‘सेभ सोइल’ अभियानअन्तर्गत बेलायतमा रहेका जग्गी वासुदेव सद्गुरुको सम्मानमा बेलायतको संसद् भवनमा एक कार्यक्रम भएको छ। सद्गुरुको सम्मानमा बेलायतको संसद् भवनमा भएको उक्त रात्रिभोजसहितको कार्यक्रमको नेपाली व्यवसायी रवीन्द्रजंग लामिछाने ‘रवि’ ले प्रायोजन गरेका थिए।
कार्यक्रमलाई संयुक्त राष्ट्र संघको महिला राष्ट्रिय समितिकी अध्यक्ष, अन्तर्राष्ट्रिय विकासको पूर्वउपसचिव बरोनेस बर्माले आयोजना गरेकी थिइन्। लामिछाने युके नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट फोरमका उपाध्यक्षसमेत हुन्।
सद्गुरुद्वारा सुरु गरिएको ‘माटो बचाउ’ अभियानलाई सहयोग र समर्थन गर्न पाउँदा आफूलाई खुसी लागेको लामिछानेले बताए। ‘दिनानुदिन बिग्रँदै गएको माटोलाई जोगाएर मानवलगायत जीवजन्तुको जीवन बचाउन सहयोग गर्नु हामी सबै मानव जातिको कर्तव्य हो,’ उनले भने, ‘यो अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको छ।’
कार्यक्रममा सद्गुरुले माटोको अवस्था बिग्रँदै गएको बताउँदै यसको संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व भएको बताएका थिए। उनले माटो जोगाउन विश्वव्यापी ऐक्यबद्धता जुटाउन आफूले १ सय दिने मोटरसाइकल यात्रा गर्न लागेको बताएका थिए।
कार्यक्रममा बेलायतको दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदको पनि उपस्थिति थियो। कार्यक्रममा बेलायत, भारत, नेपाललगायतका कूटनीतिज्ञ, सुरक्षा अधिकारी, नीति निर्माता तथा पत्रकारको सहभागिता थियो।
लामिछानेले प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणका क्रममा समेत उनको सम्मानमा कार्यक्रम आयोजना गरेका थिए। उनले नेपालमा पनि विभिन्न परोपकारी कामहरू गर्दै आइरहेका छन्। भूकम्पको समयमा उनले १ करोड बढीको सहायता सरकारलाई प्रदान गरेका थिए भने कोरोना महामारीको समयमा समेत १५ लाख प्रदान गरेका थिए।