१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २४ सोमबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २४ सोमबार o८:५७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

द्वन्द्वमा बेपत्ता पारिएका  परिवारलाई राहत दिइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २४ सोमबार o८:५७:oo

सरकारले नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरूको पहिचान गरी परिचयपत्र प्रदान गरिएका व्यक्तिका परिवारको सबैभन्दा नजिकका ९३ हकदारलाई राहत रकम जनही १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले नेपालमा १ फागुन ०५८ देखि ५ मंसिर ०६३ सम्म भएको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको पहिचान गरी सो रकम उपलब्ध गराउने भएको हो । आयोगका अध्यक्ष युवराज सुवेदीका अनुसार आयोगको सिफारिस कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । पीडित परिवारले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत रकम पाउनेछन् ।   

आयोगले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई सिफारिस गरेको थियो । सिफारिस कार्यान्वयनका लागि मन्त्रालयले मन्त्रिपरिषद्बाट गत ६ मंसिरमा निर्णय गरेको थियो, तर आइतबार मात्र औपचारिक रूपमा पत्र आयोगमा पुगेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको निर्णय कार्यान्वयन गर्न बेपत्ता पारिएका ९३ व्यक्तिका परिवारजनलाई १० लाखका दरले नौ करोड ३० लाख रुपैयाँ मात्र आर्थिक सहायता उपलब्ध सरकारले निर्णय गरेको थियो ।

आयोगको निर्णय कार्यान्वयन गर्न सीताराम कार्कीलगायत ९३ व्यक्तिका परिवारलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन, २०७१ को दफा २ को खण्ड ‘च’ को परिभाषामा परेकालाई उक्त रकम दिइएको हो । उक्त परिभाषामा बेपत्ता व्यक्तिको पति वा पत्नी, छोराछोरी, बाबुआमा, सासूससुरा, बाजेबजै, नाति नातिनी वा सगोलको दाजुभाई वा दिदीबहिनी सम्झनुपर्छ भनिएको छ ।   

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजार दुई सय ४३ उजुरीमध्ये दुई सय ३७ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको थियो । दुई सय ८९ उजुरीमा सशस्त्र द्वन्द्वको क्रममा व्यक्ति बेपत्ता पारेका भन्ने नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखिएको छ । आयोगले दुई हजार चार सय ९६ उजुरीमा विस्तृत छानबिन गरिरहेको छ । उजुरीको आधारमा दुई हजार पाँच सय १३ व्यक्तिहरू बेपत्ता पारिएको आयोगको तथ्यांकमा उल्लेख छ।