मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २९ आइतबार
  • Wednesday, 18 December, 2024
संखुवासभा भोटखोला गाउँपालिका– ४ की बिममाया तामाङ
नवीन गुरुङ संखुवासभा
२o७८ फाल्गुण २९ आइतबार o६:१२:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वडाध्यक्षसहित तीनजनाले किर्ते गरी हत्याए  ७५ वर्षीया वृद्धाको २७ रोपनी जग्गा

Read Time : > 3 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७८ फाल्गुण २९ आइतबार o६:१२:oo

संखुवासभा भोटखोलाकी बिममाया तामाङलाई वृद्धभत्ता कार्ड बनाइदिने भन्दै मालपोत पुर्‍याएर उनको जग्गा वडाध्यक्ष किङसाङ भोटेले निकटस्थ कल्पना भोटे, नासु महेन्द्र पराजुलीले श्रीमती कविता र बिममायाका भदा पर्ने सुरेन्द्रले श्रीमती ङिमा लाजुङ भोटेको नाममा पास गराए

संखुवासभामा ७५ वर्षीयालाई वृद्धभत्ताका लागि कार्ड बनाइदिने आश्वासनमा झुक्याएर मालपोत पुर्‍याई करोडौँको २७ रोपनी जग्गा वडाध्यक्षसहित तीनजनाले हत्याएका छन् । भोटखोला गाउँपालिका– ४ सिप्रङकी बिममाया तामाङको जग्गा किर्ते गरी वडाध्यक्ष किङसाङ भोटे, खाँदबारी मालपोत कार्यालयका नायब सुब्बा महेन्द्रकुमार पराजुली र बिममायाका भदा पर्ने सुरेन्द्र तामाङले परिवार तथा आफन्तको नाममा पास गराएका हुन् ।

 संखुवासभाका डिएसपी लालध्वज सुवेदी भन्छन्–
गाउँकी सोझी निरक्षर वृद्धा, त्यसमाथि आँखा कम देख्ने र कान पनि कम सुन्ने बिममाया तामाङलाई वृद्धभत्ताका लागि कार्ड बनाउनुपर्छ भनेर भदा पर्ने सुरेन्द्र तामाङले खाँदबारी मालपोत कार्यालय लगेको भेटियो । वडाध्यक्ष, मालपोतका कर्मचारीलगायतको मिलेमतोमा जग्गा नै हत्याएछन् । यसमा भूमाफियाको गिरोह नै लागेको अनुमान गरेका छौँ, अनुसन्धान जारी छ ।

वडाध्यक्ष किङसाङले निकटस्थ कल्पना भोटे, नासु महेन्द्रकुमारले श्रीमती कविता पराजुली र सुरेन्द्रले पनि श्रीमती ङिमा लाजुङ भोटेको नाममा पास गराएको खुलेको छ । सुरुमा २ फागुनमा जग्गा पास गर्दा नासु महेन्द्रले खाँदबारीस्थित आफ्नै घरमा बस्ने पासाङ शेर्पाको नाममा राखेका थिए । तर, दुई सातापछि १६ फागुनमा पासाङबाट श्रीमती कविताको नाममा सारेका थिए । 

बिममायाको उक्त जग्गा निर्माणको चरणमा रहेको १,०६८ मेगावाटको अपर अरुण जलविद्युत् आयोजनास्थलमा पर्छ । सर्भे भइसकेको उक्त जग्गाको मुआब्जा खाने लोभमा हत्याएको देखिन्छ । उनीहरूले बिममायाको नाममा रहेको कित्ता नम्बर १००, २७४, २७५, २८०, २९२ र ३४८ मध्ये मुआब्जा पाउने दुईवटा कित्ता नम्बर २७५ र २८० मात्रै रजिस्ट्रेसन पास गरेका छन् । सरकार आफैँले निर्माण गर्ने आयोजनाले मुआब्जाको दररेट निर्धारण गरिसकेको छैन । तर, स्थानीयले आयोजनासँग प्रतिरोपनी १० देखि १५ लाख रुपैयाँ पाउनुपर्ने माग गर्दै आएका छन् । प्रतिरोपनी १० लाखका दरले मुआब्जा तोकिए उक्त जग्गाको दुई करोड ७० लाख र १५ लाख तोकिए चार करोड पाँच लाख आउँछ । यसअनुसार मूल्यांकन गर्दा उक्त जग्गाको औसतमा तीन करोड मुआब्जा आउने देखिन्छ । 

जग्गा किर्ते गरी झुक्याएर पास गर्ने कार्यमा संलग्न सातजनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । वडाध्यक्ष किङसाङ भोटे, सुब्बा महेन्द्रकुमार पराजुली र ३० वर्षीय सुरेन्द्र तामाङसहित २१ वर्षीया कल्पना भोटे, २० वर्षीया ङिमा लाजुङ भोटे, चैनपुरका ३५ वर्षीय पासाङ शेर्पा र खाँदबारी मालपोतका लेखापढी व्यवसायी अनिश गुरुङ पक्राउ परेका हुन् । उनीहरूलाई अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । 

‘गाउँकी सोझी निरक्षर वृद्धा, त्यसमाथि आँखा कम देख्ने र कान पनि कम सुन्ने बिममाया तामाङलाई वृद्धभत्ताका लागि कार्ड बनाउनुपर्छ भनेर भदा पर्ने सुरेन्द्र तामाङले खाँदबारी मालपोत कार्यालय लगेको भेटियो । वडाध्यक्ष, मालपोतका कर्मचारीलगायतको मिलेमतोमा जग्गा नै हत्याएछन्,’ डिएपी सुवेदीले भने, ‘यसमा भूमाफियाको गिरोह नै लागेको अनुमान गरेका छौँ, अनुसन्धान जारी छ ।’ प्रचलित कानुनअनुसार जग्गा किर्ते र ठगीकाण्डमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान हुन्छ । 

