मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २७ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २७ बिहीबार १९:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजसंस्थाको मुद्दामा सम्झौता हुँदैन : राप्रपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २७ बिहीबार १९:११:oo

राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पुनर्स्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तहको सैद्धान्तिक अवधारणामा कसैसँग सम्झौता नगर्ने अडान दोहोर्याएको छ । निवर्तमान अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रको हस्तक्षेपको छानबिन नभएको आरोपसहित पार्टी त्यागेपछि आयोजित पदाधिकारी बैठकले थापाले उठाएको एजेन्डाको पार्टीभित्र कुनै स्थान नहुने स्पष्ट पारेको हो । 

‘यस सम्बन्धमा भ्रममा नपर्न राप्रपा सबैमा अनुरोध गर्दछ,’ बैठकपछि पार्टी प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैठकमा राप्रपाका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, पदाधिकारीहरू र प्रदेश कार्यसमितिका अध्यक्षहरू सहभागी थिए । 

पार्टीले राजसंस्थाका विषयमा पार्टीभित्र उठ्ने प्रश्नलाई पार्टी हितविपरीत भन्दै निरुत्साहित गर्नेसमेत निर्णय गरेको छ । त्यसका लागि वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ । समितिमा पार्टी प्रवक्ता भक्तिप्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य छन् । 

बैठकले सबै स्थानीय तहमा राप्रपाले उम्मेदवार खडा गर्ने पनि निर्णय गरेको छ । जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए । 

यसैगरी, देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने, फागुनभरि  केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने पनि निर्णय गरेको छ । ‘पार्टीको सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने निर्णय गरेका छौँ,’ श्रेष्ठले भने ।