आसन्न निर्वाचनमा ओलीलाई धुलिसात पार्ने गरी आफूहरूले योजना बनाइरहेको अध्यक्ष नेपालको भनाइ
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले विदेशी शक्तिको आडमा एमाले अध्यक्ष ओली पुकपुक गरिरहेको आरोप लगाएका छन् । आसन्न चुनावमा ओलीलाई धुलिसात पार्ने गरी आफूहरूले योजना बनाइरहेको अध्यक्ष नेपालको भनाइ छ ।
‘हामी सबै मिलेर लड्ने हो भने केपी ओलीको पार्टीलाई धुलिसात गर्न सक्छौँ । त्यो मूल्यांकन गरिरहेका छौँ । ओलीको घमण्डलाई चकनाचुर पार्नुपर्छ भन्ने भावना कांग्रेसभित्र पनि जबर्जस्त छ । तर, उसलाई विदेशी शक्तिहरूको आड छ । विदेशी शक्तिहरूको आडमा केपी ओली पुकपुक गरिरहेका छन्,’ बागमती प्रदेशको दोस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै नेपालले भने ।
अध्यक्ष नेपालले ओलीका अपराधपूर्ण कामको सूची लिएर जनताकहाँ जाने पनि बताए । ‘केपी ओलीका अपराध धेरै छन् । जति अपराध छन्, त्यसको सूची तयार गरेर जनताको माझमा लैजानुपर्छ,’ नेपालले भने, ‘भ्रष्टाचारसँग जोडिएका, राष्ट्रघातसँग जोडिएका, जनविरोधी कामसँग जोडिएका, अनुचित कामसँग जोडिएका, कम्युनिस्टको आचरणसँग मेल नखाने र आदर्शसँग मेल नखाने विषयको सूची नै तयार पार्नुपर्छ । ओली झुटो बोल्न माहिर छन् । उनले जे पनि भनिदिन सक्छन् ।’
नेपालले एमाले अध्यक्ष ओलीले एमसिसी परियोजनामार्फत नेपाललाई इन्डो–प्यासिफिकको अंग बनाउन खोजेको आरोप पनि लगाए । आफूले त्यसको विरोध गरेपछि अहिले अमेरिकाले इन्डो–प्यासिफिकको अंग बन्ने कुरा हटाएको उनको दाबी छ । ओली दक्षिणपन्थी अवसरवादी भासमा फसेको नेपाल बताउँछन् । ‘उनको सिंगो विचारमा गम्भीर दक्षिणपन्थी विचलन देखा परेको छ । उनको विचारमा क्रान्तिकारिता छैन । क्रान्तिकारी धार र ओज छैन । सिद्धान्तप्रति निष्ठा र समर्पण छैन । त्यसकारण दक्षिणपन्थी शक्तिहरूको साँठगाँठमा उनको प्रवृत्ति देखा पर्छ,’ उनले भने ।
नेपालले अरूको सहारामा चुनाव नजितिने बताएका छन् । उनले आफू बलियो हुँदा मात्र अरूसँँग तालमेलको अर्थ रहने बताए । ‘आफ्नो शक्ति बलियो भयो भने मात्र अरूसँग तालमेलको अर्थ रहन्छ । अरूको सहारामा चुनाव जित्ने कुरा नसोच्नुस्,’ उनले भने, ‘हाम्रो आफ्नै शक्तिको जगमा उभिने र अरूको सहयोग पनि लिएर जित्ने सोच्न सकिन्छ । आफ्नो स्थिति कमजोर छ भने अनावश्यक रूपमा दावा गर्ने काम गर्नुहुँदैन ।’
अध्यक्ष नेपालले उम्मेदवार बन्नका लागि लोकप्रिय व्यक्ति चाहिनेसमेत बताए । उम्मेदवारका लागि जनतामा राम्रो व्यक्तित्व बनाएको, पार्टी कमिटीको मातहतमा बसेको, पार्टीप्रति निष्ठावान् भएको, पार्टीका नीतिहरू अवलम्बन गरेर अघि बढ्ने मान्छे चाहिने उनको भनाइ थियो ।