युक्रेन सरकारलाई अपदस्थ गर्न रुसी सैनिकले राजधानी किभमा क्षेप्यास्त्रबाट आक्रमण गरिरहेको छ । समुद्र, स्थल र हवाई माध्यमबाट एकैसाथ हमला गरेको रोयटर्सले जनाएको छ । युक्रेनले रुसविरुद्ध लडाइँका लागि आफ्ना नागरिकलाई सेनामा भर्तीका लागि आह्वान गर्दै उमेरको हदबन्दी हटाएको छ । केही दिनमै युक्रेन रुसको कब्जामा पुग्ने विश्लेषण अमेरिकी गुप्तचर अधिकारीहरूले गरेको सिएनएनले जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार भिडियो सन्देश जारी गर्दै रुसी समकक्षीलाई वार्ताका लागि अनुरोध गरेका छन् । आफूले राष्ट्रपति पुटिनसँग प्रत्यक्ष वार्ता चाहेको उनको भनाइ छ । उनले युद्धविरामका लागि रुससँग अनुरोध गरेका छन् भने युक्रेनको प्रतिरक्षाका लागि आफू तयार रहेकोसमेत उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले युक्रेनलाई संकटमा साथ नदिएकोसमेत उनको गुनासो थियो । शुक्रबार साँझ जारी पछिल्लो भिडियो सन्देशमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘म फेरि पनि रुसी महासंघको संसद्लाई सम्बोधन गर्न चाहन्छु । युक्रेनभरि अहिले भइरहेका लडाइँ रोकौँ र जनताको मृत्यु रोक्नका लागि वार्तामा बसौँ भन्ने आह्वान गर्न चाहन्छु ।’ तर, रुसले युक्रेनसँग वार्तामा बस्न अस्वीकार गरेको छ ।
रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले युक्रेनका जनतामाथि भएको दमनबाट युक्रेनलाई मुक्त गर्न सैनिक अप्रेसन गरिएको भन्दै आक्रमणको प्रतिरक्षा गरेका छन् । शुक्रबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘युक्रेनलाई निःशस्त्रीकरण गर्दै त्यहाँका जनतालाई स्वतन्त्र रूपमा आफ्नो भविष्यको फैसला गर्ने वातावरण बनाउन राष्ट्रपति पुटिनले यो कदम चाल्नुभएको हो ।’
शुक्रबारै रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग युक्रेनको परिस्थितिबारे टेलिफोन संवाद गरेका छन् । युक्रेनमा शान्ति स्थापनाका लागि रुसले गर्ने प्रयासलाई समर्थन गर्ने वचन राष्ट्रपति सीले दिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । पुटिनले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताहरूसँग पनि टेलिफोन संवाद गरेका थिए ।
युक्रेनप्रति समर्थन जनाउँदै युरोपियन युनियन सम्बद्ध राजदूतहहरूले शुक्रबार नेपालका परराष्ट्रसचिव भरतराज पौड्यालसँग भेट गरेका छन् । उनीहरूले इयूअन्तर्गतका राजदूतहरूका तर्फबाट युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्दै सार्वभौम मुलुकमाथि हस्तक्षेप र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भन्दै रुसको विरोधमा ऐक्यबद्धता जनाएका थिए । नेपालले रुसी आक्रमणको बिहीबार नै निन्दा गरेको थियो ।