प्रहरीका अनुसार सुरेन्द्रले जग्गा पास गर्न वडा कार्यालयमा सिफारिस लिन जाँदा वडाध्यक्ष किङसाङ भोटेसँग सल्लाह गरेको र सोहीअनुसार मालपोत कार्यालयबाट पास गर्न पुरानै चिनजानका कर्मचारी महेन्द्रकुमार पराजुलीसँग योजना बनाई कसैले थाहै नपाउने गरी जग्गा पास गरेको अनुसन्धानमा खुलेको छ । 

बिममाया निरक्षर भएको फाइदा उठाए भूमाफियाले
भोटखोला– ४ सिप्रङका दलबहादुर तामाङको १५ माघ ०५८ मा मृत्यु भयो । दलबहादुरकी एक मात्र सन्तान हुन् बिममाया । दलबहादुरको मृत्युपछि उनको नाममा रहेको जग्गा एक मात्र हकवाला बिममायाको नाममा आउने भयो । 

बिममायाको सुरुमा भोटखोला– ४ कै भक्त तामाङसँग विवाह भएको थियो । भक्त तामाङपट्टि उनका तीन सन्तान छन् । तर, उनले केही समयपछि दोस्रो विवाह गरिन् । उनी अहिले दिलबहादुर तामाङसँग विवाह गरी खाँदबारी नगरपालिका– ५ रमितेमा बस्दै आएकी छन् । उनले अहिलेसम्म बुबाको नामको जग्गा खोजखबर गरेकी थिइनन् ।

अपर अरुणको मुआब्जामा जग्गा परेको जानकारी पाएपछि भदा पर्ने सुरेन्द्रले सबै खोजी गरे । उनले बिममायालाई भेटेर उनको नाममा रहेको जग्गा किर्ते गरी पास गर्ने योजना बनाए । त्यसका लागि उनले वडाध्यक्ष र मालपोत कर्मचारीसँग साँठगाँठ गरे ।

जग्गा हत्याउन सुरेन्द्रले बिममायालाई खाँदबारी ल्याएर तीन दिन आफ्नै कोठामा राखेका थिए । उनले वृद्धभत्ता बनाउन समय लाग्छ भन्दै तीन दिन राखेर मालपोत कार्यालय पुर्‍याउने गरेका थिए । 

बिममायाले आफूसँग नागरिकता नै नभएको जानकारी दिएपछि सुरेन्द्रले १ फागुनमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रतिलिपि बनाए । नागरिकता प्राप्त भएपछि मालपोत कार्यालयमा लगेर दिवंगत बुबा दलबहादुरको नाममा रहेको सम्पूर्ण जग्गा बिममायाको नाममा २ फागुनमा नामसारी गराए । सुरुमा सबै जग्गा बिममायाको नाममा लगेपछि कित्ता नम्बर २७५ सुरेन्द्र तामाङले आफ्नी श्रीमती ङिमा लाजुङ भोटेको नाममा रजिस्ट्रेसन पास गरे । कित्ता नम्बर २८० वडाध्यक्ष किङसाङ भोटेको तर्फबाट कल्पना भोटेको नाममा पास गराए । त्यसैबाट पासाङ शेर्पाको नाममा पनि जग्गा नामसारी भयो । पासाङको नाममा लगेको जग्गा १६ फागुनमा मालपोत कार्यालयका नासु महेन्द्र पराजुलीकी श्रीमती कविता पराजुलीको नाममा नामसारी भएको देखिन्छ । 

पराजुलीले आफ्नै घरमा भाडामा बस्ने पासाङ शेर्पालाई फसाएको तथा त्यसको आवश्यक कागजात मिलाउने र लेखापढी गर्ने काम अनिश गुरुङले गरेको भेटिएको डिएसपी सुवेदीले बताए । लेखापढी व्यवसायी गुरुङले वडाध्यक्ष किङसाङ भोटेको वारिसनामामा समेत हस्ताक्षर गरेको देखिएको उनको भनाइ छ । 

‘कसैले थाहा पाउला र योजना विफल बन्छ कि भनेर उनीहरूले रातारात काम गरेको देखिन्छ । मृतकको हकदाबीपछि ३५ दिने सूचना आह्वान गर्नुपर्नेमा तत्कालै जग्गा नामसारी भएको छ,’ सुवेदीले भने । बिममायालाई तीन दिन खाँदबारीमा राखेर काम सकेपछि सुरेन्द्रले वृद्धभत्ताबापतको रकम भन्दै २० हजार रुपैयाँ थमाएर घर पुर्‍याइदिएका थिए ।

अनि भयो घटनाको पर्दाफास
केही समयअघि बिममायाका भदा पर्ने एकजना फुपूको जग्गाबारे सोधपुछ गर्दै वडा कार्यालय पुगे । वडाध्यक्ष किङसाङलाई भेटेर केही जानकारी लिन खोजे । तर, किङसाङले थर्काएर लखेटे । उनले यो घटना बिममायालाई भेटेर सुनाए । त्यतिवेलासम्म बिममायालाई आफ्नो जग्गा अरूले पास गरे होला भन्ने थाहै थिएन । तर, शंका लागेपछि उनी तिनै भदालाई लिएर मालपोत कार्यालय खाँदबारी पुगे । तर, मालपोत कार्यालयले कागजात हेर्नै दिएन । उनीहरूलाई अझै शंका लाग्यो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए । पछि खोजी हुँदा जग्गा ठगीकाण्डको रहस्य खुलेको हो ।