मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ५ शुक्रबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका घोडाघोडी
२o८१ पौष ५ शुक्रबार १३:५२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, घोडाघोडी
नयाँ पत्रिका
२o८१ पौष ५ शुक्रबार १३:५२:oo

टीकापुर नगरपालिका– १५ की अञ्जली थापाकाे बिहान घरको कामधन्दा र बच्चालाई स्कुल पुर्‍याउँदैमा बित्छ । त्यसपछि दिउँसोको समयमा  उनी टीकापुर– ७ स्थित तिलगंगा बेत–बाँस फर्निचर उद्योगमा काम गर्न पुग्छिन् ।

उनले बिहान–बेलुका घरको कामसँगै उद्योगमा काम गरेर मासिक २५ देखि ३० हजार रुपैयाँसम्म कमाउँछिन् । घरमा बसेर घरको रेखदेखसँगै आम्दानी हुने काम गर्न पाउँदा अञ्जली खुसी छिन् ।

‘श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ,’ उनले भनिन्, ‘मैले घर र केटाकेटीको स्याहार–सुसारसँगै घर खर्च कमाइरहेकी छु । दुवैजनाले काम गर्दा सहज भएको छ ।’

अञ्जलीजस्तै टीकापुर– ३ कि सुनिता चौधरीको दैनिकी पनि सोही उद्योगमा काम गरेर बित्छ । सुनिता श्रीमानसँगै सोही उद्योगमा काम गर्छिन् । ‘खेती पनि लगाउने गरेका छौँ,’ सुनिताले भनिन्, ‘घरपरिवार, केटाकेटी, खेतीबारीसँगै नजिकै रहेको उद्योगमा काम गर्दा निकै सहज हुन्छ । हामीले घरपरिवारसँग समय बिताउन पाएका छौँ भने रोजगारी पनि पाएका छौँ ।’

अञ्जली र सुनिताजस्तै उक्त फर्निचर उद्योगमा ३५ जनाभन्दा बढीले काम गरिरहेका छन् । टीकापुर– ७ सत्तीमा पाँच वर्षअगाडि स्थानीय भरतलाल विकले तिलगंगा बेत–बाँस फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन् । ‘उद्योग सञ्चालनको सुरुवातमा भारतको काेलकाताबाट कामदार ल्याएको थिएँ,’ उनले भने, ‘बिस्तारै स्थानीयलाई काम सिकाएँ, अहिले ३५ जनाभन्दा बढी स्थानीयलाई रोजगार दिइरहेको छु ।’

भारतीय कामदारले भन्दा स्थानीयले रोजगारी पाउन् भन्ने उद्देश्यले स्थानीयलाई नै प्राथमिकतामा राखेको भरतलालको भनाइ छ । उनका अनुसार कामदारलाई प्रतिगोटाका आधारमा पारिश्रमिक दिने गरिन्छ । एकजनाले मासिक २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्ने गर्दछन् । वर्षायाममा भने बेत–बाँसकाे काम हुँदैन ।

‘आठ वर्ष मलेसियामा बसेँ, त्यसपछि भारतको काेलकातामा गएर काम सिकेँ । त्यहाँ सिकेको सीप आफ्नै ठाउँमा सदुपयोग गर्दै स्थानीयले पनि रोजगारी पाउन् भन्ने उद्देश्यका साथ उद्योग सञ्चालन गरेको हुँ,’ भरतलालले भने ।

‘१० लाख रुपैयाँबाट सुरु गरेको उद्योगबाट थुप्रै कमाएँ भन्न त सक्दिनँ, तर सन्तुष्ट छु,’ उनले भने । उद्योगमा उत्पादित सामग्रीले राम्रो बजार पनि पाइरहेका छन् । टीकापुर नगरपालिका कार्यालयमा पनि उद्योगबाट उत्पादित सामग्री प्रयोग भइरहेको र  काठमाडौं, पोखरालगायतका विभिन्न जिल्लामा सामग्री पठाउने गरेको उनले सुनाए ।

कच्चापदार्थ (बेत–बाँस)का लागि नजिकै रहेको सत्ती कर्णाली सामुदायिक वन छ । उक्त सामुदायिक वनबाट आवश्यकताअनुसार बेत–बाँस ल्याउने गरेको उनी बताउँछन् । सामुदायिक वनले बोलपत्र आह्वान गरी बेत–बाँस बिक्री गर्ने गर्दछ ।