आइसिसी टी–२० ग्लोबल छनोटमा नेपाल समूह एमा छ । यस समूहमा नेपालले क्यानडा, ओमान र फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । छनोट प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।
नेपालले ओमानमा हुने विश्वकपअन्तर्गत ग्लोबल छनोटअघि चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजमा समेत सहभागिता जनाउनेछ । यो सिरिजलाई विश्वकपको तयारीका रूपमा हेरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रोपटक आइसिसी पुरुष टी–२० विश्वकपमा छनोट हुने लक्ष्यका साथ मंगलबार साँझ ओमानतर्फ प्रस्थान गरेको छ । सन् २०१४ पछि नेपालले टी–२० विश्वकप खेलेको छैन । फेरि विश्वकप खेल्ने सपना साकार गर्ने लक्ष्यका साथ तयारी गरेको टोलीका कप्तान सन्दीप लामिछानेले बताएका छन् । ‘हामीले दोस्रोपटक विश्वकप खेल्ने तयारीका साथ अभ्यास गरेका छौँ,’ नेपालका दशौँ कप्तान सन्दीपले भने, ‘सबै उत्साहित छन् ।’
नेपालले ओमानमा हुने विश्वकपअन्तर्गत ग्लोबल छनोटअघि चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजमा समेत सहभागिता जनाउने छ । यसलाई विश्वकपको तयारीका रूपमा हेरिएको छ । सिरिजमा नेपाल, आयरल्यान्ड, आयोजक ओमान र युएई रहेका छन् । नेपालले आउने शुक्रबारै सिरिजअन्तर्गत ओमानसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि युएई र आयरल्यान्डसँग खेल नेपालको खेल रहेको छ । यो सिरिजपछि नेपालको मुख्य लक्ष्य नै ग्लोबल छनोटमा शीर्ष दुई स्थानमा रही विश्वकपमा स्थान रक्षा गर्नु हुनेछ ।
सन् २०२२ को अन्त्यतिर अस्ट्रेलियामा टी–२० विश्वकप हुँदै छ । अन्तर्राष्ट्रिय सिरिजपछि नै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले टी–२० विश्वकपका लागि अन्तिम १५ सदस्य टोली घोषणा गर्नेछन् । ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टोली छन् । आइसिसीले यसै आठ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जर्मनी रहेका छन् । प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।यसपटकको टोलीमा मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर, युवा खेलाडी लोकेश बम तथा विवेक यादवले स्थान बनाएका छन् ।लामो समयपछि शरदले टोलीमा स्थान बनाएका हुन् । शरदलाई स्ट्रोक प्लेयरका रूपमा हेरिन्छ । आवश्यकता परेको अवस्थामा शरद लामो बाउन्ड्री लगाउन सक्छन् । सिनियर खेलाडीका रूपमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि छन् । पछिल्लो समयमा घरेलु क्रिकेटमा लोकेश र विवेकले राम्रो छाप राखेका छन् । नेपाली सिनियर टोलीमा पहिलोपटक स्थान बनाएका लोकश र विवेकले ओमान सिरिजमा डेब्यु गर्ने अवसर पाएका छन् ।
पहिलोपटक सिनियर टोलीको कप्तान गरिरहेका सन्दीपले नेपालको विश्वकप खेल्ने सम्भावना रहेको बताए । ‘हाम्रो विश्वकपमा छनोट हुने सम्भावना छ,’ उनले भने, ‘केही वर्षयता नेपालले क्रिकेट राम्रो खेलिरहेको छ ।’ पारस खड्काको कप्तानीमा नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा स्थान पक्का गरेको थियो ।
डेढ महिनाअघि मुख्य प्रशिक्षक बनेका पुबुदुले नेपाललाई फेरि विश्वकप पुर्याउने लक्ष्य राखेको बताए । ‘हाम्रा सामु केही चुनौती छन्, योजनाअनुसार खेल्दै जाने हो भने नेपाल विश्वकपमा पुग्नेछ,’ गत साता क्यानले आयोजना गरेको भर्चुअल कार्यक्रममा पुबुदुले भनेका थिए, ‘नेपालको तयारी राम्रो छ ।’ यसैबीच खेलकुद मन्त्रालय र क्यानले मंगलबारै भर्चुअल माध्यमबाट टोलीको बिदाइ गरेका छन् ।
नेपालले खेल्ने तालिका
टी–२० सिरिज
२८ माघ ओमान
२९ माघ युएई
२ फागुन आयरल्यान्ड
आइसिसी ग्लोबल टी–२० विश्वकप छनोट
६ फागुन ओमान, ओमान एकेडेमी १
७ फागुन फिलिपिन्स, ओमान एकेडेमी २
९ फागुन क्यानडा, ओमान एकेडेमी १
१० फागुन पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)
१० फागुन दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)
१२ फागुन फाइनल
टोलीमा सागर थपिए
नेपाली टोलीमा सागर ढकाल थप भएका छन् । प्रशिक्षक पुबुदुले ओमानमा निस्किएको नेपाली टोलीमा थप एकजना स्पिनरका रूपमा ढकाललाई राखेका हुन् । सागरसँगै अब नेपाली टोलीमा १७ जना खेलाडी भएका छन् । कोभिड–१९ को असरको समय रहेकाले नेपाल क्रिकेट संघ (क्यान)ले ओमान भ्रमणका एक खेलाडी थप गरेको जनाएको छ । सागर पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । उनी नेपाल पुलिस क्लबमा आबद्ध छन् ।
सागरको विशेषता नै टोलीमा आवश्यक परेको वेला अलराउन्ड प्रदर्शन गर्न सक्छन् । दायाँहाते ब्याटिङ गर्न रुचाउने सागर बायाँहाते स्पिनर हुन् । घरेलु क्रिकेटमा असोजमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा उनले चितवन टाइगर्सबाट पोखरा राइनोजविरुद्ध प्रतिस्पर्धा गरेका थिए । जसमा उनले सात खेलमा १४ विकेट हात पारेका थिए । इपिएलमा उनले दुईपटक चार विकेटको प्रदर्शन गरेका थिए ।
यसै महिना टियु मैदानमा सम्पन्न प्रधानमन्त्री कप टी–२० फाइनलमा उनले पुलिसबाट एपिएफविरुद्ध प्रतिस्पर्धा गरे । एपिएफविरुद्धको फाइनलमा उनले ३.५ ओभरमा २९ रन खर्चेर तीन विकेट हात पारे ।
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, लोकेश बम र प्रदीप ऐरी
मुख्य प्रशिक्षक– पुबुदु दासानायके
बलिङ प्रशिक्षक – धाम्मिका प्रसाद