मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ चैत १० बिहीबार
  • Wednesday, 02 September, 2026
२o७८ चैत १० बिहीबार १९:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधानले दिएको जिम्मेवारी पूरा गर्न सेना प्रतिबद्ध छ : प्रधानसेनापति शर्मा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १० बिहीबार १९:५७:oo

प्रधानसेनापति प्रभुराम शर्माले संविधानले दिएको दायित्व पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् । कैलालीको तेघरीस्थित सैनिक ब्यारेकमा बिहीबार भूतपूर्व सैनिक सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै सेनापति शर्माले संविधानले दिएको देश र नेपाली जनताको सुरक्षाको जिम्मेवारी पूरा गर्न सेना प्रतिबद्ध रहेको बताएका छन् । नेपाल र नेपाली जनताको हित नै नेपाली सेनाको परमकर्तव्य भएको उनको भनाइ थियो । 
    
सेनाले गर्नुपर्ने काम र जिम्मेवारी संविधान, ऐन, कानुनले निर्दिष्ट गरेको उनले बताए । ‘नेपालको संविधानले सुम्पिएको जिम्मेवारी देशको सुरक्षा, नेपाली जनताको सेवा र सुरक्षा गर्न हामी जागिरमा हौँ, चाहे जागिरमा नहोऔँ काम गर्न प्रतिबद्ध रहेका छौँ भन्ने कुरा स्मरण गर्न/गराउन चाहन्छु ।’ शर्माले भने, ‘हाम्रो जिन्दगीको अन्तिम क्षणसम्म नेपाल आमा र नेपाली जनताको सेवा गर्न कुनै पनि हालतमा छोड्नेछैन भन्ने प्रण गर्न चाहन्छु ।’

देशको सुरक्षा, सार्वभौमिकता, अक्षुणताको रक्षा तथा जनताको सेवा र सुरक्षा संविधानले सेनालाई दिएको प्रमुख जिम्मेवारी रहेको उनले बताए । ‘देशको सुरक्षा, सार्वभौमिकता, जनताको सुरक्षा गर्नुपर्ने प्रमुख कार्य हामीले बिर्सनुहुँदैन ।’ शर्माले भने, ‘त्यसपछिको दोस्रो जिम्मेवारी देश निर्माण, पर्यावरण तथा वनजंगलको सुरक्षा, विपद् व्यवस्थापनलगायत संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना गर्ने कार्यसमेत हामीलाई संविधानले निर्दिष्ट गरेको स्मरण गराउन चाहन्छु ।’ 

नेपाली सेनाको निःस्वार्थ त्याग, योगदान र बलिदानले नै इतिहासमा सेनाको नाम स्वर्णिम अक्षरमा लेखिएको उल्लेख गर्दै उनले भने, ‘त्यसलाई निरन्तरता दिने काम तपाईं हाम्रो हो ।’ सेवामा रहँदा वा नरहँदा आफ्नो कर्तव्य नभुल्न उनले आग्रह गरे । सेनाको विशेषता भन्नु नै कडा अनुशासन र राजनीति निरपेक्ष चरित्र हो ।’ भूतपूर्व सैनिकका रूपमा बाहिर गएपछि पनि अनुशासित चरित्र देखाउन र राजनीतिमा लागे इज्जतका साथ गर्न उनले आग्रह गरे ।

प्रधानसेनापति शर्माले अवकाशप्राप्त सैनिकहरूलाई विदेश जाने सोच त्यागेर नेपालमै परिश्रम गर्नसमेत आग्रह गरेका छन् । नेपालमै भएका अवसरहरूको उपयोग गरेर आर्थिक उन्नति हासिल गर्न सकिने धारणा उनले राखे ।