इटालियन फेसन ब्रान्ड ‘दा मिलानो’का नयाँ फेसन प्रडक्ट नेपाली बजारमा आएका छन्। कम्पनीका जुत्ता, स्यान्डल, ब्याग, लगेज, पर्स, बेल्टलगायत लेदरका नयाँ आइटम बजारमा आएको हो। ६ वर्षअघि नेपाल भित्रिएको यस ब्रान्डको दरबारमार्गमा सोरुम छ। ग्राहकलाई ओरिजिनल लेदरबाट बनेका गुणस्तरीय फेसन प्रडक्टहरू बिक्री गर्दै आइरहेको दा मिलानो लेदर्स प्रालिका म्यानेजर माजिद मुनिरले बताए। ‘हाम्रो उत्पादनमा विश्वास भएरै होला, करिब ७० प्रतिशत ग्राहक नियमित आउँछन्,’ उनले भने, ‘एकपटक हाम्रोे उत्पादन प्रयोग गर्ने ग्राहक दोहोर्याएर आउँछन्।’
यो कम्पनीका ‘दा मिलानो इटालिया’ र ‘रोसो बुर्नेलो’ गरी दुई ब्रान्ड छन्। रोसो बुर्नेलो ब्रान्डमा लेडिज र जेन्स सुज तथा स्यान्डल उपलब्ध छन्। दा मिलानो ब्रान्डमा जेन्स ब्याग, लेडिज ब्याग, कम्प्युटर ब्याग, सुटकेस, म्याकबुक कभर, ज्वेलरी बक्स, बेल्ट, वालेट, मेकअप ब्याग, सेभिङ ब्याग, कार्ड होल्डर, मोबाइल केसलगायत ३२ प्रकारका प्रडक्ट उपलब्ध रहेको मुनिरले बताए। कोभिडपछि ब्रान्डेड फेसनको माग बढ्न थालेपछि नयाँ सामान बजारमा ल्याएको उनको भनाइ छ।
सोरुममा १८ हजारदेखि ३२ हजारसम्मका जेन्ट्स सुज, नौ हजारदेखि ३० हजारसम्मका लेडिज सुज तथा स्यान्डल, १५ हजारदेखि ६० हजारसम्मका लोडिज तथा जेन्स ब्याग उपलब्ध छन्। दा मिलानोको सबैभन्दा सस्तो की चेनको मूल्य १५ सय रहेको छ भने सबैभन्दा महँगो सुटकेसको मूल्य ८० हजार रहेको छ। यी सामानमा १० प्रतिशत डिस्काउन्ट दिने गरेको म्यानेजर मुनिरले बताए। उनले भने, ‘दा मिलानोका विश्वभर रहेका सोरुममा कम्पनीको एउटै नियम लागू हुन्छ। छुट सुविधा, वारेन्टी, ग्यारेन्टी पनि कम्पनीकै नियमअनुसार दिने गरिन्छ।’
कम्पनीले अधिकांश सामानमा ‘लाइफटाइम सर्भिस वारेन्टी’ दिन्छ। तर, जुत्ता र स्यान्डलमा भने ६ महिनाको मात्र वारेन्टी दिइन्छ। फेसन बजार छिटो–छिटो परिवर्तन भइरहने हुनाले हरेक १५ दिनमा नेपाली बजारमा फरक–फरक नयाँ फेसन प्रडक्ट ल्याउने गरेको मुनिरको भनाइ छ। पछिल्लो समय उपभोक्ताले आफ्नो पहिरनसँग म्याच हुने खालका जुत्ता, स्यान्डल, झोला, बेल्ट माग गर्न थालेका छन्।