१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २६ बुधबार
  • Saturday, 28 September, 2024
२o७८ माघ २६ बुधबार o८:११:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कमल थापाको राजनीतिक ‘डिपार्चर’ राप्रपा र राजसंस्था परित्याग

पार्टीबाट अलग हुने निर्णय अस्वाभाविक र असामान्य : लिङ्देन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २६ बुधबार o८:११:oo

पञ्चायत, बहुदलीय व्यवस्था र गणतान्त्रिक व्यवस्थामा ‘राजसंस्था’लाई आदर्श मान्दै आएका राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले मंगलबार पार्टी र पुरानो आदर्श एकैसाथ परित्याग गरेका छन् । ६७ वर्षीय थापा गणतन्त्रपछि तीनपटक उपप्रधानमन्त्रीसहित मन्त्री भए पनि राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डाप्रति प्रतिबद्ध थिए । थापाले ‘धर्मसापेक्ष सनातन हिन्दू राष्ट्र’ एजेन्डासहित फागुन पहिलो साता नयाँ पार्टी गठन गर्दै छन् ।

‘मैले दुई महिनादेखि पार्टीमा निर्मल निवासको हस्तक्षेप छानबिनका लागि आग्रह गर्दै आएको थिएँ, त्यो विषय मेरो राजनीतिक जीवनमरणसँग सम्बन्धित थियो,’ निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग घोषणा गरेपछि हेटौँडाबाट नयाँ पत्रिकासँग भने, ‘मैले उठाएको विषयलाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक नलिएपछि बाध्य भएर मैले विकल्प खोजेको हुँ । वास्तवमा म पार्टीभित्रै बसेर सक्रिय हुन चाहन्थेँ, तर परिस्थिति तयार गरिएन ।’ 

तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालको आखिरी दुई महिना गृहमन्त्री भएका थापाले गणतन्त्र स्थापनापछि पनि राजसंस्था पुनस्र्थापनामा जोड दिँदै आएका थिए । तर, उनले सक्रिय राजसंस्था नभएर सेरेमोनियल राजसंस्थाको पक्षमा वकालत गर्दै आएका थिए । जनआन्दोलनपछि गणतन्त्र स्वीकार गरेका राप्रपा नेताद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई पनि थापाले पाँच वर्षअघि राजसंस्थाको एजेन्डामा सहमत गराएर राप्रपाका समूहको एकीकरण गरेका थिए । 

मंसिर दोस्रो साता सम्पन्न पार्टी महाधिवेशनमा पूर्वराजा शाहको हस्तक्षेपका कारण आफू अध्यक्षमा पराजित भएको आरोपसहित थापाले सार्वजनिक रूपमा निर्मल निवासप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।राजसंस्थाको एजेन्डा बोके पनि जनआन्दोलनपछि पूर्वराजा ज्ञानेन्द्र र उनका सहयोगीहरूले आफूलाई सधैँ असहयोग गरेको र पार्टी महाधिवेशनमा असहयोग उत्कर्षमा पुगेको थापाको निष्कर्ष छ । यसपटक पार्टीमा पराजित हुनुलाई थापाले ‘राजसंस्थाको बोझ’बाट मुक्ति पाउने अवसरका रूपमा सदुपयोग गरेको उनीनिकटस्थ नेताहरूको भनाइ छ । ‘पूर्वराजा ज्ञानेन्द्र शाहको असहयोगको राजनीतिक प्रतिकार भएको हो,’ थापानिकट एक नेताले भने । उनका अनुसार थापाले अब पनि गणतन्त्रप्रति प्रतिबद्धता जनाउनेछैनन् । उनी सेरेमोनियल राजसंस्थाप्रति निष्ठा कायम राख्ने, तर वकालत नगर्ने पक्षमा छन् । 

दुई वर्षअघि गीताको कसम खाएर पार्टी नफुटाउने संकल्प गरेका थिए
थापाले दुई वर्षअघि पार्टी एकताका क्रममा श्रीमद्भागवत् गीताको कसम खाएर पार्टी नफुटाउने संकल्प गरेका थिए । उनले पार्टी त्याग गरेसँगै गीताको कसम तोडेको भन्दै चौतर्फी आलोचना भएको छ । थापाले भने गीता छोएर गरेको प्रतिबद्धताका आधारमा व्यक्तिगत रूपमा पार्टी त्यागेको प्रतिक्रिया दिए । ‘मैले पार्टी नफुटाउने कसम खाएको थिएँ, त्यसै कारण म अलग भएको हुँ,’ थापाले भने, ‘मैले राप्रपाका एकजना कार्यकर्तालाई पनि छाडेर आउनुस् भनेर करकाप गरेको छैन र गर्दिनँ । त्यही कारण मैले कसैलाई जानकारी नदिई पार्टी त्याग गरेको हुँ ।’ 

मैले दुई महिनादेखि पार्टीमा निर्मलनिवासको हस्तक्षेप छानबिनका लागि आग्रह गर्दै आएको थिएँ, त्यो विषय मेरो राजनीतिक जीवनमरणसँग सम्बन्धित थियो । मैले उठाएको विषयलाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक नलिएपछि बाध्य भएर मैले विकल्प खोजेको हुँ । वास्तवमा म पार्टीभित्रै बसेर सक्रिय हुन चाहन्थेँ, तर परिस्थिति तयार गरिएन ।
कमल थापा पूर्वअध्यक्ष, राप्रपा

