१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ३० सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका विराटनगर
२o७८ फाल्गुण ३० सोमबार o८:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

स्थानीय निर्वाचन माओवादीका लागि जीवनमरणको सवाल : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७८ फाल्गुण ३० सोमबार o८:३८:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनलाई जनयुद्धजस्तै ‘ब्याटल’ मानेर आक्रामक रूपले प्रचारप्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार विराटनगरमा आयोजित प्रदेश १ स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले अरूका लागि चुनावको जितहार सामान्य भए पनि माओवादीका लागि भने जीवनमरणको सवाल भएकाले जनयुद्धकै जस्तो ब्याटल मानेर खटिन कार्यकर्तालाई निर्देशन दिए ।

‘जनयुद्धकै जस्तो कमान्ड सिस्टम बनाएर जनतामाझ जानुहोस् । संघीयता र गाउँगाउँमा गणतन्त्र हाम्रै कारणले आएको हो भनेर बुझाउनुहोस् । बीचमा केही त्रुटि भएकै हो, तर समाजवादी यात्राको कोर्सबाट हामी भागेका छैनौँ भनेर माफी माग्नुहोस् भनेर जनजनलाई बुझाएर जित सुनिश्चित गराउनुहोस्,’ प्रचण्डले भने ।अन्तर्राष्ट्रिय गिरोहको योजनामा नेपालमा पनि अमेरिका र बेलायतको जस्तो दुईवटा मात्र पार्टी बनाउने चलखेल भइरहेको दाबी गर्दै उनले चुनावमा जित हासिल गर्न नसकेमा लोकतन्त्र हार्ने र प्रतिगमनकारीहरूको जित हुने बताए । ‘हामीले चुनाव हारे लोकतन्त्र पनि हार्छ, यसैले चुनावी लडाइँ जित्नैपर्ने बाध्यता छ,’ उनले भने । प्रचण्डले पार्टी र कार्यकर्ता रक्षात्मक हुँदा सबै उपलब्धि आफूहरूले ल्याए पनि जस नपाएको बताए । 

 एमालेसँग तालमेल हुँदैन 
प्रचण्डले आगामी निर्वाचनमा माओवादी आफ्नो जित सुनिश्चित गराउने कुरालाई प्राथमिकता दिएर चुनावी प्रतिस्पर्धा गर्ने, तर स्थानीय मुद्दा लेनदेनको आवश्यकताका आधारमा गठबन्धनभित्रका दलहरूसँग साझेदारी गर्न सक्ने जानकारी गराए । तर, उनले एमालेसँग अहंकार र घमण्डबाहेक अरू केही नभएकाले आगामी निर्वाचनमा गठबन्धन हुन नसक्ने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको सोच गठबन्धनप्रति सकारात्मक रहेको, तर केही व्यक्तिले आफ्नो पार्टीभित्र आफूलाई सुरक्षित गर्न मात्र कांग्रेसले कसैसँग गठबन्धन गर्नुहुँदैन भनिरहेको प्रचण्डले बताए । ‘कांग्रेस नेतृत्वको सोच सकारात्मक छ । तर, पार्टीभित्र असुरक्षित होइन्छ कि भन्ने भयले मात्र गठबन्धनको विरोध गरिरहेका छन्,’ उनले भने ।

 निर्वाचन परिवर्तनकारी र प्रतिगमनकारीबीचको राजनीतिक प्रतिस्पर्धा 
प्रचण्डले आगामी निर्वाचन परिवर्तन संस्थागत गर्ने र परिवर्तन उल्टाउन खोज्नेहरूबीचको राजनीतिक प्रतिस्पर्धाको रूप हुने बताएका छन् । आइतबार विराटनगरमा प्रेस सेन्टर प्रदेश १ समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले अझै पनि जनताले लेखेको संविधानलाई मासेर र उलब्धिलाई उल्टाउने शक्तिहरू सक्रिय भइरहेकाले आगामी निर्वाचन परिवर्तनकारी र प्रतिगमनकारीहरूबीचको राजनीतिक प्रतिस्पर्धाको रूप हुने बताए । 

 पार्टीभित्र एमसिसी फेल भए अध्यक्ष पदबाट राजीनामा 
प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणासहितको एमसिसी पार्टीभित्र फेल भएमा आफूले अध्यक्ष पदबाट राजीनामा दिने पनि घोषणा गरे । २० जेठपछि एमसिसीबारे पार्टीभित्र अन्य विभिन्न फोरममा चर्चा परिचर्चा गर्ने र पार्टीभित्रै एमसिसी फेल भएमा अध्यक्ष पदबाट राजीनामा दिने बताएका हुन् । उनले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गरेर देशलाई ठूलो दुर्घटनामा जानबाट जोगाएको दाबी गरे । प्रचण्डले एमसिसी घोषणाअनुसार कार्यान्वयन नभएमा त्यसैलाई आन्दोलनको विषय बनाउने बताए । उनले पार्टीले एमसिसी पारित गरेर राष्ट्रघात ग¥यो भन्दै राजीनामा दिनेहरू एमालेमा प्रवेश गरेको देख्दा आफूलाई विचित्र लागेको बताए ।

 गिरिजाप्रसादलाई राष्ट्रपति नबनाउनु गल्ती 
प्रचण्डले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई देशको पहिलो राष्ट्रपति नबनाएर आफूले ठूलो गल्ती गरेको बताए । उनले शान्ति प्रक्रियामा हस्ताक्षर गरेर आफूहरूलाई खुला राजनीतिमा ल्याउने गिरिजाप्रसादलाई राष्ट्रपति दिएको भए रुक्मांगद कटवाल प्रकरणमा आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था नआउने र पहिलो सरकार पूरै कार्यकाल चल्न पाउँदा लोकतान्त्रिक गणतन्त्र र संघीता चाँडै दिगो रूपले संस्थागत हुन सक्ने बताए । ‘ती बुढा मान्छेले मागेअनुसार राष्ट्रपति नदिँदा हामीले धेरै क्षति भोग्यौँ,’ उनले भने ।

ad
ad
ad
ad