१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o७:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बागमती प्रदेशमा बढ्यो पुँजीगत खर्च

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:३५:oo

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकको तुलनामा पुँजीगत खर्च बढाएको छ । चालू आवको साउनदेखि कार्तिकसम्म पहिलो चौमासिकमा चार दशमलव ८५ प्रतिशत मात्र पुँजीगत खर्च गरेको बागमती सरकारले माघ मसान्तसम्मको सात महिना अवधिमा १२ दशमलव ९३ प्रतिशत पुर्‍याएको छ । पुँजीगत खर्च निराशाजनक भए पनि पहिलो चौमासिकको तुलनामा वृद्धि भएको देखिन्छ ।

बागमती सरकारले चालू आवमा विनियोजन गरेको ५७ अर्ब ७७ करोड ६४ लाख २७ हजार रुपैयाँ बजेटमध्ये ३१ अर्ब ४३ लाख ९० हजार कुल पुँजीगत बजेट छुट्याइएकोमा पहिलो चौमासिकमा एक अर्ब ४४ करोड ६७ लाख ७४ हजार ५ सय नौ रुपैयाँ मात्र खर्च भएको थियो । माघ मसान्तसम्म सात महिनामा चार अर्ब एक करोड ४१ लाख ६ सय ६६ रुपैयाँ अर्थात् १२ दशमलव ९३ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी राजेन्द्र पाण्डेले जानकारी दिए ।

कार्यालयको तथ्यांकअनुसार सात महिना अवधिमा बागमती सरकारले कुल बजेटको १९ दशमलव ८२ प्रतिशत खर्च भएको छ । यो अवधिमा समग्रमा कुल बजेटको ११ अर्ब ४४ करोड ८७ लाख ९७ हजार सात सय ३६ रुपैयाँ मात्रै खर्च गरेको सूचना अधिकारी पाण्डेले बताए । प्रदेश सरकारले २४ अर्ब ७७ करोड २० लाख ३७ हजार रुपैयाँ चालूगत बजेटमा हालसम्म २३ दशमलव चार प्रतिशत अर्थात् ६ अर्ब ४३ करोड ४६ लाख ९७ हजार रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ ।

चालू आवको सात महिना अवधिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका मन्त्रालयमध्ये सबैभन्दा कम खर्च गरेको छ ।प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार ९२ करोड ९७ लाख ७३ हजार रुपैयाँ कुल बजेट विनियोजन गरिएको आन्तरिक मामिलाले ३.८९ प्रतिशत अर्थात् तीन करोड ६१ लाख २४ हजार दुई सय नौ रुपैयाँ मात्र खर्च गरेको छ । सबैभन्दा बढी खर्च आर्थिक मामिला तथा योजना मन्त्रालयले गरेको कार्यालयका सूचना अधिकारी पाण्डेले बताए । उनका अनुसार मन्त्रालयले कुल बजेटको ६४ दशमलव ४७ प्रतिशत खर्च गरेको छ । ३५ करोड ७० लाख ५० हजार कुल बजेट भएको आर्थिक मामिलाले २३ करोड एक लाख ८४ हजार ६ सय २७ रुपैयाँ खर्च गरिसकेको छ ।

सरकार बजेट खर्च गर्ने  चुनौतीमै छ : जमकट्टेल
आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले वर्तमान सरकार बजेट खर्च गर्ने सवालमा चुनौतीमै रहेको बताए । उनले एमाले नेतृत्वको सरकारले बजेट विनियोजन गरेको र हाल गठबन्धनको सरकार रहेका कारण खर्च गर्ने अवस्थामा निकै जटिलता उत्पन्न भएको दाबी गरे । ‘सरकार बजेट खर्च गर्ने सवालमा कमजोर देखिएको छ ।’ उनले भने, ‘यो समस्या सरकारले निम्त्याएको होइन, हामी त फरक अवस्थाको सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गरेर अघि बढेका छौँ । बजेट खर्च बढाउन हामीमाझ धेरै चुनौती छन् ।’ 

ad
ad