मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ७ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ७ शनिबार १o:१९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा विशेष साधारणसभा दोस्रोपटक स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ७ शनिबार १o:१९:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)को ८ फागुन आइतबार हुने भनिएको विशेष साधारणसभा स्थगित भएको छ । एन्फामा आबद्ध ४८ वटा जिल्ला फुटबल संघ, निर्णायक संघ, प्रशिक्षक संघ, महिला फुटबल संघ, सहिद स्मारक ए, बी र सी डिभिजन लिगसँगै राष्ट्रिय लिगमा छनोट भएका चार टोलीलाई पत्र लेख्दै एन्फाले विशेष साधारणसभा प्राविधिक कारण स्थगित भएको जनाएको छ ।

विशेष साधारणसभा हुने मिति, समय र स्थान अर्को पत्रबाट जानकारी गराउने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एन्फाको विशेष साधरणसभा स्थगित भएको यो दोस्रोपटक हो । एन्फाको विशेष साधारणसभा २९ माघमा हुने भनिएको थियो । त्यसवेला एन्फाले तयारी समय अपुग भन्दै ८ फागुनका लागि विशेष साधारणसभाको मिति तोकेको थियो । 

आइतबार हुने भनिएको विशेष साधारणसभा फिफाबाट गाइडलाइन स्वीकृत भएर नआउँदा दोस्रोपटक स्थगित गर्नुपरेको हो । फिफा र एएफसीले पठाएको विधान र निर्वाचन निर्देशिकामा केही प्रतिक्रिया एन्फालाई दिएको छ । 

अर्को सातासम्म विशेष साधारणसभाको नयाँ मिति तय गरिने एन्फाको भनाइ छ । भर्चुअल माध्यमबाट हुने भनिएको एन्फा विशेष साधारणसभामा एन्फाका ४८ सदस्य जिल्ला फुटबल संघ, ए, बी, सी डिभिजनका प्रतिनिधि, महिला समिति, प्रशिक्षक समिति, खेलाडी, रेफ्री समितिका प्रतिनिधिले भाग लिनेछन् । 

अर्पणले लिगका बाँकी खेल गुमाउने
च्यासल युथ क्लबका गोलरक्षक अर्पण कार्कीले सहिद स्मारक ए डिभिजन लिगको बाँकी खेलहरू गुमाउने भएका छन् । घुँडाको गम्भीर चोटका कारण अर्पणले लिगको बाँकी खेलहरू गुमाउने भएका हुन् । 

अर्पणले आफ्नो बायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको जानकारी गराएका छन् ।  अर्पणको चोटको शल्यक्रिया गर्नुपर्ने भएको छ । नेपाली यू–२३ टोलीका कप्तान अर्पणले मच्छिन्द्र क्लबविरुद्धको खेलमा चोट बोकेका थिए । सो खेलमा च्यासल २–० ले पराजित भएको थियो ।

प्रतिस्पर्धाको १७औँ मिनेटमा मच्छिन्द्रका विमल घर्तीमगरसँग जुध्न पुग्दा अर्पणले चोट बोकेका थिए । लिग सुरु हुनुअघि निकै आक्रामक रूपमा खेलाडी भित्र्याएको च्यासल यस सिजनको लिगमा रेलिगेसनको संघारमा रहेको छ । पुछारको च्यासलले ११ खेलमा ६ अंक जोडेको छ । च्यासलले १२औँ चरणमा फ्रेन्ड्स क्लबको सामना गर्नेछ ।