१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ४ बुधबार
  • Sunday, 29 September, 2024
२o७८ फाल्गुण ४ बुधबार २o:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

छिल्लीकोटमा जिपलाइन निर्माण सुरु, केबलकार अनिश्चित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ४ बुधबार २o:५२:oo

दाङको छिल्लीकोटमा जिपलाइन निर्माण सुरु भएको छ । पर्यटकीय क्षेत्रका रूपमा रहेको तुल्सीपुर उपमहानगरपालिका वडा नं. १९  स्थित छिल्लीकोटमा जिपलाइन निर्माणको काम सुरु भएको करिब एक महिना बित्नै लागेको छ । तर, त्यहाँ  निर्माण हुने भनिएको केबुलकार निर्माणको कार्य सुरु हुने टुंगो लाग्न सकेको छैन । 

छिल्लीकोट रिसोर्ट एन्ड थ्री स्टार कम्पनीले जिपलाइन निर्माण गरिरहेको छ । एक करोड १० लाख लागतमा उक्त जिपलाइन निर्माण  हुन लागेको हो । स्थानीय प्रविर पुनले बताए। जिपलाइन पर्यटकीय स्थल छिल्लीकोटको कालिका मन्दिरबाट सुरु भएर स्थानीय झुल्के सामुदायिक वनको भेरीखोलामा ‘ल्यान्ड’ हुनेछ । 

१२ सय मिटर लामो जिपलाइन निर्माण तीन महिनामा सक्ने गरी काम अघि बढाएको स्थानीय प्रविर पुनले बताए । दुई कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको र प्रतिव्यक्ति एक सय रुपैयाँ  मन्दिरलाई छुट्याउने सहमति भएर काम अघि बढेको उनको भनाइ छ। ‘ऐतिहासिक, भौगोलिक तथा धार्मिक क्षेत्रका रूपमा छिल्लीकोट चिनिएको छ । तर, यहाँ अझै पनि राज्यको नजर नपर्दा उल्लेख्य रूपमा विकास हुन सकेको छैन,’ स्थानीय पुनले भने, ‘अब जिपलाइन बनेपछि धेरै सहज हुनेछ ।’

अनिश्चित केबलकार 
जिपलाइनभन्दा पहिले केबुलकार निर्माणका लागि सर्भे भएको थियो । सर्भे भएकै २ वर्षभन्दा बढी भयो। तर, केबुलकार निर्माणको काम भने अघि बढ्न सकेको छैन । केबुलकार र जिपलाइन  निर्माण भएपछि छिल्लीकोटको विकासले धेरै फड्को मार्ने स्थानीय  पूर्ण पुनले बताए । छिल्लीकोटमा रहेको बुद्ध ढुंगा नजिकबाट १४ सय मिटर दुरीमा केबुलकार सञ्चालन गर्ने गरी दुईपटक सर्भे भएकाे छ। अहिले केबुलकारसम्म सहजै गाडी आउन सक्ने गरी सडक खनिसकिएको भए पनि निर्माण कार्य अझै सुरु नहुँदा स्थानीयवासी असन्तुष्ट बनेका छन् ।   

केबुलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए। करिब एक अर्ब ४० करोड लागतमा केबुलकार निर्माण गर्ने गरी तयारी भए पनि कोरोनाका कारणले काम अघि बढ्न नसकेको उनको भनाइ छ । ‘हामीले लगानी गर्नका लागि निजी क्षेत्रहरूलाई प्रस्ताव गरेका छौँ,’ प्रमुख पाण्डेले भने, ‘कोरोनाले गर्दा कार्यक्रम गर्न सकिएको छैन, नत्र हामीले लगानी सम्मेलन आयोजना गर्ने र निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्ने तयारी गरेका थियौँ । अहिले पनि हामीले निजी क्षेत्रलाई लगानी गर्न अपिल गरिरहेका छौँ।’