मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
२o८१ पौष ५ शुक्रबार o८:२४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नाकामा खटिएका सशस्त्र प्रहरीको ज्यादती : रुपैडिहाबाट किनमेल गरेर फर्केका छोराको सामानबारे सोध्न जाँदा निर्घात कुटिए साहू

सशस्त्र प्रहरीले बुटले अण्डकोष र छातीमा हिर्काउँदा नन्कौ साहू बेहोस भएर भुइँमा ढले

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार o८:२४:oo

भारतको रुपैडिहाबाट आइतबार दिउँसो सामान किनमेल गरी फर्किंदै गरेका १३ वर्षीय छोराको सामान नियन्त्रणमा लिएपछि सोधपुछ गर्न चौलिका चोक पुगेका नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरका नन्कौ साहू ड्युटीमा खटिएका सशस्त्र प्रहरीबाट निर्घात कुटिए । सामान्य भनाभनका क्रममा सशस्त्र प्रहरीले निर्मम तरिकाले कुटपिट गरेको उनको गुनासो छ ।

सशस्त्र प्रहरीले बुटले अण्डकोष र छातीमा हिर्काउँदा उनी बेहोस भएर भुइँमा लडेका थिए । बेहोस भएका उनलाई सशस्त्र प्रहरीले आफ्नो भ्यानमा राखेर उपचारका लागि भेरी अस्पताल लगेको थियो । ‘ड्युटीमा रहेका सशस्त्र प्रहरीले सामान्य छलफलकै क्रममा बुटले एक्कासि अण्डकोष र छातीमा हिर्काए । बेहोस भएपछि पनि कुटपिट गर्न छाडेनन्,’ उनले भने, ‘स्थानीयले विरोध गरेपछि सशस्त्र प्रहरीले आफ्नो भ्यानमा राखेर भेरी अस्पताल पुर्‍यायो । अस्पताल पुगेको केहीबेरपछि मात्र मेरो होस खुलेको थियो ।’ आफ्नो उपचार खर्च सशस्त्र प्रहरीले व्यहोरेको उनले बताए । ‘उपचारमा १२–१३ सय रुपैयाँ खर्च भएको थियो, त्यो रकम पनि सशस्त्र प्रहरीले व्यहोर्‍यो,’ उनले भने ।

१४ भदौ ०८० मा पनि सशस्त्र प्रहरीले बन्दुकको कुन्दाले हिर्काउँदा नेपालगन्ज उपमहानगरपालिका– १४ चौलिका चोकका १३ वर्षीय जाहेद ढपालीको देब्रे आँखाको ज्योति गुमेको थियो । सशस्त्र प्रहरी र स्थानीयबिच भएको विवाद हेर्न गएका उनलाई ड्युटीमा रहेका सशस्त्र प्रहरीले राइफलको कुन्दाले देब्रे आँखामा हिर्काएका थिए । ‘सर्वसाधारण महिलाले घर खर्चका लागि चामल ल्याइरहेका थिए । चौलिका चोकमा खटिएका सशस्त्र प्रहरीले लैजान नदिएपछि विवाद भइरहेको रहेछ । के भयो भनेर हेर्न गएका वेला एक्कासि राइफलको कुन्दाले आँखामा हिर्काए,’ उनले भने, ‘अनाहकमा आँखा गुमाउनुपर्‍यो । दुई लाख रुपैयाँ क्षतिपूर्ति दिँदैमा मेरो आँखाको नानी फर्किने त होइन ? 

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि फत्तेवाल आँखा अस्पतालमा उपचार गराए पनि उनको आँखा फुटेको रिपोर्टमा उल्लेख छ । ‘माछा किनेर फर्किंदै थिएँ । सशस्त्र प्रहरी र स्थानीयबिच के विवाद भएको छ भनेर हेर्न गएका वेला सशस्त्र प्रहरीका जवान एक्कासि आएर राइफलको कुन्दाले आँखामा हिर्काए,’ उनले भने, ‘धेरै चोट लागेकाले उपचार सम्भव भएन । अनाहकमा आँखा गुमाउनुपर्‍यो । सशस्त्र प्रहरीका कारण मेरो जीवन बर्बाद भयो ।’

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जले घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सशस्त्र प्रहरीले जायद ढपालीलाई अनाहकमा राइफलको कुन्दाले हिर्काउँदा आँखामा गम्भीर चोट लागेको र चोटका कारण ढपालीले एउटा आँखा गुमाएको निष्कर्षसहितको प्रतिवेदन तयार गरी क्षतिपूर्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरेको छ । 

आयोगले सशस्त्र प्रहरीको कमजोरी भएको ठहर गरी पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशनसमेत दिएको छ । तर, अहिलेसम्म सरकारले क्षतिपूर्ति नदिएको जायदकी आमा रुक्साना ढपालीले बताइन् । ‘क्षतिपूर्ति दिने भनेको धेरै दिन भइसक्यो, तर दिने–नदिने अहिलेसम्म कुनै टुंगो छैन । अहिलेसम्म खबर पनि आएको छैन,’ उनले भनिन् । रुक्साना दुई लाख रुपैयाँले छोराको आँखा फिर्ता नहुने बताउँछिन् । ‘नक्कली आँखा हालिदिने भनेका छौँ । पैसा नभएर हाल्न सकेका छैनौँ,’ उनले भनिन् । नाकामा खटिएका सशस्त्र प्रहरीले घरायसी सामान ल्याउनेसँग पैसा असुल्ने गरेको एक स्थानीयले बताइन् । उनले पाँच रुपैयाँसमेत माग्ने गरेको सुनाइन् । ‘पानी, चिया, नास्ता खुवाउनुपर्‍यो भन्छन् । पैसा छैन भनेपछि पाँच रुपैयाँमा समेत चित्त बुझाउँछन्,’ उनले भनिन् । 

छोरासँग पैसा माग्दा नदिएकै कारण सामान ल्याउन नदिएको नन्कौ साहूले बताए । उनले एक हजार ६९० रुपैयाँबराबरको सामान भारतबाट ल्याएको दाबी गरे । ‘छोराले एक हजार ६९० रुपैयाँको सामान ल्याउँदै थियो । सशस्त्र प्रहरीले एक हजार रुपैयाँ मागेको रहेछ । सामान नियन्त्रणमा लिएपछि चौलिका चोक पुगेँ,’ उनले भने, ‘दश हजार रुपैयाँबराबरको कस्मेटिक सामान ल्याएको गलत प्रचार गरेका छन् । यसमा कुनै सत्यता छैन । पुरानो भिडियो सार्वजनिक गरेर मेरो बदनाम गर्न खोजियो ।’

नन्कौ परसपुरमा किराना पसलसँग ठेलामा बदाम बिक्री गरी जीविकोपार्जन गर्दै आएका छन् । ‘फागुनसम्म ठेलामा बदाम बिक्री गर्छु । त्यसपछि हिरमिनिया र शमशेरगन्जबाट मकैको कोसा ल्याएर ठेलामा पोलेर बेच्छु । मकै र मम्फली बिक्री गरेर जीविका चलाउने म कस्मेटिक सामान तस्करी कसरी गर्न सक्छु ?’ उनले भने ।