रुस–युक्रेनबीच जारी द्वन्द्वको असर नेपालमा पनि देखिने निश्चित भएको छ । दुई देशबीच केही समयदेखि जारी तनावलाई द्वन्द्वमा परिणत गर्ने गरी युक्रेनमाथि रुसले हमला गरेको पहिलो दिन (बिहीबार) अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा ११ अंकले वृद्धि भई एक सय पाँच डलर प्रतिब्यारेल पुगेको छ ।
बुधबार भने कच्चा तेलको भाउ ९४.१२ डलर प्रतिब्यारेल थियो । युक्रेन–रुसबीच द्वन्द्व झनै चर्किने देखिएकाले आगामी दिनमा कच्चा तेलको भाउ अझै वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा ह्वात्तै बढेको कच्चा तेलको भाउ बिस्तारै मात्र ओरालो लाग्ने हुँदा विश्वभर इन्धनको भाउ ठूलो दरले वृद्धि हुने अनुमान छ ।
बिहीबार साँझ १०४.१२ डलर प्रतिब्यारेलमा भएको कच्चा तेलको कारोबार आठ वर्षयताको उच्च मूल्य हो । यसअघि सन् २०१४ मा कच्चा तेलको भाउ एक सय डलर प्रतिब्यारेल पार गरेको थियो । त्यतिखेर ४ अगस्ट ०१४ मा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य एक सय पाँच डलर प्रतिब्यारेल थियो ।
रुस विश्वमा सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्ये दोस्रो ठूलो देश हो । युक्रेनसँगको द्वन्द्वले रुसबाट विश्वभर हुने कच्चा तेलको आपूर्ति तालिकामा असर पर्न थालेको छ । रुसले नियमित तालिकाअनुसार तेल आपूर्ति नगर्दा मागमा असर पर्न गई मूल्य बढेको विश्लेषण गरिएको छ ।
अमेरिकाको टेक्सासस्थित एक तेल कम्पनीका प्रतिनिधिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कच्चा तेलको भाउ एक सय १० देखि एक सय २० डलरसम्म चाँडै पुग्ने बताएका छन् ।
नेपालमा भारतको सरकारी कम्पनी इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट सबै प्रकारका पेट्रोलियम पदार्थ आयात हुने गरेको छ । कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ एक डलरले वृद्धि हुँदा आइओसीले घरेलु बजारमा ४० पैसा प्रतिलिटरले मूल्य बढाउने गरेको छ । यसको सोझो असर नेपालमा पनि पर्ने देखिन्छ । किनभने, आइओसीले प्रत्येक १५–१५ दिनमा नेपालमा तेल बिक्रीको नयाँ खरिद दर पठाउने गरेको छ ।