काठमाडाैंबाट खाँदबारी घुम्न आएकी कमला गुरुङले घरमा सजाउने उद्देश्यले करुवा किन्न चैनपुर पुगे पनि खोजेजस्तो पाउन सकिनन् । खाँदबारीबाट ४५ किमिको दूरीमा गाडी रिजर्भ गरेर चैनपुर पुगेकी गुरुङले भनेजस्तो करुवा नपाएपछि मन खिन्न बनाउँदै सामान्य दुईवटा करुवा किनेको बताइन् । ‘पहिले–पहिले राम्रा–राम्रा करुवा पाइन्थ्यो, अहिले त करुवा बनाउनै छाडिसकेछन् । चैनपुरे करुवा घरमा सिसाभित्र सजावट गर्दा घर नै उज्यालोजस्तो हुन्थ्यो, तर भनेजस्तो पाइनँ,’ गुरुङले भनिन् ।
संखुवासभाको पुरानो व्यापारिक केन्द्र चैनपुरमा नेवार जातिहरूले परम्परागत रूपमा करुवा बनाउने चलन छ । तर, पछिल्लो समय उत्पादन कम हुँदा माग भने उच्च छ । संखुवासभा आइपुग्ने जोकोहीलाई पनि फर्कने वेलामा जिल्लाको कोसेलीस्वरूप चैनपुरे करुवा दिने चलन नै बसेको छ । उत्कृष्ट डिजाइन भएकाले र हेर्दा राम्रो देखिने भएकाले जोकोहीलाई चैनपुरे करुवाले लोभ्याउँछ । एक शताब्दीअघिदेखि ख्याति कमाउँदै आएको चैनपुरे करुवाको सान यतिवेला भने अस्ताउँदो अवस्थामा पुगेको भन्र्दै स्थानीय सरोकारवालाहरूले चिन्ता गर्न थालेका छन् ।
काठमाडौं नागबहालबाट करिब डेढ शताब्दीपहिले शाक्य परिवार संखुवासभाको चैनपुर आएर बसेसँगै चैनपुरमा करुवाको उत्पादन सुरु भएको स्थानीय बुढापाकाहरूको भनाइ छ । परम्परागत शैली र सीपको प्रयोग गरी काँसको धातुबाट बनाइने यो करुवाको प्रयोग सामान्यतया पानी पिउन गरिन्छ । तर, कलात्मक शैलीमा निर्माण गरिएको यहाँको करुवा घरमा सजावटका लागि पनि प्रयोग हुन थालेपछि यसको माग उच्च हुँदै गएको हो । पछिल्लो समय कामदारसँगै कच्चा पदार्थको अभावले उत्पादन घट्दो अवस्था रहेको चैनपुरका स्थानीय व्यवसायी देवेन्द्र शाक्यले बताए ।
केही वर्षदेखि चैनपुर पुग्ने पाहुना र अतिथिलाई बिदाइको क्षणमा संखुवासभाको चिनो चैनपुरे करुवा दिने परम्परा नै बसेको छ । तर, आजभोलि चैनपुरे करुवा पाउन नै मुस्किल पर्न थालेको स्थानीय उमेश शाक्यले बताए । दुई दशकअघिसम्म तीन दर्जनभन्दा बढी करुवा उत्पादक रहेको चैनपर क्षेत्रमा कामदार र कच्चा पदार्थ अभावका कारण हाल आधा दर्जनमा सीमित भएका छन् । पछिल्लो पुस्ताले चैनपुरे करुवा बनाउनेतर्फ बेवास्ता गर्दा पहिचान नै थलिएको सरोकारवालाहरू बताउँछन् । ‘करुवा उत्पादनका लागि सखुवाको काठको गोल चाहिन्छ, तर द्वन्द्वकालताका त्यो उत्पादन सम्भव भएन । त्यसैमाथि गोल उत्पादनका लागि विभिन्न सामुदायिक वनहरूबाट गर्नुपर्ने झन्झटिलो प्रक्रियाका कारण पनि यो व्यवसाय थप संकटमा परेको हो,’ स्थानीय शाक्यले भने ।
चैनपुरे करुवालाई पहिलेकै अवस्थामा फर्काउन कच्चा पदार्थको सहजता, प्रविधि र सीपको विकासतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीय व्यवसायी पदम शाक्यले बताए । पछिल्लो समय आधुनिक प्रविधिबाट एकैपटकमा हजारौँ करुवा निर्माण हुने प्रविधि भित्रिए पनि हातबाट बनाइने चैनपुरे करुवामा जस्तो सिर्जना समेटिएको हुँदैन । चैनपुरे करुवाको उत्पादन बढाउनमा दक्ष जनशक्ति बढाउनुपर्ने र आवश्यक कच्चा पदार्थ संकलन गर्नका लागि सामुदायिक वनले सहजता अपनाउनुपर्ने स्थानीयहरूको भनाइ छ । स्थानीय सरकारले समेत संखुवासभाको नै सानका रूपमा चिनिएको चैनपुरे करुवाको उत्पादन बढाउनका लागि तत्परता देखाउन आवश्यक देखिन्छ ।