१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ४ शुक्रबार
  • Saturday, 28 September, 2024
किरण दहाल काठमाडाैं
२o७८ चैत ४ शुक्रबार o७:४o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनावी रणनीति बनाउन एकीकृत समाजवादीले खटायो सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि

Read Time : > 1 मिनेट
किरण दहाल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत ४ शुक्रबार o७:४o:oo

चुनावी नारा : जनतामा जाऊँ, एकीकृत समाजवादीलाई जिताऊँ 

टोलीमा प्रदेश–१ मा उपाध्यक्ष प्रमेश हमाल, मधेसमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकीमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उपमहासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल, सुदूरपश्चिममा सचिवालय सदस्य रामचन्द्र झा

आगामी ३० वैशाखमा एकै चरणमा हुन लागेको स्थानीय चुनावको अन्तिम रणनीति बनाउन एकीकृत समाजवादीले सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ । स्थानीय चुनावमा केन्द्रित भएको एकीकृत समाजवादीले पार्टीको अवस्था र सम्भावित समीकरणसहित चुनावी रणनीतिका लागि आवश्यक विषयमा अध्ययन गर्न केन्द्रीय प्रतिनिधि पठाउने निर्णय लिएको हो । 

बिहीबार बसेको सचिवालय बैठकले हरेक प्रदेशमा पठाउने पार्टी पदाधिकारीको नाम तय गरेको छ । टोलीमा प्रदेश–१ मा उपाध्यक्ष प्रमेश हमाल, मधेसमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकीमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उपमहासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल, सुदूरपश्चिममा सचिवालय सदस्य रामचन्द्र झा केन्द्रीय प्रतिनिधिका रूपमा जानेछन् । 

टोलीलाई प्रदेशमा रहेका केन्द्रीय सदस्यले आवश्यक सहयोग गर्नेछन् । टोलीले प्रदेशमा आवश्यक निर्देशन पनि दिनेछ । यसअघि गत २६ फागुनमा सकिएको केन्द्रीय कमिटी बैठकले हरेक वडासम्म केन्द्रीय सदस्य पठाउनेलगायतका चुनावी कार्ययोजना बनाएको थियो । एकीकृत समाजवादीमा अहिले ३३५ केन्द्रीय सदस्य छन् । 

केन्द्रीय कमिटी बैठकले स्थानीय तहको चुनावका लागि पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको एक सातापछि एकीकृत समाजवादीले जिल्ला–जिल्लाकै वस्तुगत अवस्था बुझ्न केन्द्रीय प्रतिनिधिका रूपमा पदाधिकारी पठाउने निर्णय लिएको हो । 

प्रवक्ता तथा उपमहासचिव खतिवडाले टोलीले सबै प्रदेशमा पुगेर पार्टीको अवस्थाबारे रिपोर्ट ल्याउने र त्यसैका आधारमा थप रणनीति बनाइने बताए । केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यलाई वडा तहसम्म खटाउने तथा घोषणापत्र बनाएर पार्टीका नीति एवं कार्यक्रम जनताकहाँ पुर्‍याउनेलगायतका कार्ययोजना बनाएको थियो । 

बिहीबार बसेको सचिवालय बैठकले स्थानीय चुनावका लागि नारा पनि तय गरेको छ । ‘जनतामा जाऊँ, एकीकृत समाजवादीलाई जिताऊँ’ भन्ने नाराका साथ चुनावमा जाने प्रवक्ता खतिवडाले बताए । संगठन निर्माण, सदस्यता वितरण र चुनाव प्रचार एकसाथ अघि बढाउने उनको भनाइ छ । 

चुनावमा उम्मेदवारको मापदण्डबारे भने निर्णय भइनसकेको उनले बताए । ‘चुनावमा टिकट दिने विषयमा हामीले मापदण्ड बनाइरहेका छौँ । महानगर र उपमहानगरमा केन्द्रले सबैभन्दा बढी ध्यान दिनेछ । पालिकाका लागि प्रदेश र जिल्लाहरूले बढी ध्यान दिनेछन् । यसलाई अन्तिम स्वरूप दिइसकेको छैन,’ उनले भने ।

गठबन्धनका विषयमा आफूहरू खुला रहेको खतिवडाले बताए । ‘गठबन्धनका विषयमा हामी खुला छौँ । आउनुस्, गठबन्धन गरेर अगाडि बढौँ । यो नेपालको अहिलेको आवश्यकता हो भनेका छौँ । अन्य राजनीतिक दलले पनि आफ्नो केन्द्रीय कमिटीबाट निर्णय गरिरहेका छन्,’ उनले भने, ‘माओवादी र जसपाले आफ्नो केन्द्रीय कमिटीबाट निर्णय गरेको छ । कांग्रेसले निर्णय गरेको सुनिएको छैन । चाँडै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर उसले निर्णय गरेपछि अरू प्रक्रिया अघि बढ्नेछन् ।’ केन्द्रीय कमिटी बैठकले गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ । 

जगन्नाथ खतिवडा, उपमहासचिव

केन्द्रीय प्रतिनिधिको टोलीले प्रत्येक गाउँपालिका, महानगर, उपमहानगर, नगर र वडा सबैको रिपोर्टिङ लिन्छ । हाम्रो परिस्थिति, संगठनको अवस्था, गर्न चाहेको काम र उद्देश्य पूरा हुने–नहुने अवस्थाबारे बुझ्नेछ । आजसम्म भएका र नभएका कामको पूरा सूचना प्राप्त हुने गरी अनुगमन गर्न, त्यहाँको काम प्रभावकारी बनाउन प्रदेश इन्चार्ज, अध्यक्ष र त्यहाँका पदाधिकारीलाई सहायता पुर्‍याउन र केन्द्रबाट निर्देशित गर्न अनुगमन टोली बनाइएको हो ।