लिङ्देन अचम्मित,चन्द र राणाले साथ नदिने
अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष थापाको पार्टी बहिर्गमनसम्बन्धी निर्णयबाट आफू अचम्मित भएको प्रतिक्रिया दिएका छन् । मंगलबारै राप्रपा संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द र निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणालाई भेटेर लिङ्देनले उपत्यकामा उपलब्ध पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएका थिए । बैठकले पार्टी त्याग्ने निर्णयमा पुनर्विचार गर्न थापालाई आग्रह गरेको छ । बैठकमा लिङ्देनले नेताद्वय चन्द र राणाले पार्टीप्रति समर्थन जनाएको जानकारी दिएका थिए । राणाले थापाको ‘व्यक्तिगत प्रस्थान’ भन्दा धेरै ठूलो विषय बनाउन नहुने बताएका थिए ।

पदाधिकारी बैठकमा महामन्त्री राजेन्द्र गुरुङलगायतले पार्टी कमजोर पार्ने रणनीतिअन्तर्गत थापाको निर्णय आएको भन्दै प्रतिवाद गरेर जानुपर्ने धारणा राखेका थिए । अर्की महामन्त्री कुन्ति शाहीले भने थापासँग फेरि छलफल गर्नुपर्ने र उनलाई पार्टीमा फर्किने वातावरण बनाउनुपर्ने बताएकी थिइन् । ‘पार्टीले थापालाई निर्णयमा पुनर्विचार गर्न र कार्यकर्तालाई विचलित नभई स्थानीय निर्वाचनको तयारीमा सक्रिय हुन आग्रह गरेको छ,’ पदाधिकारी बैठकपछि प्रवक्ता मोहन श्रेष्ठलेसँग भने । 

लिङ्देन–थापा वार्तामा के भयो ? 
शनिबार अध्यक्ष लिङ्देन र थापाबीच बुढानीलकण्ठमा भेटवार्ता भएको थियो । थापाको ‘फेस सेभिङ’ हुने गरी माग सम्बोधन गर्ने मध्यमार्गी बाटो तय भइसकेको अवस्थामा थापाको ‘असामान्य र अप्रत्याशित’ निर्णय आएको लिङ्देनले बताए । ‘म उहाँ (कमल थापा)सँग हिजोसम्म सम्पर्कमा थिएँ । मंगलबार साँझ हामी भेट्ने सरसल्लाह थियो । उहाँको फेस सेभिङ हुने गरी मध्यमार्गी मोडेलका बारेमा म संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द र पार्टीका अन्य वरिष्ठ नेता, पदाधिकारीसँग छलफलमै थिएँ,’ लिङ्देनले भने । उनले पूर्वप्रधानमन्त्री चन्दसँग कुराकानी गरिरहेका वेला थापाले पार्टी त्यागेको घोषणा गरेका थिए । थापाले पनि सोमबार साँझ हेटौँडा जानुअघि नेता चन्दसँग भेटवार्ता गरेका थिए ।

 नयाँ पार्टी गठनका लागि गृहकार्य सुरु
सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ । थापाले बुधबारबाट नयाँ पार्टी गठनका लागि गृहकार्य गर्दै छन् । निर्वाचन आयोगसँगको समन्वयमा फास्ट ट्र्याकबाट दल दर्ता गर्ने थापाको तयारी छ । निकटस्थहरूका अनुसार उनले पार्टीको विधान, घोषणापत्र, राजनीतिक दस्ताबेज तयार गरिसकेका छन् । उनीनिकटस्थ केन्द्रीय सदस्य तथा नेताहरूले यही साता व्यक्तिगत रूपमा राप्रपा परित्याग गर्नेछन् । ‘हामीसँग समय नभएको हुनाले तत्काल पार्टी दर्ताको प्रक्रिया अघि बढाउँदै छौँ,’ थापानिकटस्थ एक नेताले भने ।

०६२/६३ पछि थापाको नेतृत्वमा गठित राप्रपा नेपालमा अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई साथ दिँदै आएका थिए । पछिल्लो महाधिवेशनमा पुस्तान्तरणको मुद्दा उठाएर उनले थापासँग चुनाव लडेका थिए । लिङ्देन निर्वाचित भएपछि टेलिफोनमा बधाई दिएका थापाले आफ्नो पराजयलाई निर्मल निवासको हस्तक्षेपको परिणाम भन्दै आएका थिए । थापाले निर्मल निवासको हस्तक्षेप छानबिनका लागि माग गर्दै २७ मंसिर र १६ माघमा अध्यक्ष लिङ्देनलाई चिठी लेखेका थिए । लिङ्देनले भने निर्मल निवासबारे छानबिन हुन नसक्ने बताउँदै आएका थिए । महाधिवेशनपछि थापा पार्टीको कुनै पनि कार्यक्रममा सहभागी भएका थिएनन् भने पार्टी कार्यालयसमेत टेकेका थिएनन् । तर, लिङ्देनले भने धुम्बाराहीस्थित थापाले प्रयोग गरेको अध्यक्षको कार्यकक्ष थापाकै लागि छाडिदिएका थिए ।