जग्गी वासुदेव सद्गुरुको ‘सेभ सोइल’ अभियानअन्तर्गतको १ सय दिने मोटरसाइकल यात्रा सुरु भएको छ। सोमबार लन्डनको ट्रफालगर स्क्वायरबाट यात्रा प्रारम्भ भएको हो। तत्काल माटोको विनाश रोक्ने र अहिलेको स्थितिलाई उल्टाउने उद्देश्यसहित सद्गुरुले माटो जोगाउनको लागि जागरुक धर्ती अभियान सुरु गरेका हुन्।
३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रामा उनले युके, युरोप, मध्य–पूर्वका राष्ट्रहरू र भारत गरी २७ राष्ट्रहरू भ्रमण गर्नेछन्। यस अवधिमा उनले विश्वका नेताहरू, नेतृत्वकर्ताहरू, मिडिया साथै विश्वभरिका विज्ञहरूसँग अन्तर्क्रिया गरी माटो जोगाउनको लागि तत्काल ठोस कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिनेछन्।
मरुभूमिकरण सामना गर्न गठित संयुक्त राष्ट्रसंघको सम्मेलनका अनुसार सन् २०५० सम्म पृथ्वीको ९०% माटो गुणस्तरहीन भई विश्वभरि खाद्य संकट, पानीको अभाव, खडेरी र भोकमरी, विषम जलवायु परिवर्तन, विशालस्तरमा स्थानान्तरण र अकल्पनीय दरमा प्रजातिहरू सखाप हुनेजस्ता विपत्तिहरू निम्तिनेछन्।
गत हप्ता, ६ वटा क्यारिबियन राष्ट्रहरूले माटो जोगाऔँ अभियानको लागि प्रतिबद्धता जनाउँदै, जागरुक धरतीसँग सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए।