१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २२ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २२ शनिबार १९:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन-सरुवा हुने वेला आयो भन्दै दिन गनेर नबस्नुस्, दायित्व पूरा गर्नेतर्फ लाग्नुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २२ शनिबार १९:५१:oo

गृहमन्त्री बालकृष्ण खाणले प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर बस्दाका दिनसम्म प्रभावकारी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयले जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे शनिबार गरेको भर्चुअल बैठकमा गृहमन्त्री खाणले अब मेरो सरुवा हुने वेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित्व पूरा गर्नेतर्फ लाग्न निर्देशन दिएका हुन् । 

उनले जिम्मेवारी राम्रोसँग निभाएको निष्कर्ष मन्त्रालयले निकालेमा तोकिएको समयभन्दा बढी समयसम्म पनि जिल्लामा प्रमुख जिल्ला अधिकारी बनाएर राख्न सक्ने भन्दै आफू जुन दिनसम्म जिल्लामा बसिन्छ त्यस दिनसम्म प्रभावकारी काम गर्नुपर्ने बताए । 

‘प्रमुख जिल्ला अधिकारीज्यूहरूले आफ्नो जिल्लाको शान्ति सुरक्षाबारे ध्यान दिनुस् । एक वर्ष पुग्न यति दिन बाँकी छ भनेर दिन गन्दै नबस्नुस् । मन्त्रालयले तपाईंले गरेको काम राम्रो छ भन्ने मूल्यांकन गर्यो भने त्योभन्दा बढी समयसम्म पनि तपाईंलाई प्रजिअ बनाएर राख्न सक्छ,’ गृहमन्त्री खाणले भने, ‘जुन दिनसम्म जिल्लामा बस्नुहुन्छ, त्यस दिनसम्म प्रभावकारी काम गरेको छाप छोड्नुपर्छ । तपाईंहरू सरकारको प्रतिनिधि हो । जिल्लामा सुरक्षा निकायलाई परिचालन गर्ने जिम्मेवारी पनि तपाईंहरूको काँधमा छ । सुरक्षा समिति र कतिपय अवस्थामा सर्वदलीय राजनीतिक बैठक बसालेर भए पनि प्रभावकारी काम गर्नुभएको छ । अब त्योभन्दा अझ राम्रो काम हुने विश्वास मन्त्रालयको छ ।’

कोभिड–१९ को महामारीका वेलामा आफैँ संक्रमित भएर पनि राम्रो काम गरेकोमा धन्यवाद भन्दै मन्त्री खाणले आगामी दिनमा त्योभन्दा राम्रो काम हुनेमा विश्वास रहेको बताए । कतिपय जिल्लामा जिल्ला प्रशासन कार्यालयमा सेवा प्रवाह सुस्त भएको गुनासो आएको भन्दै खाणले जनतालाई समयमै सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्न पनि निर्देशन दिए । जनशक्ति कम भएका कार्यालयमा जनशक्ति वृद्धि गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियो । 

विशेषगरी, पहाडी जिल्लामा सर्वारी दुर्घटना बढिरहेको भन्दै उनले दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्नतर्फ सजग रहन सबै प्रजिअहरूलाई निर्देशन दिए । अब कसरी सुरक्षित यात्रा गर्ने र गराउने भन्ने विषयमा सबै संवेदनशील हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रशासन कार्यालयबाट प्राप्त हुने सेवा सुविधा सहज बनाउन निर्देशन दिएका थिए । उनले जिल्लाको परिस्थितिअनुरूप कोभिड–१९ सम्बन्धी आदेशलाई पुनरावलोकन गर्न पनि निर्देशन दिएका थिए । 

कार्यक्रमको सहजीकरण मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गरेका थिए ।

ad
ad
ad
ad