‘कतिपय स्थानमा पेरिमिटरका तारहरू प्वाल परी यदाकदा बाहिरका व्यक्तिहरूसमेत प्रवेश गर्न सक्ने सम्भावना भएकाले अविलम्ब मर्मत गर्नुपर्ने,’ नेपाल प्रहरीले तीन वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा चुनौतीबारे अध्ययन गरी तयार गरेको रिपोर्टमा दिइएको सुझावको एउटा बुँदा हो यो । विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयलाई फोटोसहित उपलब्ध गराइएको यो रिपोर्टले विमानस्थलको बाहिरी पेरिमिटरमा रहेका तारबार पहिलेदेखि नै प्वाल परेको र त्यहाँबाट मान्छेहरू छिर्दै आएको प्रस्ट हुन्छ ।
तर, यसमा नागरिक उड््डयनका अधिकारी तथा सुरक्षा निकाय गम्भीर नहुँदा एक युवक त्यहीँबाट प्रवेश गरेर सोमबार विमानभित्रैसम्म पुगे । आयल निगमको डिपो रहेको क्षेत्रको तारबार नाघेर रौतहटका हस्पम आलम कतार उड्न लागेको नेपाल एयरलाइन्सको जहाजभित्रै पुगेका हुन् । उनी मानसिक रोगी भएको बताइएको छ । धन्न उनी विमान चढ्ने रहरले मात्र त्यहाँ पुगेका थिए । आपराधिक उद्देश्य लिएर कोही त्यसरी छिरेको भए के हुन्थ्यो ?
‘हाम्रो देशको छवि अन्तर्राष्ट्रियस्तरमै ध्वस्तै हुन्थ्यो,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘धन्न उनी प्लेन चढ्ने रहरले मात्र त्यहाँ पुगेका थिए र सम्भावित जोखिम टरेको छ ।’ विमानको बिजनेस क्लासमा पुगेपछि मात्र विमानका कर्मचारीलाई शंका लागेर सोध्दा उनी कुनै कागजपत्रविना नै विमानसम्म पुगेको खुलेको थियो । यसमा नेपाली सेना, नेपाल प्रहरीदेखि विमानस्थलका प्रहरीको प्रत्यक्ष कमजोरी देखिएको छ । विमानस्थलको बाहिरी पेरिमिटरको सुरक्षामा नेपाली सेना खटिएको छ । आलम छिर्दा सेनाले देखेन । रनवे क्षेत्रको सुरक्षामा नेपाल प्रहरी खटिएको छ । उसले पनि चाल पाएन । बोर्डिङ पासविना विमानमा कसैलाई प्रवेश दिन मिल्दैन । तर, बोर्डिङ पासविना नै उनी भित्र छिर्नुले नेपाल एयरलाइन्सका कर्मचारीको पनि यसमा कमजोरी देखिएको छ ।
यो घटनाले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा त्रुटि फेरि एकपटक उदांगो भएको छ । यसअघि सुनदेखि चिम्पान्जी तस्करीसम्मका घटनाले सुरक्षा प्रणालीमा कमजोरी देखाइसकेको छ । विमानस्थलस्थित भन्सार तथा प्रहरी कर्मचारीसँग मिलेर पाँच वर्षसम्म सुन तस्करी गरिएको यसअघि छानबिनमा खुलिसकेको छ । तर, सोमबारको घटनाले झनै ठूलो कमजोरी बाहिर ल्याएको छ ।
अचम्म के छ भने सोमबार विमानसम्म पुगेका युवक गत २ माघमा पनि आन्तरिकतर्फको रनवेसम्म पुगेका थिए । त्यतिवेला पनि उनी तार च्यातिएको क्षेत्रबाट छिरेका थिए । तर, त्यो घटनाबाट समेत विमानस्थल प्रशासनले पाठ सिकेन ।
हवाई सुरक्षाविज्ञ भरत ढकाल विमानसम्म त्यसरी अनधिकृत रूपमा पुग्नुलाई विमानस्थल सुरक्षा प्रणाली पूर्ण रूपमा असफल भएको बताउँछन् । ‘विमानस्थल सुरक्षाका मुख्य दुईवटा पक्ष हुन्छन्,’ उनी भन्छन्, ‘एउटा निषेधित क्षेत्रमा अनधिकृत मान्छेलाई रोक्नु र अर्काे जान पाउने मान्छे र सामानको चुस्त खानतालासी । तर, अनधिकृत व्यक्ति विमानसम्मै पुग्नुले विमानस्थल सुरक्षा नै फेल भएको देखाउँछ, यसबाट गम्भीर पाठ सिक्नुपर्छ ।’
