मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ८ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ८ मंगलबार o७:२३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२६ सयको मनोवैज्ञानिक बिन्दु परीक्षण गर्दै नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ८ मंगलबार o७:२३:oo

नेप्से सूचक दुई हजार ६ सयको मनोवैज्ञानिक बिन्दुबाट उकालो लागेको छ । पछिल्लो ६ दिनदेखि नेप्सेले दुई हजार ६ सयआसपासमा टेवा परीक्षण गरिरहेको थियो । लामो समय एकै बिन्दुआसपास भएमा लगानीकर्ताले यसलाई मनोवैज्ञानिक आधार बिन्दु मानिरहेको विश्लेषण गरिन्छ ।  साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचक यो बिन्दुमा टेवा पाएर १८ दशमलव शून्य ७ अंकले बढेको छ । नेप्से बढेर दुई हजार ६ सय ३४ दशमलव ६५ बिन्दुमा पुुगेको हो । 

कारोबार सुरु भएदेखि नै बजार उच्च उतारचढावमा देखिएको हो । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनको माहोलले पनि बजार सकारात्मक हुँदै गएको र अर्थमन्त्रीबाट पनि बजारबारे सकारात्मक प्रतिक्रिया आइरहेकाले आगामी बजार सकारात्मक हुने लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । ‘करेक्सन सकिएकोे, बैंक ब्याजदर पनि थप नबढेको र चुनावी माहोल बढेकाले आगामी दिन बजार सकारात्मक हुने देखिन्छ,’ रौनियारले भने । 

यस दिन एक सय ५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । इमर्जिङ नेपालको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल, कर्णाली डेभलपमेन्ट बैंक, युनियन हाइड्रोको सेयर ५ प्रतिशतदेखि ७ प्रतिशतमाथिले बढेको छ ।

कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये ११ वटा समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह, जलविद्युत् समूह, फाइनान्स समूहका सूचक बढेका छन् । जीवन बिमा समूह र लगानीगत समूहका सूचक सामान्य बढेका छन् भने होटेल तथा पर्यटन समूह र ‘अन्य’ समूहका सूचक सामान्य घट्न पुगेका छन् ।

नेपाल दूरसञ्चार कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै करिब ३ प्रतिशतले घटेको छ । कम्पनीले लाभांश प्रस्ताव गरेदेखि नै सेयर मूल्य भने लगातार घटिरहेको छ । १ चैतमा लाभांश प्रस्ताव गर्नुअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार सात सय १४ रुपैयाँ रहेकोमा ६ दिनमै दुई सय चार रुपैयाँले घटेको छ । सोमबार भने कम्पनीको सेयर मूल्य ४६ रुपैयाँले घटेको हो । मूल्य निरन्तर घटेसँगै यस कम्पनीको सेयर खरिद–बिक्री भने बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार यही कम्पनीको २० करोड रुपैयाँमाथिको भएको छ ।

त्यस्तै, दोस्रो ठूलो कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको नौ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था र अपि पावर कम्पनीको सेयर कारोबार पनि बढी रहेको छ ।  पहिलोपटक लाभांश घोषणा गरेको जीवन विकास लघुवित्तले उच्चदरमा प्रतिफल दिएको छ । कम्पनीले ७३ प्रतिशत लाभांश प्रस्ताव गरेसँगै संस्थाको सेयर कारोबार बढी रहेको हो । अपि पावर कम्पनीले १० बराबर ३ दशमलव ९३ अनुपातमा हकप्रद निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अनुमति पाएसँगै लगानीकर्ताको आकर्षण देखिँदै आएको छ ।