१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

रहिनन् ‘भारत रत्न’ लता मंगेशकर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:२२:oo

भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । कोभिड संक्रमण र निमोनियाबाट थलिएकी मंगेशकर केही समयअघि मुम्बईको ब्रिच क्यान्डी अस्पताल भर्ना भएकी थिइन् । उपचारकै क्रममा उनको आइतबार निधन भएको हो ।बलिउडकर्मी र नेपालका संगीतकारहरूले उनको निधनसँगै एक युगको अन्त्य भएको बताएका छन् । द नाइटिंगेल अफ इन्डियाको उपनाम पाएकी उनलाई सन् २००१ मा भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’द्वारा सम्मान गरिएको थियो ।

उनको जन्म भारतको मध्यप्रदेशमा २८ सेप्टेम्बर १९२९ मा भएको थियो । लताको बुबा पण्डित दिनानाथ मंगेशकर संगीतकार थिए । जसका कारण सानैदेखि उनको नाता संगीतसँग गाँसियो । उनले पाँच वर्षकै उमेरमा बुबाका नाटकमा अभिनय र संगीत भर्ने गर्थिन् । भारतीय गीत–संगीतलाई उचाइसम्म पुर्‍याउने उनको अमूल्य योगदान छ । बलिउड फिल्मको पाश्र्वगायनमा उनको योगदान निकै महत्वपूर्ण मानिन्छ । उनले ३६ भाषामा ३० हजारभन्दा बढी गीतमा आवाज दिएकी छिन् ।उनले गाएका केही नेपाली गीत त रेकर्ड मात्रै भए रिलिज हुन पाएनन् । नेपाली मूलका भारतीय संगीतकारहरूसँगको सहकार्यमा फिल्मका लागि गीत  गाएकी छिन् ।

नेपालसँगको नाता
लतासँग नेपालको पनि साइनो छ । उनले पछिल्लोपटक गायक रामकृष्ण ढकालसँग ‘बाँचुन्जेलीलाई’ भन्ने गीत गाएकी थिइन् । यस्तै, माइतीघर फिल्मका लागि मबिबी (महेन्द्रवीरविक्रम शाह)को शब्द तथा जयदेवको संगीतमा रहेको ‘जुन माटोमा मेरो...’ र मबिबीकै शब्दमा रहेको ‘आकाशैका तिरमिरे तारा...’ बोलको गीत 
गाएकी छिन् । 

 राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शोक व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले ट्विट् गरेकी छिन्, धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मंगेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवंगत लता मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लता मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दर्जनौँ लोकप्रिय नेपाली गीतमा आवाज दिनुभएकी भारतीय गायिका लता मंगेशकरको निधनको खबरले दुःखी भएको छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

 सामाजिक सन्जालमार्फत नेपाली कलाकारले दिए श्रद्धाञ्जली 
विश्वभरिका सबै संगीतप्रेमीका मन–मस्तिष्कमा बस्न सफल साक्षात् सरस्वतीको अवतार लता दिदीको आज सरस्वती पूजाकै दिन निधनले स्तब्ध भएको छु । साथै, दिदीसँगको त्यो एक घन्टा मैले बिताएको क्षण र नेपाली गीत–संगीतप्रतिको दिदीको त्यो श्रद्धा र मायाप्रेम सधैँभरि अटल–अमर रहनेछ । लता दिदीले आफ्नै क्यामेराबाट खिच्न लगाएको यो तस्बिर सधैँसधैँ आशीर्वाद र प्रसाद भइरहनेछ ।

शम्भुजित बाँस्कोटा, संगीतकार
सरस्वतीकै साक्षात् अर्को रूप थियो... आजकै दिन भगवान्को प्यारो हुने लेखन्ता रहेछ । भाषा र भूगोलले छेक्न नसकेको एउटा सांगीतिक युगको महाप्रस्थानले स्तब्ध बनायो । उहाँको वैकुण्ठमा वास होस् ।
प्रमोद खरेल, गायक
यस जगत्की एक शाश्वत स्वरले आज ९२ वर्षको उमेरमा श्रीपञ्चमीका दिन सशरीर महाप्रस्थान लिनुभएको छ । एक साक्षात् सरस्वती श्रद्धेय लता मंगेशकरज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
शिव परिवार, गायक
तपाईंको स्वरको जादु सधैँ रहनेछ..., लता दिदी । ठूलो क्षति भएको छ । तपाईंको आत्माले शान्ति पाओस् ।
दिव्य देव, अभिनेता
प्रसिद्ध गायिका ‘स्वर कोकिला’ लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको खबरले अत्यन्तै मर्माहत बनायो, दिन पनि आज सरस्वती पूजाकै दिन पारेर जानुभएछ, हार्दिक श्रद्धाञ्जली ‘स्वर कोकिला’ लता मंगेशकरज्यू ।

हरि लम्साल, संगीतकार

 लताबाट धेरै गायक–गायिका तथा संगीतकार प्रभावित छन्
 प्रकाश सायमी, चलचित्रकर्मी

मैले सन् १९८४ मा मुम्बईमा उहाँले गीत रेकर्ड गरेको हेरेको थिएँ । चार तलामाथिको स्टुडियोमा गीत रेकर्ड गर्दा पहिलो तलाबाटै सुरक्षाकर्मी खटिएका हुन्थे । लिफ्ट पनि बन्द हुन्थ्यो । उहाँ आइतबार गीत रेकर्ड गर्नुहुन्नथ्यो । भर्‍याङ चढ्न सक्नुहुन्नथ्यो । त्यसपछि उहाँले गीत गाउन छोड्नुभयो । उहाँबाट धेरै गायक–गायिका तथा संगीतकार प्रभावित थिए ।

लता मंगेशकरले तत्कालीन राजा महेन्द्रवीरविक्रम शाहको आग्रहमा २०२१ सालमा नेपाली सिनेमा ‘माइती घर’का लागि ‘यही छ कामना मेरो..., गीत गाउनुभयो । गीत आफैँ पनि निकै हिट भयो । त्यसपछि राजा महेन्द्रलाई उहाँसँग अर्काे गीत गर्ने रहर भयो २०२२ साल ‘आकाशका तिरमिरे तारा...’ गाउन लगाउनुभयो । यो गीतमा हेमन्त कुमारले संगीत भरेका थिए । यो निकै हिट भएको थियो । 

पशुपतिनाथको फोटो र रुद्राक्षको माला लगिदिएको थिएँ
रामकृष्ण ढकाल, गायक

मैले ११ वर्षअघि उहाँसँग गीत गाउने अवसर पाएको थिएँ । ‘फूल भन्छ फुलिरहुँ...’ गीतका संगीतकार शिखर सन्तोष र म लता मंगेशकरले दिएको समयअनुसार मुम्बईतिर गएका थियौँ । उहाँले मुम्बईको स्वरलता स्टुडियोमा बोलाउनुभएको थियो । उक्त स्टुडियो उहाँकै हो । त्यहाँ जाँदा मैले लता मंगेशकरलाई पशुपतिनाथको फोटो र रुद्राक्षको माला लगिदिएको थिएँ । गीत रेकर्ड गराएपछि मेरो उहाँसँग भेट भएन । अप्रत्यक्ष रूपमा उहाँबारे सोध्ने र कुराकानीचाहिँ भएको छ ।

ad
ad