सोमबारको घटनापछि बुधबार विमानस्थलमा सुरक्षा समितिको बैठक बसेको थियो । जसले बिहीबारदेखि नै बिग्रिएको ठाउँमा मर्मत गर्ने निर्णय गरेको छ । बैठकमा सुरक्षा निकायका अधिकारीले घटनामा नागरिक उड्डयन कार्यालय प्रमुख दोषी रहेको आरोप लगाएका छन् । विमानस्थलको बाहिरी पेरिमिटरको सुरक्षा जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनाले चारपटकसम्म तार च्यातिएको ठाउँको फोटोसहित मर्मतका लागि प्रतिवेदन दिएको थियो । तर, बजेट नभएको भन्दै नागरिक उड्डयन कार्यालयका अधिकारीहरू पन्छिँदै आएका थिए । त्यही लापरबाहीले यो घटना भएको उनीहरूको आरोप थियो ।
राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूले २३ वर्षअघि इन्डियन एयरलाइन्सको जहाज अपहरणको घटना सम्झँदै यस्ता लापरबाही कायम रहे त्यस्तो घटना नदोहोरिएला भन्न नसकिने बताएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले अब यस्ता घटना दोहोरिन नदिने र तत्कालै मर्मतका काम थालिने बताएका छन् ।
विमानस्थलमा जताजतै सुरक्षा छिद्र
अन्तर्राष्ट्रिय विमानस्थलको पेप्सीकोला क्षेत्रमा ठूलो झाडी छ, जुन सुरक्षाको जोखिम बनेको छ । एकातर्फ झाडीमा लुकेर कोही माथिसम्म जान सक्ने जोखिम छ भने अर्काेतर्फ आगलागीकै खतरा छ । एकपटक सो झाडीमा आगलागी हुँदा विमानस्थल नै बन्द गर्नुपरेको थियो । उक्त घटनापछि पनि नागरिक उड्डयनले पाठ सिकेको छैन ।
विमानस्थलको सुरक्षा सुदृढ बनाउन तीन वर्षअघि एसपी कृष्णप्रसाद कोइराला नेतृत्वको अध्ययन कार्यदलले पनि विमानस्थलभित्र दर्जनौँ कमजोरी औँल्याएको थियो । त्यसमध्ये अधिकांश कार्यान्वयन भएका छैनन् । सो कार्यदलले अन्तिम सेक्युरिटी चेकपछि यात्रु र कर्मचारी भेट नहुने गरी व्यवस्थापन मिलाउनुपर्ने, अत्याधुनिक बडी स्क्यानर र एक्सरे मेसिन जडान गर्नुपर्ने, सबै कर्मचारीलाई अनिवार्य रूपमा पोसाकको व्यवस्था गर्नुपर्ने, अत्यावश्यक अवस्थामा बाहेक पास दिन नहुनेलगायत सुझाव दिएको थियो ।
कतिसम्म भने विमानमा पठाइने खानाको कुनै चेकजाँच हुँदैन । सोल्टी होटेलको स्काई सेफले विमानमा लगिने खाना पु¥याउने गरेको छ । खानासँगै विमानमा अन्य प्रतिबन्धित वस्तुसमेत पुग्ने जोखिम छ । स्क्यानिङ गर्नुपर्ने प्रस्ताव यसअघि प्रहरीले राखे पनि निर्णय हुन सकेको छैन ।
प्रहरीले बाहिरी पेरिमिटर र भित्री पेरिमिटरको बीचमा बाटो बनाएर निरन्तर गस्ती गर्नुपर्ने, भाग्न खोज्ने सवारीलाई रोक्न अटोमेटिक हाइड्रोलिक गेट राख्नुपर्ने सुझाव दिएको थियो । ‘यदि त्यसरी नियमित गस्ती गर्ने प्रणाली भएको भए सोमबारको घटना हुँदैन थियो,’ एक प्रहरी अधिकारीले भने । यात्रुहरूको लगेज एयरलाइन्स काउन्टरमा चेक इन काउन्टरमा पुगेपछि मात्र जाँच हुुनुपर्ने प्रहरी अधिकारी बताउँछन् । हाल विमानस्थलको भवनभित्र छिरेलगत्तै जाँच हुने गरेको छ ।
