प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार कैलाश कोइरालाको ‘शास्त्र’ उपन्यासको विमोचन कार्यक्रमपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले सरकारले जसरी काम गर्नुपर्ने हो त्यसरी काम गर्न नसकेको टिप्पणी गरेका हुन्।
सरकारका विषयमा असन्तुष्टि रहे पनि तत्काल सरकारमा मन्त्री फेरबदल भने नहुने उनको भनाइ थियो। ‘सरकारका आफ्ना कमीकमजोरीबारे प्रधानमन्त्रीज्यू पक्कै पनि सचेत हुनुहुन्छ। सरकार बनिसकेपछि जुन खालको आशा हो, त्यो आशाअनुसारको जसरी डेलिभरी हुनुपर्ने हो त्यो डेलिभरी भने भइरहेको छैन,’ महामन्त्री थापाले भने, ‘अहिले सरकारको कुनै फेरबदल हुँदैन। सरकारको कामका विषयमा सबैभन्दा बढी सचेत प्रधानमन्त्री आफैँ रहनुपर्छ। उहाँ हुनुहुन्छ।’
अर्को प्रसंगमा महामन्त्री थापाले कांग्रेसमा पछिल्लो समय महाधिवेशन र निर्वाचनको मात्रै चर्चा हुने गरेको भन्दै चिन्ता व्यक्त गरे। यी विषयले समग्र मुलुकका विषय छायामा पर्ने उनको भनाइ थियो। ‘हामी पनि अहिले दुईवटा मात्रै कुरा सोच्न र गर्न थालेका छौँ, पार्टीको महाधिवेशन कहिले हुन्छ र चुनाव हारिन्छ कि जितिन्छ !’ उनले भने, ‘कांग्रेसले यति मात्र सोचेर हुँदैन । समाजमा जस्तो खालको अँध्यारो छ, सबै नागरिकहरूलाई जोडेर त्यसबाट देशलाई अँध्यारोबाट उज्यालोतिर लैजानतर्फ लाग्नुपर्छ।’
सहकारी प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा उनले अदालतको प्रक्रियामा रहेको विषयमा आफूले प्रतिक्रिया दिन नमिल्ने बताए। ‘सम्मानित अदालतमा छलफल भएको विषयमा टिप्पणी गर्नु न्यायिक निरुपणलाई प्रभावित गर्ने कुरा हुन्छ,’ उनले भने।