संघीय सरकारले अलपत्र पार्यो, प्रदेश सरकारले आश्वासन मात्र दियो, तर स्थानीय सरकारले काम पूरा गर्यो
स्थानीय सरकारको लगानीमा मुगु कर्णालीमा बेलिब्रिज निर्माण भएसँगै हुम्ला जिल्ला मुगुसँग सडक सञ्जालमा जोडिएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ३ र १३ मा रहेको इमालमोर भन्ने स्थानमा मुगु-कर्णाली नदीमाथि बेलिब्रिज राखिएपछि तल्लो हुम्ला र मुगु सडक सञ्जालमा जोडिएका हुन् ।
छायाँनाथ रारा नगरपालिकाका वडा नम्बर १ देखि हुम्लाको चंखेली गाउँपालिकाको देगलीसम्म ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (Rap-3) ले सडक बनाए पनि मुगु कर्णाली नदीमा पुल नहुँदा यहाँका स्थानीय सडक बनेर पनि यातायातको सुविधा लिनबाट वञ्चित हुँदै आएका थिए ।
करिब ६ करोडको ठेक्का गरेर मुगु हुम्ला लिंक रोडको मुगु कर्णाली नदीमा पक्की पुल बनाउन ठेक्का लगाए पनि प्राविधिक कारण देखाउँदै ठेकेदार पक्षले पेस्की लिएर लामो समयसम्म पुल नबनाई गुमनाम बसेको थियो । यसैबीच, मुगु कर्णालीपारि रहेका छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ र १४ मा सडक बनेर हुम्लासम्म जोडिए पनि कर्णाली नदीमा पुल नहुँदा सडकको सदुपयोग हुन सकेको थिएन ।
संघ र प्रदेश सरकारको आसमा बस्दा बनेको सडकसमेत जीर्ण हुने अवस्था आएपछि छायाँनाथ रारा नगरपालिकाले ६ करोड तीन लाख २१ हजार एक सय ५७ लागतमध्ये पाँच करोड २० लाख ५५ हजार नाै सय दुई रुपैयाँमा बेलिब्रिज बनाउने गरी ०७७ पुस २९ गते जलप-रविचक्र जेभी भरतपुर– ८ चितवनको निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताबमोजिम निर्माण कार्य सम्पन्न गरी आइतबारबाट विधिवत् रूपमा पुलको उद्घाटन गरिएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले जानकारी गराए । नगर प्रमुख हरिजंग शाहीले विधिवत् रूपमा पुल उद्घाटन गरेसँगै सवारी तथा मालबाहक साधनहर कर्णालीपारिका बस्ती र हुम्लासम्म चल्ने भएका छन् ।
‘संघ सरकार, प्रदेश सरकारले बनाउला भनेर धेरै आस गरेर बस्यौँ । संघले ठेक्का खोलेको नाै वर्ष बितिसक्दा पनि पेस्की लिएको ठेकदार कता छ पत्तो छैन । प्रदेश सरकारले आश्वासन मात्र दियो । हाम्रो नगर हामीले नै बनाउने हो,’ नगर प्रमुख हरिजंग शाहीले भने, ‘माथिको सरकारको भर पर्ने हो भने विकास सम्भव छैन । त्यसैले कार्यपालिकाले नै निर्णय गरेर यो पुल बनाउन पाँच करोडभन्दा बढी खर्च भयो ।’
पुल बनेसँगै छायाँनाथ रारा नगरपालिका– १३ र १४ मा फल्ने स्याउ, सिमी, ओखरलगायतका जडीबुटीले बजार पाउने भएको छ । स्थानीयको आयस्तरसमेत बढ्ने वडा नम्बर १३ का वडाध्यक्ष चक्रबहादुर सावदले बताए ।
कृषकले मात्र होइन, पुल बनेसँगै पर्यटन क्षेत्रको पनि विकास हुने अपेक्षा गरिएको छ । पुल नहुँदा कृषि उत्पादनहरू सदरमुकाम गमगढीमा ल्याउन हिँडेर तीन घन्टा लगाउने कृषक पुल बनेसँगै ३०–३५ मिनेटमा गमगढीसम्म पुग्ने भएका छन् । पुल बनेपछि छायाँनाथ रारा नगरपालिकाका वडा नम्बर १३ र १४ तथा हुम्ला जिल्लाका चंखेली, सर्केगाड, खार्पुनाथ र सिमकोट गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।