मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जिल्ला अस्पताल गुल्मीमा उपचार गराउन आएका बिरामी । तस्बिर : नयाँ पत्रिका
२०७८ चैत ९ बुधबार ०९:२५:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

गुल्मीका स्वास्थ्य संस्था करार जनशक्तिको भरमा : जिल्ला अस्पतालसहित चार स्वास्थ्य केन्द्रमा अधिकांश स्थायी दरबन्दी खाली

Read Time : > 2 मिनेट
२०७८ चैत ९ बुधबार ०९:२५:००

- ५९ स्थायी दरबन्दी रहेको गुल्मी अस्पतालमा १७ जना कार्यरत, १० विशेषज्ञ डाक्टरले दिनुपर्ने सेवा वर्षौँदेखि एक चिकित्सकको भरमा

- लामो समयदेखि स्थायी दरबन्दी खाली रहँदा सेवाग्राही मर्कामा, करारमा स्वास्थ्यकर्मी भर्ना गरेर भए पनि सेवा नियमित गराउने स्थानीय तहको प्रयास

गुल्मी अस्पताल र जिल्लाका अन्य चार प्राथमिक स्वास्थ्य केन्द्र करार जनशक्तिको भरमा चलेको छ । दरबन्दीअनुसारको जनशक्ति नपाएपछि स्वास्थ्य संस्थाहरू करारको भरमा चलेका हुन् । जनशक्तिको अभावले उपचार सेवा प्रभावित हुँदै आएको छ । 

गुल्मी अस्पतालमा ५९ स्थायी दरबन्दी छ । तर, अहिले १७ जना मात्र कार्यरत छन् । अस्पतालमा दशजना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि लामो समयदेखि नौ दरबन्दी खाली छ । विशेषज्ञ चिकित्सकको रूपमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्या मात्रै कार्यरत छन् ।

पछिल्लो समय छात्रवृत्ति करारमा एकजना विशेषज्ञ थपिएका छन् । जिल्ला अस्पतालमा चार स्थायी मेडिकल अधिकृतको दरबन्दी छ । तर, एकजना पनि मेडिकल अधिकृत कार्यरत छैनन् । सो स्थानमा छात्रवृत्ति करारका अन्य चारजनाले काम गरिरहेका छन् । एक स्थायी नर्सिङ अधिकृतको दरबन्दी पनि खाली छ । त्यहाँ करारबाट पदपूर्ति गरिएको छ ।

आठ स्टाफ नर्सको दरबन्दी रहे पनि एकजना मात्रै कार्यरत छन् । सो दरबन्दीमा रहेका दुईजना अध्ययन बिदामा छन् । बाँकी पदमा करार पदपूर्ति गरिएको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले बताए । चार ल्याब टेक्निसियनको  दरबन्दी रहेकामा अहिले दुईजना मात्र स्थायी छन् । अन्य दुई करारमा भर्ना गरेर काम चलाइएको छ ।

यस्तै, फार्मेसी सुपरभाइजरमा एकजनाको दरबन्दी छ । तर, दरबन्दीका फार्मेसी सुपरभाइजर पनि अध्ययन बिदामा गएका छन् । त्यसैले अस्पताल विकास समितिबाट सातजना करारमा भर्ना गरेर काम चलाइएको छ । 

स्वास्थ्यकर्मी खोज्दै गाउँपालिकाहरू

प्राथमिक स्वास्थ्य केन्द्रहरूमा स्थायी मेडिकल अधिकृतदेखि अधिकांश पदमा जनशक्ति नभएपछि गाउँपालिकाहरूले करारमा भर्ना गरेर पदपूर्ति गरिरहेको छ । स्थानीय तहभन्दा पहिले अहेव टिकाउन मुस्किल पर्ने स्वास्थ्य संस्थाहरूमा अहिले स्थानीय तहले करार पदपूर्ति गरेर भए पनि सेवा अवरुद्ध हुन दिएका छैनन् । त्योसँगै स्वास्थ्य सामग्रीहरूको उपलब्धतामा पनि स्थानीय तहले जोड दिएका छन् । 

