गोरखामा यौनजन्य अपराधको निसानामा बालिकाहरू परेको पाइएको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुन १२ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा आठजना बालिकाले यौनजन्य हिंसाबाट पीडित भएको उजुरी गरेका छन् । तीमध्ये जबर्जस्ती करणीमा सात र जबर्जस्ती करणी उद्योगमा एकजना पीडित छन् । सो अवधिमा १३ वटा यौनजन्य अपराधका घटना भएका भएका छन् ।
०७५–७६ देखि हालसम्म गोरखामा १८ वर्षमुनिका ६९ बालिका यौनजन्य हिंसामा परेका छन् । यीमध्ये ४६ जना जबर्जस्ती करणीमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए । बाँकी भने जबर्जस्ती करणी उद्योग र बालयौन दुरुपयोगको सिकार भएका छन् । ‘कमजोर आर्थिक स्तर भएका, समुदायमा पछाडि पारिएका, शारीरिक रूपमा पनि कमजोर भएका बालिका यौनजन्य हिंसाको सिकार हुने गरेका छन्,’ प्रहरी निरीक्षक अधिकारीले भने । गत वर्ष सबैभन्दा धेरै ४१ वटा यौनजन्य अपराधको घटना भएका उनले बताए । यौनजन्य हिंसाका घटनामा संलग्न भने उमेर पुगेकाहरू धेरै देखिन्छन् । प्रहरीका अनुसार यौनजन्य अपराधका घटनामा १८ देखि २५ वर्षका पुरुषहरूको संलग्नता बढी छ । योबाहेक २६ देखि ३५ वर्ष उमेरका पुरुष पनि यौनजन्य अपराधतर्फ उद्यत् देखिएको उनले बताए ।
यौनजन्य अपराध र जबर्जस्ती करणीका घटना बढिरहँदा स्थानीय तहहरूले त्यसको न्यूनीकरणमा चासो भने दिएका छैनन् । प्रहरीले घटना र उजुरीपछि छानबिन गर्ने र अदालतमा पेस गर्ने मात्रै काम गर्दै आएको छ । अदालतको फैसलापछि पीडित बालिका वा महिलाको अवस्थाबारे कसैले चासो नदिएको अधिकारकर्मी बताउँछन् ।
गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले हिंसा पीडितलाई समाजमा स्थापित हुन अझै समस्या रहेको बताइन् । ‘हिंसा अझै पनि सबै खुलेर बाहिर आएको छैन, हिंसापीडित भएँ भन्ने महिलाहरू समाजमा पीडा भोग्न बाध्य छन्,’ उनले भनिन्, ‘यो अवस्था अन्त्य हुनुपर्छ ।’ यस्ता यौनजन्य हिंसाका घटना न्यूनीकरण गर्न समुदायस्तरमा सचेतना आवश्यक रहेको पनि उनले बताइन् ।