त्यसपछि पनि लगेजमा प्रतिबन्धित सामान जान सक्ने जोखिम हुन्छ । अन्य देशमा एयरलाइन्स काउन्टरमा चेक इन भएपछि मात्र लगेजको सुरक्षा जाँच हुने गरेको छ । विमानस्थलमा घाँस काट्ने तथा सरसफाइमा संलग्न कर्मचारीको प्रवेशलाई नियन्त्रण गर्न नसके पासको दुरुपयोग हुने जोखिम पनि रहेको छ । त्यस्तै, गोल्डेन गेट, विमानस्थल प्रवेश गर्ने फलामे गेट तथा आयल निगमतर्फ जाने बाटोमा ‘भेहिकल स्क्यानर’ राख्नुपर्ने सुरक्षा निकायको प्रस्तावलाई पनि नागरिक उड्डयनले कार्यान्वयनमा चासो देखाएको छैन । विमानस्थलबाट निस्कने फोहोरमार्फत समेत तस्करी हुन सक्ने सम्भावना रहेको र त्यस्तो फोहोर स्क्रिनिङ गर्ने प्रणाली विमानस्थलमा छैन ।
विमानस्थलमा हालै बनेको नयाँ बिजनेस कम्प्लेक्स क्षेत्रमा जो–कोही पनि सहजै जान सक्ने भएकाले त्यसले सुरक्षा जोखिम निम्त्याएको उल्लेख छ । प्रहरी, भन्सार र अध्यागमनलगायत निकायको एकीकृत हेल्प डेक्स बनाउनुपर्ने माग विमानस्थलमा उठ्दै आएको छ । त्यस्तै, एप्रोन एरियामा काम गर्ने कर्मचारीलाई खल्ती नभएको पोसाक लगाउन सिफारिस पटक–पटक भएको छ । हालै प्रहरीलाई ड्युटीको समयमा मोबाइल बोक्न भने रोकिएको छ । विमानस्थल क्षेत्रमा धेरैतिर सुरक्षा छिद्र भए पनि त्यसको सुधारमा गम्भीरता नदेखाउँदा गम्भीर घटनाको जोखिम रहेको प्रहरी अधिकारी नै बताउँछन् ।
प्रविधिमा कञ्जुस्याइँ, यात्रुलाई सास्ती
गत १८ भदौमा काठमाडौंबाट बुद्ध एयरलाइन्समार्फत नेपालगन्ज पुगेका दुई यात्रुले जुत्तामा चार किलो सुन लुकाएका थिए । जुन काठमाडौंस्थित विमानस्थल कार्यालयको सुरक्षा जाँचमा पत्ता लागेन । नेपालगन्जमा पुगेपछि सुराकीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । त्यो घटनापछि विमानस्थलमा जुत्तासमेत खोल्न लगाएर चेकजाँचमा कडाइ सुरु गरियो, तर आफ्नो कमजोरी सुधार गर्नतर्फ भने चासो दिइएको छैन ।
अत्याधुनिक प्रविधिको अभावले पनि विमानस्थलमा सुरक्षा कमजोरी देखिने गरेको प्रहरी अधिकारीको भनाइ छ । विमानस्थलको सुरक्षा जाँचमा प्रयोग हुने बडी स्क्यानर नेपालको विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनलमा समेत जडान हुन सकेको छैन । बडी स्क्यानरका साथै एक्सरे मेसिनसमेत अत्याधुनिक खरिद गर्नका लागि प्रहरीले पटक–पटक प्रस्ताव गरे पनि त्यसमा प्रक्रिया अघि बढ्न सकेको छैन । विमानस्थलबाट करोडौँ आम्दानी हुने भए पनि सुरक्षाका लागि प्रविधिमा लगानी गर्न भने सरकारले कञ्जुस्याइँ गरेको सुरक्षा निकायको आरोप छ ।
अर्काेतर्फ विमानस्थलमा विशेषज्ञ जनशक्तिको पनि बहस हुँदै आएको छ । विमानस्थलमा खटिने सुरक्षाकर्मीले पनि सामान्य मात्र तालिम लिएका हुन्छन् । नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्माले विमानस्थलको सुरक्षामा विशिष्टीकृत फौज खटाउनुपर्ने बताए । हवाई सुरक्षाविज्ञ भरत ढकाल पनि विमानस्थलमा सामान्य तालिमका आधारमा सुरक्षाकर्मी खटाउनु कमजोरी भएकाले सुधार गर्नुपर्ने बताउँछन् ।