बर्थिङ सेन्टर, सामुदायिक स्वास्थ्य एकाइ स्थापनासहित एक्सरे, ल्याब र एम्बुलेन्स सेवा विस्तारलगायतका काममा स्थानीय तहहरूले प्रभावकारी देखिएका छन् । इस्मा, चन्द्रकोट र छत्रकोट गाउँपालिकाले अहिले पनि करारमा मेडिकल अधिकृत पदपूर्ति गरेर सेवा प्रवाह गरेका छन् ।

इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले कोभिड अस्पतालका लागि आएका डाक्टरलाई गाउँपालिकाले पारिश्रमिक दिने गरेर भर्ना गरेको बताइन् । अहिले कोभिड अस्पताल र स्वास्थ्यचौकीमार्फत डाक्टरले सयौँ इस्मालीलाई स्वास्थ्य उपचार गरिरहेको खत्रीले बताइन् । 

धुर्कोट, रुरु, जुहाङ र शृङा प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याब, भिडियो एक्सरेलगायतका सेवा सञ्चालनमा छन् । स्थानीय तहहरूले स्वास्थ्य सेवा विस्तारसँगै स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइहरूमा जनशक्ति, औषधि र उपकरणहरूमा महत्वपूर्ण काम गरेको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले बताए ।

चार प्राथमिक केन्द्रमै छैनन् स्थायी मेडिकल अधिकृत

जिल्लामा रुरु, शृङा, धुर्कोट र जुहाङ गरेर चार प्राथमिक स्वास्थ्य केन्द्र छन् । तर, चारवटै प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी दरबन्दीका चिकित्सक छैनन् । जुहाङ प्राथमिक स्वास्थ्य केन्द्रको स्थायी दरबन्दीमा डा. शिला ढकाल कार्यरत थिइन् । उनी अध्ययन बिदामा बसेपछि करिब एक वर्षदेखि स्थायी डाक्टर छैनन् । छात्रवृत्ति करारका एकजना डाक्टर थिए । उनी पनि अध्ययन बिदामै गएका छन् । स्थायी दरबन्दीका हेल्थ असिस्टेन्ट ललित राना दुई वर्षदेखि अध्ययन बिदामा छन् । स्थायी दरबन्दीकै स्टाफ नर्ससमेत छैनन् । 

धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी मेडिकल अधिकृत छैनन् । दुईजना छात्रवृत्ति करारका मेडिकल अधिकृत कार्यरत छन् । स्थायी दरबन्दीअनुसारका हेल्थ असिस्टेन्ट र स्टाफ नर्स छैनन् । ती पदमा गाउँपालिकाले करारमा भर्ना गरेको केन्द्रका मेडिकल अधिकृत डा. जनक पाठकले जानकारी दिए । त्यस्तै, तीनजना अनमीमध्ये दुई करारमा छन् । त्यस्तै, रुरु प्राथमिक केन्द्रमा स्थायी मेडिकल अधिकृत छैनन् । केन्द्रमा मेडिकल अधिकृतको रूपमा छात्रवृत्ति करारका डा. विकास पन्थी कार्यरत छन् । स्थायी दरबन्दीका हेल्थ असिस्टेन्ट पनि छैनन् । त्यस्तै, स्थायी ल्याब टेक्निसियन पनि छैनन् । 

शृङा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि स्थायी मेडिकल अधिकृत छैनन् । छत्रकोट गाउँपालिकाले करारमा मेडिकल अधिकृत कौशलकुमार मण्डललाई भर्ना गरेको छ । हेल्थ असिस्टेन्ट करारमा छन् । स्टाफ नर्स अध्ययन बिदामा छन् । ल्याब टेक्निसियन करारमा गाउँपालिकाले भर्ना गरेको छ । अहेव र अनमी स्थायी दरबन्दीअनुसारकै कार्यरत छन् ।