नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ। बुधबार बिहान भएको टेलिफोन संवादमा भ्रातृ संस्थाको तदर्थ समिति गठनमा भएको ढिलाइ, चुनावी गठबन्धन र संसदीय समिति बनाएर उम्मेदवार चयनबारे छलफल भएको हो।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार कोइरालाले सभापति देउवालाई टेलिफोन सम्पर्क गरी भ्रातृ संस्थाको तदर्थ समिति गठनमा भएको ढिलाइ र समसामयिक विषयमा छलफल गरेको नयाँ पत्रिकालाई जानकारी दिए।
‘उहाँहरूबीच आवश्यकताअनुसार टेलिफोन सम्पर्क पनि हुने गरेको छ। आज उहाँले सभापतिज्यूलाई सम्पर्क गरेर भ्रातृ संस्था, संसदीय समिति गठनलगायतका विषयमा छलफल गर्नुभएको हो,’ थपलियाले नयाँ पत्रिकासँग भने।
संवादका क्रममा कोइरालाले सबैलाई समेटेर लगे आफू साथ दिन तयार रहेको बताएका थिए। जवाफका देउवाले सबैलाई समेटेर लैजान आफू तयार भएको बताएको थपलियाले जानकारी दिए।
*यसअघि तस्बिर फरक परेकोले सच्याइएको छ।