सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहीछाप लगाउने नाममा लाइनमा उभ्याउने श्रम डेस्क हटाएको छ । श्रमिकलाई अनावश्यक दुःख दिएको गुनासोपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम डेस्क हटाएको हो । श्रममन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ बुधबार विमानस्थलमा गएर श्रम डेस्क हटाएका छन् ।
अनलाइन सूचना प्रणाली आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको उनले बताए । सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्दै आएको थियो ।
वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्य रूपमा श्रम डेस्कमा गएर डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढाउने नियम थियो । अब श्रमिकले श्रम डेस्क नगई जुनसुकै गेटबाट पनि विमानस्थलमा प्रवेश पाउनेछन् । श्रमिकको प्रस्थानलाई छिटो–छरितो बनाउन तीनवटै द्वारबाट प्रवेश दिइएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।
विमानस्थलमा वैदेशिक रोजगार विभागले सूचना केन्द्र भने स्थापना गर्ने भएको छ । केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेछ । मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको कोरोना भाइरसको पिसिआर परीक्षण जाँच गर्ने प्रक्रिया पनि हटाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई आग्रह गरेका छन् ।