ने कार्यक्रम छ । तर, देउवाले प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेस र अन्य प्रतिपक्षी नेताहरूसँग बेग्लाबेग्लै भेट्ने कार्यक्रम छैन । भाजपा मुख्यालयको भ्रमण र बनारसमा मन्दिर दर्शनसहित मुख्यमन्त्री योगीसँगको भेटवार्तालाई दिल्लीमा चासोपूर्वक हेरिएको छ ।

प्रधानमन्त्री देउवालाई खनाल र श्रेष्ठका सुझावै–सुझाव
तीनदिने भारत भ्रमणमा शुक्रबार दिल्ली जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र पूर्वपरराष्ट्रमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सुझावै–सुझाव दिएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा सत्तागठबन्धनको बैठकमा खनाल र श्रेष्ठले प्रधानमन्त्री देउवालाई राष्ट्रिय हितविपरीतका कुनै पनि सहमति नगर्न भन्दै सुझाव दिएका हुन् । 

‘हामीले भारत भ्रमणका एजेन्डाबारे जानकारी दिन प्रधानमन्त्रीलाई आग्रह गर्‍यौँ, तर उहाँले केही भन्नुभएन । त्यसपछि कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूगोल फिर्ता, महाकालीको धार बदल्ने भारतीय योजना, इपिजी प्रतिवेदन सार्वजनिक र डुबान समस्या समाधानलगायतका विषयमा छलफल गर्नुहोला भनेर सुझाव दिएका छौँ,’ नेता श्रेष्ठले भने । बैठकले भारत भ्रमणको सफलताको शुभकामना दिएको थियो । तीनदिने भ्रमण सकेर प्रधानमन्त्री २० चैतमा फर्कनेछन् ।

छलफलको कार्यसूचीमा कालापानी र लिपुलेक पनि

प्रधानमन्त्री देउवाको भ्रमणमा कनेक्टिभिटी, लगानी, ऊर्जा व्यापार, कोभिड महामारीपछि अर्थतन्त्रको पुनरुत्थान, स्वास्थ्य उपकरण सहयोग, प्रकोप व्यवस्थापनमा सहकार्यलगायत विषय छलफलको कार्यसूचीमा छन । यसबाहेक उनले कालापानी र लिपुलेकको सीमा समस्याका विषयमा समकक्षी मोदीसँग छलफल गर्नेछन् । तर, स्रोतका अनुसार दुई देशबीच प्राविधिक अधिकारीको सहयोग लिएर यस सम्बन्धमा थप छलफल गर्ने जिम्मा परराष्ट्रसचिवहरूलाई दिने तयारी छ । संयुक्त वक्तव्यमा पनि सीमा समस्याको चर्चा हुने, तर लिपुलेक वा कालापानीको नाम उल्लेख नहुने एक कूटनीतिक अधिकारीले बताए ।

प्रधानमन्त्री किन जाँदै छन् बनारस ?

नेपाल–भारत सम्बन्धका जानकार डा. निहार नायक भारतीय प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र तथा तराईसँग सांस्कृतिक रूपमा जोडिएको हिसाबले बनारस भ्रमण गरेर देउवाले नेपाल र भारत दुवैतिर सन्देश दिन खोजेको बताउँछन् । ‘हिन्दू एजेन्डा नेपाली जनताको विषय हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगीजी केवल मुख्यमन्त्री हुन् । नेपालसँगको सम्बन्धमा राजकीय तहमा कर्मचारीतन्त्रले मात्रै निर्णायक प्रभाव पार्न सक्छ, अरूले चाहेर मात्रै हुँदैन,’ नायकले भने । बनारसलाई कांग्रेसका संस्थापक नेता बिपी कोइराला, कृष्णप्रसाद भट्टराईको राजनीतिक कर्मथलो बनाएका थिए । ‘प्रधानमन्त्री देउवाले बनारससँगको पुरानो बिरासतलाई लिएर जान चाहनुभएको छ । कांग्रेसभित्रको शक्ति समीकरणमा पनि यसले प्रभाव पार्छ भन्ने देउवाको विश्वास छ,’ कांग्रेसका एक नेताले भने ।