काठमाडौं महानगरपालिकाले स्वयम्भूस्थित आनन्दकुटी बिहारमा बुद्धको मूर्ति अनावरण गरेको छ। ०७२ को भूकम्पले क्षति पुर्याएपछि विहारको पुनर्निर्माणका क्रममा महानगरले आज शाक्यमुनि बुद्धको सात फिट अग्लो मूर्ति प्रतिस्थापन गरेको हो।
मूर्ति अनावरणपछि बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले बुद्ध जन्मेको देशमा बुद्धसँग सम्बन्धित काम गर्न राज्यको तर्फबाट महानगरले लगानी गरिरहेको बताए। ‘नेपालमा विहार बनाउन अरू देशले लगानी गरेका छन्। त्योभन्दा धेरै लगानी हामी आफैँले गनुपर्छ,’ मेयर शाक्यले भने, ‘सरकारी पैसा खर्च गर्न कानुनले तोकेका प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्छ। यसको परिधिमा बसेर हामीले बुद्ध दर्शन प्रवर्द्धनका लागि लगानी गरिरहेका छौँ।’
कार्यक्रममा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले विश्व सम्पदा क्षेत्रमा रहेको स्वयम्भू क्षेत्रमा महानगरले निर्माण गरेको बुद्ध मूर्तिका कारण महानगरको गौरव अझ बढेको बताए। ‘पहिले सानो मूर्ति थियो। हामीले यसलाई ठूलोबाट प्रतिस्थापन गरेका हौँ,’ उनले भने। आनन्दकुटी विहार वि.सं. १९९९ मा धम्मालोक महास्थवीरले नेपालमा बुद्ध शासनलाई पुनर्जागरण गराउन स्थापना गरेका थिए।